उर्लाबारी, कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाइरहँदा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । खासगरी संक्रमण रोक्ने अचुक अस्त्र मानिएको मास्कको एकाएक अभाव भैरहेको बेला उर्लाबारीका एकजना वडाध्यक्षले सर्वसाधारणलाई मास्क वितरण गरेर प्रशंसनीय कार्य गरेका छन् । उर्लाबारी नगरपालिका ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले स्थानीय सूदर्शन टोलका बासिन्दालाई मास्क वितरण गरेका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि आफ्नो वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी मास्क प्रदान गर्न थालेको पौडेलले बताए । यस्तै, ६ नम्बर वडाले आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
बजारमा मास्कको संकट भएकाबेला वडाध्यक्षले वितरण गरेको मास्क अभियान राम्रो भएको स्थानीय धनमाया श्रेष्ठ बताइन् । भनिन् ‘त्रासका बेला वडाध्यक्षज्यूले प्रभावकारी चिज दिनुभयो खुसी लागेको छ ।’ भीडभाडलगायतका क्रममा मानिससंग प्रत्यक्ष रुपमा जोडिने भएकाले अभावकाबीच मास्क वितरण हुनु सकारात्मक थालनी भएको अर्की ललिता मगरको कथन छ ।
कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै सानो प्रयासस्वरुप आफ्नो वडामा मास्क वितरण गरेको वडाध्यक्ष पौडेलको भनाई छ ।
उर्लाबारी नगरपालिकाभित्र कोरोना त्रासकाबीच सार्वजनिकरुपमा निःशुल्क मास्क वितरण गर्ने वडाध्यक्ष पौडेल पहिला व्यक्ति हुन् ।