• विश्‍वभर आज : डब्लुएचओका कर्मचारलाई नै कोरोना संक्रमण, फिलिपिन्समा सिंगो टापु क्वारेन्टाइनमा

    कोभिड–१९ लाई ट्रम्पले जब ‘चाइनीज भाइरस’ भनिदिए

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै एक ट्वीट गरे । कोरोना भाइरसको महामारीबाट प्रभावित एयरलाइन्स उद्योग लगायत व्यवसायलाई अमेरिकाले सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

    ट्वीटमा प्रतिवद्धता मात्रै थिएन । ‘कोभिड–१९’ नाम दिइएको कोरोना भाइरसलाई ट्रम्पले ‘चाइनीज भाइरस’को संज्ञा दिए । जब कि, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड–१९ भनेर नाम दिइसकेको थियो ।

    ट्रम्पले यसलाई चीनले नै सिर्जना गरिदिएको भाइरसको रुपमा चित्रित गरिदिँदा आलोचित बनेका छन् । सामाजिक सञ्जालमा ट्रम्पको कडा आलोचना हुन थालेको छ । खासमा कोरोना भाइरस चीनको वुहान सहरमा पहिलो पटक भेटिएको थियो । जुन तथ्यमाथि पनि पछिल्लो समय प्रश्न उठ्न थालेको छ ।

    अमेरिकी सेनाबाट उक्त भाइरस फैलिएको केही दावी हुन थालेका छन् । यस्तो सन्दर्भमा ट्रम्पले गैरजिम्मेवार रुपमा ‘चाइनीज भाइरस’ भनिदिँदा धेरैले आपत्ति जनाएका हुन् । त्यसो त, यसअघि नै चिनियाँ लेखक तथा मिडियाले ‘चिनियाँ भाइरस’ भनिएकोमा आपत्ति जनाउँदैआएका छन् ।

    रोगलाई कुनै क्षेत्र विशेषसँग जोडेर व्याख्या गर्न नहुने उनीहरुको तर्क थियो । पछिल्लो समय अमेरिकामा मात्रै कोरोना भाइरसका संक्रमित ४ हजार ६ सय भेटिएका छन् । साथै ७९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक राष्ट्रपति ट्रम्पले ‘अदृश्य दुश्मन’सँग लड्नु परेको भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरेका थिए । साथै १० जना भन्दा धेरैको जमघट नगर्न समेत उनको आग्रह थियो ।

    कोरोना महामारीको असर : चीनमा डिभोर्स बढ्न थाल्यो

    बेइजिङ : कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले गम्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

    चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ ।

    छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो । उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् ।

    कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो । सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभोर्स दर बढेको छ । रिपोर्ट अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेको छ । जसले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो ।

    ५ करोडको बसोबास भएको सिंगो आइल्याण्ड नै क्वारेन्टाइनमा

    मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोना भाइरसबाट जोगिनका लागि एउटा सिंगो आइल्याण्ड लुजोनलाई नै ‘क्वारेन्टाइन’मा राखेका छन् । उनले उक्त समुदायलाई अप्रिल १२ सम्मका लागि क्वारेन्टाइनमा राख्न आदेश दिएका हुन् ।

    सोमबार दुतेर्तेले यसबारे सार्वजनिक रुपमा अन्तर्वार्ता समेत दिएका थिए । यस क्रममा सार्वजनिक रुपमा प्रदर्शन गर्न, जमघट गर्न लगायत काममा प्रतिबन्ध लगाएका छन् । खाद्यान्न, औषधि लगायत दैनिक उपभोग्य सामग्री खरिद गर्न वाहेक अनावस्यक काममा बाहिर ननिस्कन पनि दुतेर्तेले जनतालाई आदेश दिएका छन् ।

    यस आइल्याण्डमा अधिकांश पसल र सार्वजनिक स्थल बन्द भए पनि औषधि पसल खुला गर्न मिल्ने बताइएको छ । स्वास्थ्य विभागका अनुसार फिलिपिन्समा १ सय ४२ जनामा संक्रमण भएको पुष्टि भएको छ । साथै १२ जनाको मृत्यु भइसकेको छ ।

    राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोले ‘होम क्वारेन्टाइन’लाई कडा रुपमा लागु गराउनुपर्ने बताएका थिए । दुतेर्ते नेतृत्वको सरकारले क्वारेन्टाइनमा राखेको आइल्याण्ड लुजोनमा ५ करोड ७० हजार मानिस बसोबास गर्छन् ।

    विश्व स्वास्थ्य संगठनका दुई कर्मचारीमा भेटियो कोरोना भाइरस

    जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अधिकारीका अनुसार दुईजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ । डब्लुएचओका कर्मचारीलाई पहिलो पटक कोरोना संक्रमण भेटिएको हो ।

    ‘स्टाफहरुले अफिस छाडेर घर बसेपछि उनीहरुमा कोभिड १९ संक्रमण भेटिएको हो,’ विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्चियन लिन्डमेइरले पत्रकारहरुलाई भनेका थिए । तर ती स्टाफहरु कोरोना भाइरसविरुद्धको काममा संलग्न थिए कि थिएनन् भन्ने खुलेको छैन ।

    विश्व स्वास्थ्य संगठनको मुख्यालयमा २ हजार ४ सय कर्मचारी छन् । तर तीमध्ये अधिकांशले कोरोना त्रासका कारण घरबाटै काम गरिरहेका छन् । स्वीट्जरल्याण्डमा पछिल्लो केही दिनमै २ हजार २ सय जनामा संक्रमण भेटिएको थियो ।

    कोरोना त्रास : ब्राजिलमा एक हजार बन्दीले जेल तोडेर भागे

    रिओ दि जेनेरिओ : कोरोना भाइरसको त्रासका कारण ब्राजिलका चारवटा जेलमा रहेका सयौं बन्दीहरुले जेल तोडेर भागेका छन् । जेलभित्र पनि कोरोना संक्रमण फैलनसक्ने तथ्यांक सार्वजनिक भएपछि यहाँका जेलमा रहेका बन्दीहरुले जेल तोडेका हुन् ।

    साओ पाउलो जेलका अधिकारी तथा स्थानीय मिडियाका अनुसार कतिजना बन्दी भागे भन्ने यकिन भइसकेको छैन । मंगागुआ, त्रेमेम्बे, पोर्तो फेलीज र मिरान्दोपोलिस गरी चारवटा जेलबाट जम्मा एक हजार जति बन्दी भागेको स्थानीय मिडियाले जनाएका छन् ।

    उनीहरु भाग्दै गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । ब्राजिलमा यसअघि पनि जेलभित्र बन्दीहरुबीच झडप तथा गोली हानाहान हुनुका साथै सामुहिक रुपमा जेल तोड्ने काम भएको थियो ।

    कोरोना भाइरसबाट पाकिस्तानमा पनि एकको मृत्यु

    इस्लामाबाद : पाकिस्तानले कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ । उनी बिरामी भएर इरानबाट फर्केका थिए । इरान तफ्तान सीमामा उनलाई १४ दिन क्‍वारेन्टाइनमा राखिएको थियो । ६४ वर्षिय ती व्यक्तिको भारत मुम्बईको अस्पतालमा मृत्यु भएको हो ।

    भारतमा कोरोना भाइरस संक्रमितपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । केरलाले पनि मंगलबारसम्म कोरोना संक्रमित १९ पुगेको पुष्टि गरेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या १ सय २५ पुगेको छ । कोरोना भाइरस संक्रमणका नयाँ घटनाहरु जम्मु कश्मीर, लडाख र केरलामा देखिएको हो । यस्तै कोरोना नियन्त्रण गर्न सरकारले बेलायत लगायत अन्य यूरोपियन मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

    विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको मंगलबारको विवरणअनुसार विश्वभर १ लाख ७३ हजार ३ सय ४४ संक्रमित भएका छन् । भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार १९ पुगेको छ । विश्व स्वास्थ्य संगठनले १ सय ४८ देशमा भाइरस संक्रमण भएको जनाएको छ ।
    (अन्नपूर्ण पोष्ट दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…