केदारप्रसाद अधिकारी
काठमाडौं । कोरोनाको महामारीअघिसम्म संसारका लागि जलवायु परिवर्तनको मुद्दा सबैभन्दा ठूलो थियो । जलवायु परिवर्तनविरुद्ध जलवायु बिगारिरहेका ठूला राष्ट्रहरूले अनेक तिकडम रच्ने गरेका थिए । अहिले कोरोनाका कारण मानवीय गतिविधिमा स्वाभाविक कमी आएपछि सारा संसार योविरुद्ध जुधिरहेको छ । कोरोनाको प्रभाव आर्थिक र मानसिक रूपमा भयावह प्रमाणित हुँदै गएको पनि छ । तर कोरोनाकै कारण लामो अन्तरालपछि पृथ्वीले सन्तोषको सास फेर्ने र आफूलाई तंग्रयाउने मौका पाएको छ भन्दा अत्युक्ति नहोला ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएका अनुसार आर्थिक गतिविधिमा आएको कमी र यात्रामा लगाइएको प्रतिबन्धका कारण सन् २००९ पछि पहिलोपटक पेटोलियम पदार्थको विश्वव्यापी खपतमा ठूलो कमी आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले कोरोनाको त्रास जारी नै रह्यो भने विश्वव्यापी पेट्रोलियम पदार्थको मागमा सात लाख ३० हजार ब्यारेल प्रतिदिनका दरले कमी आउने छ । यो भनेको दैनिक साढे आठ करोड लिटरभन्दा बढी हो । अहिले पेट्रोलियम पदार्थको प्रयोगमा आएको कमीको सकारात्मक वातावरणीय प्रभाव युरोप, अमेरिका र भारतमा देखिएको छ । कोभिड १९ को महामारीपछि अपनाइएको सावधानीहरू, सवारीसाधनहरूको आवागमनमा आएको कमी, उद्योग कलकारखाना र होटल व्यवसाय ठप्प जस्ता कारणले वायुमण्डलीय प्रदूषणमा ठूलो सुधार आएको छ ।
इम्प्याक्ट अन चाइना
यो माथिको तस्बिर चीनको हो । अन्तरिक्ष अनुसन्धानसम्बन्धी अमेरिकी संस्था नासाको उपग्रहबाट प्राप्त यो तस्बिरले कोरोनाको प्रकोपपछि उत्पन्न परिस्थितिले वायु प्रदूषण गुणस्तरमा ठूलो प्रभाव परेको स्पष्ट देखिन्छ । खैरो गाढा रङ प्रदूषण हो । कोरोना प्रकोपपछिको दोस्रो तस्बिरमा खैरो गाढा रङ धेरै हदसम्म हराएर गएको देखिन्छ । कोरोना भाइरसका कारण एक महिनाभित्र चीनको वायुमण्डलमा कार्बनडाइ अक्साइड २५ प्रतिशतले घट्यो । यो भनेको दुई सय मिलियन टन कार्बनडाइ अक्साइड हो । यसैगरी, एक महिनामा चीनमा कोइलाको प्रयोगमा ३६ प्रतिशतले कमी आयो । साथै, हङकङमा एक तिहाइले प्रदूषणका मुख्य कारकहरूको प्रयोगमा कमी आएको छ ।
इम्प्याक्ट अन इटाली
इटालीमा पनि लकडाउन र मानवीय गतिविधिमा स्वाभाविक कमी आएपछि वातावरणीय प्रदूषण अत्यधिक घटेको छ । यही अवस्था युरोपका अन्य मुलुकलगायत इरानसम्म देखिएको भू–उपग्रह चित्रले स्पष्ट हुन्छ । इटालीलाई संसारकै सुन्दर देशमध्ये मानिन्छ । इटालीको औद्योगिक यो उपत्यकामा वायु प्रदूषण ठूलो समस्याका रूपमा थियो । यो त्यही क्षेत्र हो जहाँ सबैभन्दा बढी संकट निम्तिएको छ । तर कोरोनापछिको अवस्थाले गर्दा यो उपत्यकाको पनि वायुमण्डल स्वच्छ देखिन थालेको छ । इटालीसँगै फ्रान्स, स्पेन, स्विजरल्यान्ड र चेक गणतन्त्रका भू–उपग्रह तस्विरहरूले कोरोनाका सकारात्मक वातावरणीय प्रभाव पुष्टि गर्छन् ।
वातावरणविद्हरूले समेत विश्व अर्थतन्त्र नै चौपट हुने गरी अकस्मात सुधार खोजेका थिएनन् । अहिले देखिएको सुधार अस्थायी मात्र हो । जनजीवन सहज भएपछि फेरि पृथ्वीको अहिलेको तंग्रिने क्रममा रोकावट आउनेछ । अहिलेको आशलाग्दो पर्यावरणीय सुधारबाट भविष्यमा बन्ने वातावरणीय ऐन नियम कानुनहरू प्रभावशाली हुन सक्लान् त ?
वातावरणाविद् भुषण तुलाधरका अनुसार पछिल्लो समय सार्क राष्ट्रका सरकार वा राष्ट्र प्रमुखहरू को छलफल जस्ता पहलका कारण भविष्यका लागि केही आशावादी हुन सक्ने आधारहरू तयार भएका छन् । कोरोनाकै कारण सबै राष्ट्रहरू एकै ठाउँमा निश्चित उद्देश्यका लागि काम गर्ने वातावरण बनेको छ । यसले भविष्यमा जलवायु परिवर्तनविरुद्ध जुध्न पनि मद्दत गर्न सक्छ । यसैगरी, जनस्वास्थ्यमा सरोकार राख्ने वातावरणीय मुद्दाहरूमा पनि अनुसन्धान तथा नीति निर्माणमा कोरोनाको सिकाइ सहयोगी बन्न सक्छ ।
\वातावरणविद् तुलाधरका अनुसार यो सुधार चाहेर आएको भने होइन । तर यो सुधारलाई निरन्तरता दिन आवश्यक छ । प्रकृति र वातावरणले कोरोनाकै कारण लामो समयपछि आफूलाई तंग्राउने मौका पाएको हो । विश्वकै प्रदूषित मुलुकमध्येको एक भारतमा पनि २०२० मार्च २० तारिखसम्मको तथ्यांकका आधारमा पेट्रोलियम पदार्थ र ग्याँसको बिक्रीमा ११ प्रतिशतले कमी आएको छ । यो कमीको सोझो प्रभाव भनेको वातावरण सुधार हो । स्टानफोर्ड विश्वविद्यालयका वातावरणीय अर्थविद् मार्शल बर्कको अनुसन्धान अनुसार चीनमा कोरोना प्रकोपका बेलाको दुई महिनाको मात्र तथ्यांक विश्लेषण गर्दा, वातावरणिय प्रदूषणमा आएको कमीले पाँच वर्षमुनिका चार हजार बच्चा र ७० वर्ष माथिका ७३ हजार मानिसको ज्यान जोगिएको छ । कोरोनाबाट उत्पन्न आर्थिक र मानसिक प्रभावलाई एकातिर राख्ने हो भने वातावरणमा देखिएको प्रभाव उत्साहवर्धक छ ।