उर्लाबारी÷सत्य र निश्पक्षरूपले नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्नु नेपाल प्रहरीको कर्तव्य हो । तर, यी कर्तव्य पालना नगरेकै कारण कतिपय प्रहरी कर्मचारीहरु विवादमा पर्ने गर्छन् । यस्तै विवादमा परेका छन्–इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राई । प्रहरी निरीक्षक राईमाथि नीति र विधिसम्मत होइन, राजनीतिक ईशारामा काम गर्ने आरोप लाग्ने गरेको छ ।
प्रहरी निरीक्षक राईमाथि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुको दवाव र प्रभावमा परी काम गर्ने गरेको आरोप लागेको हो । उर्लाबारी–९ दुर्गापुरीस्थित लामा काष्ठ फर्निचर उद्योगका सञ्चालक एब्म स्थानीय त्रिकाल परिवार फाउण्डेशनका सदस्य इन्द्र लामामाथि अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दा चलाएपछि प्रहरी निरीक्षक राई झनै विवादमा तानिएका छन् । ‘खासगरी नेकपाका स्थानीय नेताहरुको प्रत्यक्ष दवावमा प्रहरी निरीक्षक राईले लामामाथि मुद्दा चलाएको हो’, फाउण्डेशनका अर्का सदस्य नारायण बस्नेतले भने । बस्नेतले आफूलाई समेत प्रहरी निरीक्षक राईले जताभावी नबोल्न धम्की दिएको आरोप लगाए ।
गत फागुन २४ गते काष्ठ उद्योगका कर्मचारी किशन शर्मा र स्थानीय दिपक गुरुङबीच झगडा भएको थियो । सो झगडामा गुरुङ घाइते भएपछि सोही घटनामा जोडेर लामालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको प्रत्यक्षदर्शी नेत्र गुरुङले बताए ।
शर्मासँगको झगडामा घाइते भएका गुरुङको झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गरिएको थियो । तर, अस्पतालमा गुरुङको स्वास्थ्य परीक्षण गराउँदा कुनै खराबी नदेखिएपछि उनलाई घर फर्काइएको फाउण्डेशनका अर्का सदस्य बस्नेतले बताए । घाइते गुरुङलाई अस्पतालले डिस्चार्ज दिएपनि उनले मागे बमोजिमको क्षतिपुर्ति नदिएपछि प्रहरीले लामाविरुद्ध मुद्दा चलाएको हो । ‘कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुको दबाबमा प्रहरी निरीक्षक राईले लामाविरुद्ध मुद्दा चलाएको हो’, बस्नेतले भने ।
काष्ठ उद्योगका कर्मचारी शर्माले गुरुङले मादक पदार्थ सेवन गरी आफूसँग सुतेको ठाउँमा आएर निहुँ खोजेपछि आफूले धकेलेको बताए । त्यस विषयमा वास्तविकता बुझ्न गुरुङको घर पुग्दा उनीसँग भेट हुन सकेन ।
उता, नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमले लामाविरुद्द मुद्दा चलाउन आफूले कुनै दवाव नदिएको दाबी गरे । ‘मुद्दा चलाउने या नचलाउने प्रहरीको कुरा हो । हाम्रो विषय होइन’, गौतमले भने ।
तर प्रहरी निरीक्षक यहि बिषयलाई लिएर उमाकान्तको घर बारम्बार धाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसैबीच उर्लाबारीमा भएको कुटपिटको एक घटनामा भने प्रहरी निरीक्षक राईले मिलापत्र गराएका छन् । ‘सार्वजनिक स्थलमा भएको कुटपिटको घटनमा चाँही मिलापत्र गराइएको छ, घरभित्र भएको घटनामा चाँही अभद्र व्यवहारको मुद्दा चलाइएको छ’, लामा पक्षधरले एक व्यक्तिले भने ।
यसअघि पनि उर्लाबारीमा भएको चोरीको घटनामा निर्दोष व्यक्तिलाई पक्राउ गरी प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए । निर्दोष व्यक्तिलाई कुटपिट गरिएको कारण बारे सोध्न प्रहरी कार्यालय पुगेका स्थानीय सञ्चारकर्मीहरुसँग प्रहरी निरीक्षक राईले अबउप्रान्त गल्ती नदोहोर्याउने बताएका थिए । तर प्रहरी निरीक्षक राईको कार्यशैली झनै विवादित हुँदै गएको छ ।
यस विषयमा प्रहरी निरीक्षक राईसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले आफूले त्यस विषयमा बुझेर जवाफ दिने बताए । ‘म यस विषयमा बुझ्ने छ’, प्रहरी उपरीक्षक अधिकारीले भने । यो समाचार आजको प्रतिदिन दैनिकमा प्रकाशित छ ।