काठमाडौं । ‘लकडाउन’को चौथो दिन आज शुक्रबार ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले १८ चैत्रसम्मका लागि लकडाउन गरेको छ ।
यस्तो विषम परिस्थितीमा कालाबजारियाहरुलाई पर्व अर्थात दशै तिहार आए जस्तै भएको छ ।
लकडाउन लम्बिने संकेत देखिइसकेकाले कालाबजारिया थप सल्बलाएका छन् । बजारमा समानको अभाव देखाएर उनीहरुले लुट मच्चाएको आम नागरिकको आरोप छ ।
दैनिक ज्यालादारी गरेर जिवन निर्भाह गर्नेहरु थप चिन्तामा परेकाछन् । अहिले सम्म जनतालाई राहतका लागि सरकारले कुनै घोषणा गरेको छैन ।
सरकारले राहत कोष स्थापना गरेर कर्मचारीको तलबबाट रकम कट्टा गर्ने देखि अन्य व्यक्तिबाट पनि संकलन शुरु गरिसकेको छ ।
तर, ज्यालामा काम गर्नेहरुको चुल्हो बल्न सकस पर्ने पक्कापक्की भएको छ । समयमै सरकारले ती वर्गलाई लक्षित गरी कुनै राहत प्याकेज घोषणा गर्न आवश्यक देखिएको छ ।
छिमेकी मुलुक भारतले तीन महिनासम्मका लागि ८० करोड जनतालाई चामल, दाल र खाना पकाउने ग्याँस निःशुल्क दिने घोषणा गरिसकेको छ ।
यतिबेला दैनिक उपभोग्य सामाग्री मध्ये ग्यासको अभाव देखिइसकेको छ ।
व्यापारीले दोब्बर तेब्बर मूल्य असुल्न थालेका छन् । लकडाउनले आवस्यक खाध्य सामाग्री खरिद गर्न कठिन भइरहेको छ ।
लकडाउन अगाडिको भन्दा तरकारी र फलफूलको मूल्य दोब्बर बढेको छ ।