काठमाडौं, ८ चैत्र । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी तथा प्रशंसा व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री ओलीले उक्त कोषमा सहयोग गर्ने घोषणा गरेलगत्तै मोदीले एक ट्विट पोष्ट गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् । मोदीले प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सामूहिक रुपमा लड्नको लागि गरेको योगदान र प्रतिबद्धता सराहनीय रहेको समेत उल्लेख गरेका छन् ।
हिजो (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्कस्तरीय उक्त कोषमा दश करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । गत आइतबार साँझ राष्ट्र सार्कका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि कोष स्थापना गर्दै भारतको तर्फबाट १ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोहीअनुसार नेपालले पनि दश करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भनेका थिए,”म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्ने समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।”
उनले अघि भनेका थिए,”तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।”