दुर्गा पुरी, विश्व मानव विकासको क्रमलाई हेर्ने हो भने धेरै लामो इतिहास देखिन्छ । एककोषीय जीव हुँदै एक्काइसौँ शताव्दीसम्म मानिसमा भएको विकासक्रम र मानिसले गरेको भौतिक प्रगतिलाई हेर्दा एक अद्भूत चमत्कारकै रुपमा लिन सकिन्छ ।
ब्रह्माण्डमा भएको असंख्य ग्रह नक्षत्रहरुको उत्पति, त्यसको सञ्चालन विधि र शक्तिहरुको विषयमा वैज्ञानिकहरु पनि अझै पूर्ण हुन सकेको देखिँदैन । सौर्यमण्डलको ग्रहहरुमध्येको एक ग्रह पृथ्वी हो । अन्य ग्रहहरुभन्दा पृथ्वी फरक देखिन्छ । पृथ्वीमा मानिसलगायत अनेकौँ प्राणधारी जीवहरु रहने गर्दछन् ।
पृथ्वी, जल, वायु, अग्नि र आकाशलाई दैविक शक्तिको रुपमा लिने पनि गरिन्छ । यिनै पाँच तत्त्वहरुबाट नै जीव, जगत र वनस्पतिहरुको विकास भएको हुन्छ । समग्र प्राणधारी जीव र वनस्पतिहरुको जीवन चक्र र तिनीहरुको महत्त्व एवम् अस्तित्वको विषयमा फरक–फरक धार्मिक एवम् वैज्ञानिक धारणा रहेको पाइन्छ
। रात–दिन, सर्दी–गर्मी, हिउँद–वर्षा, जन्म–मृत्यु, स्त्री–पुरुष आदि र ग्रह–नक्षत्रहरुको सञ्चालन प्रक्रिया, जीव र वनस्पतिको उत्पति, वनावट, गुण–दोष, माटो एउटै बीज अनेक र त्यसै माटोमा सूक्ष्म बीजहरुको माध्यमद्वारा फरक–फरक रुप–रङ्ग, स्वरुप, गन्धहरुको विकास प्रक्रियालाई सूक्ष्म रुपले अध्ययन गर्ने हो भने कुनै एक अदृश्य शक्तिको चमत्कारी खेल हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।
पृथ्वीमा रहेको वनस्पति र प्राणीहरुलाई प्रकृतिले एउटा नियम बनाइदिएको छ । त्यसै नियमअनुसार सम्पूर्ण प्राणी र वनस्पतिहरु चल्नुपर्ने हुन्छ । प्रकृतिको नियम उल्लंघन गरी चल्न खोजेमा प्रकृति कठोर दण्ड सजाय दिन पछिपर्ने छैन भन्ने परिदृष्यलाई हामीले महसुस गरेका छौँ ।
मानवजातिले विकासको नाममा पृथ्वीमा गरेको विनाशलाई प्रकृतिले धान्न सक्ने अवस्थामा देखिँदैन । समय–समयमा बाढी, पहिरो, खडेरी, हावाहुरी र विभिन्न व्याक्टेरिया भाइरसको प्रकोपबाट देखापर्ने रोगव्याधिको नामले प्रकृतिले सचेत गराउँदै आएको छ । तर पनि मानिस स्वीकार्ने र सच्चिने पक्षमा देखिँदैन ।
उद्योगको नाममा निस्कने धुँवा–धूलो, आवश्यकभन्दा बढी पेट्रोलियम पदार्थको प्रयोग, खनिज पदार्थको उत्खनन, विकास र सहरीकरणको नामले हुने बोट–बिरुवा र वनस्पतिको विनाशले गर्दा बिस्तारै सबै जीवहरुलाई संकटमा धकेल्ने काम गर्दैछ । यसै गतिमा प्रकृतिको विनाश हुँदै जाने हो भने पृथ्वीमा कठोर प्रजातिका शत्रुजीवहरुको मात्रै विकास हुने र मानवहित जीवहरु विनाश हुन गई सम्पूर्ण मानव संकटमा पर्न सक्ने अनुमान गर्न सकिन्छ ।
विश्वभर अहिले कोरोना (कोभिड–१९) नामक भाइरस संक्रमण तथा सन्त्रासले सताएको छ । विश्वभर नै यो एउटा डरलाग्दो महामारीको रुपमा फैलने क्रममा छ । कोरोनाको औषधि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
शक्ति, सम्पत्ति र कसैको अधिनमा नरहेको कोरोना भाइरसले कहाँ कति र कसरी आफ्नो क्षेत्र विस्तार गरेर कस्तो स्वरुप देखाउने हो भन्ने कुरा कसैले अनुमान नै गर्न नसकिने विषय हुन पुगेको छ । १९औँ शताव्दीमा “स्पेनिस फ्लु” को कारण विश्वका दुई करोडभन्दा बढी मान्छेहरुले ज्यान गुमाएका थिए । उक्त घटनाको स्मरणसँगै कोरोनाबाट पनि विश्वभरका मानिसहरु निकै नै आतंकित हुन पुगेका छन् ।
चीनको बुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणले हालसम्म करिब पाँच हजार पाँच सयको मृत्यु भइसकेको र एक लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ । विश्वको १४५ भन्दा बढी मुलुकमा यसको संक्रमण फैलिएको छ । चीनपछि दक्षिण कोरियामा यसको प्रभाव बढी देखिएको छ । कोरोना भाइरस संक्रमण तीव्र भएपछि इटालीमा १ करोड ६० लाख नागरिकलाई सरकारले क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । क्वारेन्टाइनमा नबसी भागेमा तीन महिना जेल सजाय हुने चेतावनीसमेत गरेको छ ।
कोरोना एक किसिमको भाइरस जीवाणु हो । कोरोना भाइरसले आफ्नो संख्या आफैँले वृद्धि गर्न सक्दैन । यो भाइरस मानिसको शरीरमा प्रवेश गर्छ र श्वासनलीको माध्यम हुँदै फोक्सोमा पुग्दछ । कोरोना भाइरस जीवाणु फोक्सोमा पुगेर अन्य जेनेटिक्सको सहयोगद्वारा धेरै भाइरसहरु पैदा गर्ने गर्छ र भाइरस रहेको कोषलाई नष्ट गरिदिन्छ ।
जति धेरै भाइरस भयो त्यति धेरै फोक्सोको कोषहरुलाई नष्ट गरिदिने गर्छ । फोक्सोको मरेको कोषमा तरल पदार्थ जम्मा हुने र सुन्निन जान्छ । जसको कारण फोक्सोको रगत नलीलाई असरगरी अक्सिजन सिँचाइ गर्ने काम बन्द हुन्छ र फोक्सो आफैँ अशक्त भई मान्छेमा बढी ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, बिरामी हुने र मृत्युसमेत हुन सक्छ । यो रोग व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा एक व्यक्तिबाट अर्को व्यक्तिको शरीरमा जीवाणु प्रवेश गरेर सर्न सक्ने रोग हो ।
कोरोना भाइरसको संक्रमणबाट सामान्य ध्यान पु¥याउन सकेमा हामी यसको जीवाणुबाट सुरक्षित हुन सक्ने छौँ । जस्तै : खाना खानुअघि कम्तीमा २० सेकेण्ड हात र नङभित्र सफा हुने गरी राम्रोसँग साबुनपानीले हात धुने । सकेसम्म हातलाई नाक, आँखा र मुखमा नलैजाने । सफा र ताजा खानेकुराको सेवन गर्ने ।
तातोपानीको सेवन गर्ने । हाच्छिउँ गर्दा र खोक्दा रुमालको प्रयोग गर्ने । सभा, सम्मेलन र भीडभाडमा नजाने र साथीसँग भेट गर्दा हात नमिलाउने । मास्कको प्रयोग गर्ने । व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिने । चिसोबाट बच्ने ।
कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ । यसको प्रभावबाट हामी पनि अछूतो रहन सक्छौँजस्तो लाग्दैन । नेपालको समग्र अर्थतन्त्र रेमिट्यान्सले टिकेको छ । विश्वमा कोरोनाको प्रभावको कारण नेपालको रेमिट्यान्सलाई ठूलै धक्का पार्न सक्ने अनुमान गर्न सकिन्छ । रेमिट्यान्सले धेरै मान्छेलाई सौखिन र अल्छी बनाइदिएको छ ।
नेपालका धेरै भू–भागहरु बञ्जरमा परिणत हुन पुगेको छ । मान्छेहरु खेती गर्न छाडेका छन् । पशु पाल्न छाडेका छन् । विश्वबजारमा पाइने खाद्य पदार्थहरु सजिलै पाइने गरेकोले देशमा मकै, कोदो, फापर, भटमास, गेडागुडी र अन्य धेरै दैनिक उपभोग्य खाद्य वस्तुहरुसमेत विदेशबाट आउने गरेको छ ।
कोरोनाको कारण अब यी सबै वस्तुहरुको आयात रोकिने अवस्थामा छ । धेरै नेपालीहरुको दैनिकी सजिलै चल्ने अवस्थामा देखिँदैन । लामो समयदेखि कुटो, कोदालो र बीउमल नदेखेर झाडी जंगलमा परिणत हुने अवस्थाका पुख्र्यौली सम्पत्ति, खेतबारी, गराकान्लाहरु खोज्नुपर्ने र पुरानै पेसा, व्यवसायमा फर्कनुपर्ने अवस्था देखिन्छ । पुरानै पेसामा पुनरावृत्ति हुनुपर्ने अवस्था आएमा थोरै भए पनि राज्यले राहत महसुस गर्नेछ । बढ्दो व्यापार घाटामा पनि राहत महसुस हुनेछ । हामी परनिर्भर हुनबाट थोरै भए पनि बच्न सक्नेछौँ । चितवन पोष्टका साथमा ।