चैत १९, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ४२ हजार नाघेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ४२ हजार १ सय ६ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या ८ लाख ५८ हजारभन्दा बढी पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।
मंगलबार अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो ।
अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको हो । त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ । अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ ।
इटालीपछि कोरोनाका कारण स्पेनको स्थिति झन् भयावह बनेको छ । स्पेनमा सोमबार मात्रै ८ सय ३७ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय सय १६ पुगेको छ । त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।
इटालीमा कोरोनाका संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ जना रहेको छ । यीमध्ये १२ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय ८ पुगेको छ जसमध्ये ७ सय ७५ जनाको मृत्यु भएको छ ।
इरानमा ४४ हजार ६ सय ५ जना संक्रमित रहेकोमा २ हजार ८ सय ९८ जनको मृत्यु भइसकेको छ । फ्रान्समा कोरोनाका संक्रमित संख्या ५२ हजार १ सय २८ छ । यीमध्ये ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । बेलायतमा २५ हजार १ सय ५० जनामा कोरोना देखिएको छ जसमध्ये १ हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ ।