काठमाडौं, ४ चैत । नेपाली बजारमा दिनहुँजसो बढिरहेको सुनको भाउ आज (मंगलबार) भने ह्वातै घटेको छ ।
नेपाली बजारमा सुनको भाउ उकालो लागेर फेरि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज (मंगलबार) एकै दिन सुनको भाउ दुई हजारले घटेको छ । आज सुन प्रतितोला ७५ हजार पाँच सय कायम भएको छ । चाँदीमा पनि एकै दिन ८० रूपैयाँ घटेको छ ।
आइतबारका तुलनामा पाँच सय बढेर सोमबार प्रतितोला ७७ हजार पाँच सय भएको थियो । अन्तर्राष्ट्रिय बजारमै गिरावट आएको असर नेपाली बजारको कारोबार मूल्यमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गत शुक्रबारका तुलनामा एक हजार पाँच सय घटेर आइतबार कारोबार मूल्य ७७ हजार प्रतितोलामा आइपुगेको थियो । गत साताको पहिलो दिन ८२ हजार पाँच सय प्रतितोला पुगेको भए पनि क्रमिक रूपमा घट्दै शुक्रबार ७८ हजार पाँच सय रूपैयाँमा आइपुगेको थियो । बिहीबार ८१ हजार पाँच सय प्रतितोला कायम भएको कारोबार मूल्य शुक्रबार एकैदिन तीन हजार रूपैयाँ घटेको थियो ।
यस्तै आइतबार र सोमबार प्रतितोला ७९० रूपैयाँमा स्थिर चाँदी पनि मंगलबार घटेर प्रतितोला ७१० रूपैयाँमा झरेको छ । अघिल्लो दिनका तुलनामा ४० रूपैयाँ घटेर गत शुक्रबार प्रतितोला ८२० भएको चाँदी गत साताको पहिलो दिन ८९० रूपैयाँसम्म पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार १५४७.१३ डलर रहेको सुनको कारोबार खस्किएर मंगलबार प्रतिऔंस १५०२.३० डलरमा झरेको छ । आइतबार प्रतिऔंस १५२९.२९ डलरमा कारोबार भएको थियो ।