काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्र दुई साता निकै चर्चामा रह्यो । यसरी चर्चामा रहनुको कारण भने दुई नायिका लगालग विवाह बन्धनमा बाँधिनु हो । फागुन १६ गते नायिका प्रियंका कार्कीले विवाह गरिन् । उनले अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग बिहे गरेकी हुन् । त्यस्तै, फागुन २९ गते अर्की नायिका आँचल शर्माले लगनगाँठो कसिन् । उनले चितवनका डा.उदीप श्रेष्ठसँग बिहे गरेकी हुन् । यस्तै, ‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छिन् । उनले शुक्रबार प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन् । प्रियंकाले आफ्नो बिहे आउँदो वर्षको मंसिरमा हुने जानकारी दिएकी छन् । उनीहरुले बिहेभन्दा करिब नौ महिना अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।
यसरी सुन्दरीहरू धमाधम घरबार जोड्दै गइरहेका बेला पूर्वमिस नेपाल उषा खड्गीले भने सम्बन्ध विच्छेद गरेकी छन् । उनले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुंग्याएको बताएकी छन् । उषा खड्गी र जीपी तिमल्सिनाले आधिकारिक रूपमा डिभोर्स गरेको कुरा उषाले फेसबुकमार्फत जानकारी गराएकी हुन् । उषाले आफैं नै डिभोर्स भएको र आफू विगत १७ वर्षदेखि हिंसाको सिकार भएका कारण यो निर्णय लिएको जनाएकी छन् ।
खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो । ‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाइँ’,’ उनले लेखेकी छन् । उषाले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरूको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उनीहरूको एक छोरा र एक छोरी छन् । उषा सन् २००० की मिस नेपाल हुन् ।