• काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको रुप पछिल्लो समयमा संघीय संसद सचिवालयमा समेत प्रकट भएको छ ।

    पाँच वर्षे दोस्रो कार्यकालका लागि २०७१ चैत ३ गते संसदको महासचिव नियुक्त मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि रिक्त सो पदमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई कार्यवाहक दिइएको छ ।

    योगीलाई कार्यवाहक दिइएपछि नेकपाभित्रको विवाद यहाँ प्रकट भएको हो । लामो समय संविधान सभाको अध्यक्ष तथा सभामुख चलाएका नेकपा नेता सुवास नेम्वाङले संसद् हेर्ने पत्रकारहरुसँग सार्वजनिक रुपमै उक्त निर्णयको विरोध गरे ।

    सो निर्णय कानुनविपरीत भएको उनको तर्क छ । संसद्को महासचिव हुन उसको उमेर कम्तीमा ४५ वर्षको हुनुपर्ने प्रावधान छ ।

    सो प्रावधान कार्यबाहक महासचिवमा पनि लागू हुने भन्दै नेम्वाङले ४५ वर्ष नै नपुगेका योगीको नियुक्ती गैरकानुनी भएको जिकिर गरेका छन् ।

    तर, नेता नेम्वाङको यो भनाइ नै पार्टीभित्र एउटा विवादका रुपमा प्रकट भएको जानकारहरु बताउँछन् ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौनकाण्ड लागेपछि रिक्त सभामुख छान्न नेकपाभित्र जुन सकस देखिएको थियो, त्यसैको छिटा अहिले कार्यबाहक महासचिव नियुक्तिमा देखिएको बताइन्छ ।

    पार्टी एकता भए पनि नेकपाभित्र पूर्वएमाले र पूर्व माओवादीका रुपमा हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आएको छैन । नवनियुक्त कावा महासचिव योगी पूर्वमाओवादीनिकट भएकाले मात्र उनको नियुक्तिमा विरोध भएको बताइन्छ ।

    महासचिव पछि मर्यादाक्रममा जो सिनियर छ उसैको कार्यवाह दिइन्छ । संसद्मा पनि वरिष्ठताको मर्यादाक्रममा भट्टराई पछि योगी, त्यसपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, त्यसपछि संसदका सचिव भरतराज गौतम पर्छन् ।

    यसर्थ, अर्को महासचिव नियुक्त नहुन्जेल योगीलाई कार्यबाहक दिनु स्वाभाविक मानिन्छ । तर, कार्यवाहक तोकिएको व्यक्तिको योग्यता पनि महासचिवसरहकै हुनुपर्ने तर्क फितलो रहेको बताइन्छ । प्रधानमन्त्री देशबाहिर जहाँ मन्त्रिपरिषद्को वरिष्ठ सदस्यलाई कार्यवाहक दिने प्रचलन छ ।

    तर, कार्यवाहक प्रधानमन्त्रीको योग्यता र प्रधानमन्त्रीको योग्यता एउटै हुँदैन । किनभने, प्रधानमन्त्री हुन दलको नेता हुनुपर्छ तर कार्यवाहक प्रधानमन्त्री दलको नेता हुँदैन । कार्यवाहक भनेको ऊभन्दा मुनिको योग्यता भएकाले नै पाउने पद हो ।

    तर, यो कुरालाई नेम्वाङजत्तिको संसद पनि र कानुनको पनि ज्ञाता व्यक्तिले विरोध गर्नुलाई नेकपाभित्रको विवादका रुपमा लिइएको छ । महरा प्रकरणपछि रिक्त सभामुखका प्रमुख आकांक्षी नेम्वाङले प्रधानमन्त्रीको जोडबलबीच पनि सो पद नपाएको रिस यहाँ प्रकट गरेको रुपमा धेरैले लिएका छन् ।

    योगी नै महासचिव हुन नियमतः अझै करिब १४ महिना बाँकी रहेको बताइन्छ । स्रोतका अनुसार पूर्वमाओवादी समूह १४–१५ महिना नै योगीलाई कार्यवाहक बनाएर त्यसपछि उनैलाई महासचिव बनाउने योजनामा छ ।

    तर, लामो समय कार्यवाहक तोक्नुभन्दा बाहिरबाटै योग्य व्यक्तिलाई महासचिव बनाउनुपर्ने आवाज पनि उठेको छ, बुधबारमा उल्लेख छ ।

    झन्डै १२ वर्ष महासचिव चलाउँदा पनि विज्ञतामा भन्दा मोजमस्तीमा रमाएका भट्टराईजस्ता नभएर सूर्यकिरण गुरुङजस्ता त्यहाँ महासचिव भएर निस्कँदा राज्यको एउटा विज्ञका रुपमा आफूलाई निखारेर निस्कने ल्याकत राख्ने मान्छे महासचिवका लागि खोजी गर्नुपर्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…