एजेन्सी, १० चैत । कोरोनाभाइरसले विश्वभरका जनमानसमा यति धेरै त्रास पैदा गरेको छ भन्ने कुराको उदाहरण भारतको दिल्लीमा एयर एसिया इन्डियाका पाइलटले देखाएको गतिबिधिबाट प्रष्ट हुन्छ । जहाँ एक यात्रुले हाछ्यु गर्दा पाइलट झ्यालबाट हाम्फालेर भागेका छन् ।
आज तकको समाचार अनुसार एयर एसिया इण्डियाको पुणेबाट दिल्ली आएको विमानमा शुक्रबार कोरोना संदिग्ध व्यक्ति भएको खबर फैलिएपछि उडिरहेका विमानभित्रै हाहाकार मच्चिएको थियो । यही बीचमा एक यात्रुलाई हाच्छ्युँ आएपछि सबै यात्रु त्रसित भएका थिए । खबर ककपिटसम्म पनि पुग्यो ।
खबरले आत्तिएका पाइलट इन कमाण्डले विमान ल्याण्ड गर्नासाथ विमानको इमरजेन्सी एक्जिट खोले र त्यहीँबाट हाम्फालेर भागे । सामान्यतया पाइलटले विमानको अगाडिको ढोका नै प्रयोग गर्छन् तर ती पाइलटले अगाडि नै बसेका व्यक्ति संदिग्ध भएको थाहा पाएपछि ककपिटबाटै हाम्फालेका थिए ।
ल्याण्डपछि सबै यात्रुलाई पछाडिको ढोकाबाट निकालियो । संदिग्ध व्यक्तिलाई मात्र अगाडिबाट निकालियो । सबै यात्रुको परीक्षण गर्दा सबैको नतिजा भने नेगेटिभ आएको छ । सुरक्षाको लागि विमानलाई छुट्टै राखिएको छ । घटनापछि एयर एसिया इण्डियाका प्रवक्ताले विमानलाई पूरै सफाइ गरिएको बताएका छन् ।