भक्तपुर । प्रधानमन्त्री केपी ओलीका सरकारका निर्वतमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाका छिमेकी अझै त्रासमा रहेको खबर छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिन बाध्य भएका गोकुलप्रसाद बाँस्कोटाका छिमेकीहरु अहिले पनि निकै त्रासमा परेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाबाट संघीय संसदमा निर्वाचित भएका बाँस्कोटा पछिल्लो समय भक्तपुर जिल्लाका मध्यपुर थिमी नगरपालिका वडा नं.१ स्थित लोकन्थलीमा बस्दै आएका बाँस्कोटाको कारण उनका छिमेकीहरु फेरि के हुने हो भन्दै त्रसित मुद्रामा रहेका छन् ।
मन्त्री भए लगत्तै प्रधानमन्त्री केपी ओलीको बालकोट ‘दरबार’ मा रहँदै, बस्दै आएका बास्कोटाको घरमा केहि दिन अघि भएको बम बिष्फोटले अझै खैलाबैला मच्चाएको छ । मन्त्री भएकै समयमा आफ्नो व्यक्तिगत निवास पनि तला थप्दै गरेका उनको निवासलाई लक्षित गरी गत बुधबार बम विस्फोट हुँदा छिमेकीको घरमा समेत क्षती भएको हो ।
मन्त्री बनेदेखि नै आफ्नो घर सानो भयो भन्दै ओलीको ‘दरबार’ मा बस्दै आएका बाँस्कोटाको बन्दै गरेको घरलाई लक्षित गरी गत बुधबार भएको विष्फोटका कारण छिमेकीहरुले असुरक्षित महसुस गर्न थालेको हो। विष्फोट हुँदा दक्षिण पूर्वपट्टीको द्वारमा क्षति पुगेको छ भने थपिएका दुई तल्लामा शीशा नभएकाले खासै क्षति नभएको बताइएको छ ।
सोही विष्फोटका कारण छिमेकका तीन घरमा भने उनको भन्दा बढी क्षति भएको छ । बिहान ८ बजेतिर भएको विष्फोटबाट तीन घरमा क्षति पुग्नुका साथै एउटा कारमा समेत क्षति पुगेको भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
छिमेकीका रुपमा रहेका कपीलदेव घिमिरेको चार तलाको घरका भर्याङका शीशा फुटेका तथा सोही घरमा डेरा लिएर बस्दै आएका सुरेन्द्र खड्कीको एउटा बा १९ च ४७८१ नम्बरको मारुती भ्यानमा क्षति पुगेको छ । कारका झ्यालका शीशा फुटेका खड्गीले जानकारी दिएका छन् । यसैगरी अर्का छिमेकी कुवेर के.सी. को घरमा शीशा फुटेका छन् ।
यस्तै नाम नखुलेका अर्का छिमेकी जो अमेरिकामा बस्दै आएका छन्, उनको घरमा पनि विष्फोटले क्षति पुगेको बताइएको छ । सोही क्षतिलाई आधार बनाएर बास्कोटाले सरकारबाट भएको भन्दा ठूलो मात्रामा क्षतिपूर्ती भराउने संभावना रहेको बताउँदै एक छिमेकीले नाम नछाप्ने सर्तमा भने,‘ हाम्रो क्षतिको पूर्ती कसले दिन्छ ? बाँस्कोटाजीले त कुनै न कुनै हिसाबले क्षतिपूर्ती लिनुहोला, हामी त ट्वाँ पर्ने न हो ।’
क्षतिको विवरण लिंदै गरेको प्रहरीले सो घटना कसले र किन गरायो भनी सुक्ष्म रुपमा अध्ययन गर्दै रहेको बताएको छ । कतिपयले उक्त घटनामा विप्लव नेतृत्वको नेकपा ९माओवादी० को हात रहेको भनी त्यहाँ भेटिएको पर्चालाई आधार बनाइएको छ । गत वर्ष फागुन २८ गते नै सरकारले उक्त दललाई प्रतिबन्ध लगाएको थियो ।
त्यसैगरी बास्कोटाको अडियो काण्ड बाहिर आएपछि उक्त दलले त्यस विषयलाई चासोमा राखेको अनुमान गरिँदै आएको थियो । मन्त्रीबाट बास्कोटाले राजीनामा दिएपछि पनि शान्ति सुरक्षाको हिसाबले उनको निर्माणाधीन घरलाई लक्षित गरी कुनै पनि किसिमको अप्रीय घटना हुनसक्ने अनुमान गरी प्रहरी प्रशासनले सो क्षेत्रमा सुरक्षा बढाएको समाचार स्रोतले दाबी गरेको छ । त्यसरी सुरक्षा बढाएको अवस्थामा विहान पौने आठ बजे भएको घटनाका कारण प्रहरी प्रशासन नै चकित परेको छ ।
सो घटनामा संलग्न भएको भनी प्रहरी विप्लव नेकपाका कार्यकर्ता देव गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्यहाँ भेटिएको नेकपाको पर्चामा बास्कोटाप्रति १० वटा आरोप लगाइएको छ । यसमा बास्कोटामाथि कारबाही किन रु भनी पर्चामा १० वटा बुँदा लेखिएको थियो ।
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पु¥याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।