•  

     

    युरोप। पछिल्लो समय नेपालीहरुको रोजगारीको गन्तव्यको रुपमा उदाउदै गरेको देश माल्टा पनि कोरोनाको चपेटामा छ । कोरोनाका कारण माल्टामा कार्यरत करिब तीन हजार पाँच सय नेपालीको भविष्य अन्यौलतातर्फ धकेलिएको छ ।

    टापु राष्ट्र माल्टाको मुख्य आयश्रोत भनेको पर्यटन हो । प्राय नेपालीहरु होटल, रेष्टुराँ, लज, बार, सीनेमा हल, क्यासीनो लगायत पर्यटकिय क्षेत्रमा काम गरिरहेका छन् । तर अहिले कोराना भाइरसको कारण माल्टाका यी व्यवसाय अहिले ठप्प छन् । यसरी यि सबै व्यवसाय बन्द हुन थालेपछि रोजगादाता कम्पनीहरुले अब काम दिन नसकिने बताउँदै धमाधम जागिरबाट निकालेर कामदारहरुलाई स्वदेश फर्काउँदैछन् ।

    गैह्र आवासीय नेपाली संघ माल्टाका अध्यक्ष राजु अर्याल “बाबु” का अनुसार रोजगादाता कम्पनी एसएसएमले आफ्ना ४० जना कामदारको भिषा रद्दको लागि प्रकृया थालेको र टोटल म्यानेज्मेन्ट कम्पनीले २ सय ३४ जनाको भिषा रद्द गर्न कामदारहरुलाई निवेदन दिइसकेका छन् । यसरी कम्पनीहरुले भटाभट भिषा रद्द गर्ने प्रकृया शुरु गर्न लागेपछि अन्य विभिन्न कम्पनिमा आवद्ध नेपालीहरु समेत ल अब हाम्रो के हुने होला भन्दै त्रसित अवस्थामा छन् ।

    नेपालबाट करिब ३ महिना अघि मात्र बैदेशिक रोजगारीका लागि माल्टा आइपुगेकी एपेक्स कम्पनीकी सरीता गुरुगं (नाम परिवर्तन) रुँदै भन्छिन्, “करिब १२ लाख ऋण गरेर आएको तीन महिना पनि भएको छैन, कम्पनीले भिषा जागिरबाट निकालिदियो, अब नेपाल जाउँ भने पनि कसरी जानु, न फर्कन सकिने अवस्था छ नत नयाँ कम्पनी खोजेर काम गर्ने, त्यत्रो ऋण कसरी तिर्नु । ” कामदार भिषामा आएकाहरु काम र कम्पनीमा आवद्ध नभएपछि सो भिषा अमान्य हुन्छ ।

    त्यस्तै अर्की चेली दीपा थापा (नाम परिवर्तन) भन्छिन्, “युरोपमा केहि गरुँला, राम्रो काम गर्दै परिवार बसाउँला भन्ने सोचेर १२ लाख ऋण गरेर आइयो, अहिले कम्पनीले काम नभएको बताउँदै भिषा रद्द हुने बताएपछि घर न घाटको पो भइयो । अहिले यहाँ कोठामै दिन बितिरहेको छ । बाहिर निस्किन पनि पाइँदैन, यो अवस्थामा कसरी अर्को कम्पनी खोज्नु । काम नभए भिषा पनि हँदैन, समस्यामा पो परियो । ”

    भिषा रद्द गर्ने कम्पनीहरुको तयारीलाई रोक्नको लागि आफुहरुको तर्फबाट सक्दो पहल जारी रहेको एनआरएनए अध्यक्ष अर्यालको भनाइ छ । त्यस्तै कतिपय कम्पनीहरुलाई त आफूले प्रत्यक्ष रुपमै भेटेरै कम्तिमा २ महिनासम्म भिषा रद्द नगरिदिन आग्रह गरेको उनी बताउँछन् । दुइ महिनासम्ममा त केहि न केहि उपाय निकाल्न सकिने विश्वासका साथ यो आग्रह गरिएको उनको भनाइ छ । कम्पनीहरुले सो आग्रह मान्नेमा आफू विश्वस्त रहेको र कम्पनीहरु पनि सकारात्मक देखिएको अर्यालको दावी छ ।

    केहि कम्पनीहरुले भने अहिले आफ्ना कामदारहरुसँग भिषा रद्दको सट्टा केहि शर्तनामा अघि सारेका छन् । कम्तिमा २ देखि ३ महिनासम्म समय दिने, त्यतीबेला सम्म अन्य कम्पनी खोजेर काम गर्न भनेका छन् । तर यो अवधीमा खान र बस्न दिने तर तलब भने नदिने बताएका छन् । तर केहि कम्पनीहरुले भने यो माहामारी केहि समयमा हट्ने विश्वासका साथ कामदारहरुलाई विदा मात्र दिएको छ ।

    करिब ५ लाख जनसख्या रहेको टापु राष्ट्र माल्टा दक्षिण इटालीबाट ८० किलोमिटरको जल यात्राको दुरीमा छ । सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । माल्टामा नेपाली राजदुताबास तथा नियोग छैन, बेलायतस्थित नेपाली नियोगले माल्टालाई हेर्दै आएको छ । मार्च ७ मा १२ वर्षीया इटालियन बालिकाबाट सुरु भएको कोरोना संक्रमण शनिबार दिउसोसम्म १ सय ५० जनामा पुगेको छ । अहिलेसम्म कोही पनि नेपाली संक्रमित छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…