उर्लाबारी । मोरङको उर्लाबारी–७ चिउरामिल–आम्बारी–गाईघाट सडक कालोपत्रे शिलान्यास भएको छ ।
बिहीबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल ) ले सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको १ करोड ३० लाख रुपैयाँ सशर्त अनुदान उर्लाबारी–७ चिउरामिलदेखि बैशाबारीसम्म १२ सय मिटर सडक कालोपत्रे गत बर्ष सम्पन्न भएको थियो । यस आर्थिक बर्षमा बैशाबारीदेखि आम्बारीसम्म १५ सय मिटर सडक कालोपत्रेका लागि शिलान्यास गरिएको सांसद लिम्बूले जानकारी दिनुभयो । प्रदेश सरकारको रातो किताबमा परेको उक्त सडक कालोपत्रे सुरु भएपछि स्थानीयबासी हर्षित बनेका छन् । प्रदेश सरकारको २ करोड लागतमा कालोपत्रेको काम हुने जनाइएको छ । सडक कालोपत्रेको ठेक्का केएन निर्माण सेवा कम्पनी रतुवामाईले पाएको छ ।
सडक कालोपत्रेको शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद लिम्बूले ठेकेदारले तोकिएकै मितिमा गुणस्तरीय काम गर्नु पर्नेमा जोड दिनुभयो । जनताको गुनासो आउन नदिने गरी सडक कालोपत्रेको काम पूरा गर्न ठेकेदारलाई उहाँले निर्देशनसमेत दिनुभयो । विकासको काममा राजनीति गर्न नहुने बताउँदै उहाँले चन्दाचिठ्ठा माग गरेर दुख दिए त्यसविरुद्ध आफू उभिने बताउनुभयो । सडक कालोपत्रे गुणस्तरिय बनाउन स्थानीयबासीले खबरदारी गर्नु पर्नेमा जोड दिँदै जनताको आवश्यकता अनुसार काम गर्दै जाने उहाँको भनाई छ ।
त्यस्तै, ठेकेदार कम्पनीका प्रतिनिधि खेमराज निरौलाले असार १५ भित्रै सडक कालोपत्रेको काम पूरा गर्न प्रतिबद्ध रुपमा लाग्ने बताउनुभयो । सबैको साथ र सहयोग भएको खण्डमा निर्धारित मितिका सम्पन्न गरेर हस्तान्तरण गर्ने उहाँको भनाई छ ।
त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले मापदण्ड अनुसारको सडक कालोपत्रे गर्न ठेकेदार पक्ष इमान्दार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको उक्त सडक शिलान्यास कार्यक्रम भएको थियो । उर्लाबारी–७ चिउरामिल, आम्बारी, मितेरी चौक, थुक्लुङ चौक, गाईघाट हुँदै रतुमाई–१० फुलबारीसम्म सो सडक जोडिन्छ । चिउरामिलदेखि गाईघाटसम्म १०.५४० किलोमिटर सडक कालोपत्रेका लाडि डिपिआर तयार भइसकेको छ । उक्त सडक कालोपत्रेका लागि करिब ४० करोड बजेट अनुमान गरिएको छ । सडक कालोपत्रेको काम सुरु भएपछि स्थानीयबासी उत्साहित बनेको उर्लाबारी–९ का सुरेन्द्र शेर्माले बताउनुभयो । चुनाब ताका सडक कालोपत्रेको एजेण्डा उठाएका प्रदेश सांसद लिम्बूले आफ्नो मुख्य एजेण्डामा उक्त सडकलाई राखेका छन् ।