ताप्लेजुङ । कोरोना संक्रमित युवती सँगै कतार एयरवेजबाट ताप्लेजुङका दुई जना नेपाल आएको खुलेको छ । दुई जनालाईनै हाल क्वारेन्टाईनमा राखिएको छ । दुई जना मध्ये ताप्लेजुङ पुगेका एकजना परिवारका अन्य दुई सदस्य सहित ताप्लेजुङकै क्वारेन्टाईनमा छन् ।
उनिहरु तीनै जनालाई उद्योग बाणिज्य संघको भवनमा बनाईएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ घर भएका अर्का एक जनालाई मोरङको टाँडी स्थित क्वारेन्टाईनमा छन् । उनि ताप्लेजुङ नआई मोरङमानै रहेका थिए ।
विदेशबाट आएका दुवै जना चैत ४ गते कोरोना संक्रमण पुष्टि भएकी युवति चढेको जहाजमा आएका १५८ मध्येका हुन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा २० वार्डको क्वारेन्टाइन बनाईएको छ भने जिल्ला अस्पतालमा आईसोलेशन बनाईएको छ ।
कोरोना संक्रमणबाट ताप्लेजुङमा त्रसित भईहाल्ने अवस्था नरहे पनि सावधानीका साथ बस्नु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले बताए । जिल्लामा संक्रमणको जोखिम विरुद्ध सम्पुर्ण रुपले तयारी भईरहेको र आवस्यकता अनुसार थप व्यवस्थापन मिलाईदै लगिने उनको भनाई छ ।