काठमाडौं, ४ चैत । खाना पकाउने ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल एण्ड किराना पसलले ग्यास लुकाएर राखेको भेटिएपछि जरिवाना गरिएको हो ।
नमस्ते र श्रीराम कम्पनीका २४ वटा ग्यास सिलिन्डर भएपनि उक्त पसलले लुकाएर उपभोक्तालाई ग्यास नरहेको भन्दै फर्काउने गरेका कारण कारबाही गरिएको विभागका सहप्रवक्ता दीपकराज पोखरेलले जानकारी दिए ।
विभागले यसअघि कृत्रिम अभाव सिर्जना गरी मास्क र सेनिटाइजरको मूल्य बढाउने ११ वटा औषधि पसललाई पनि २-२ लाख रुपैयाँ जरिवाना गरेको थियो ।