०९-चैत्र-२०७६
नेपाल सरकारले १० गते देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । काठमाडौ बाट काभ्रे पनि जान पाइने छैन ।
सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाण्डौबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताए । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’
महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताए ।