२०७६ चैत १९ बुधबार | (रासस)
दुल्लु, १९ चैत : कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् ।
जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनी नगरपालिका ५५, भैरवी गाउँपालिकामा ६८, ठाटीकाँध गाउँपालिकामा १५७ भारत वा तेस्रो मुलुकबाट ती स्थानीय तहमा आएका छन् ।
निर्वाचन क्षेत्र नं १ को नारायण नगरपालिका सबैभन्दा बढी १५९ भारत वा तेस्रो मुलुकबाट भित्रिएका छन् भने क्रमशः गुराँस गाउँपालिकामा २७, डुङ्गेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिका ८४, नौमुले गाउँपालिकामा ७०, महाबुगाउँपालिका २९ गाउँ भित्रिएका छन् । गाउँ भित्रिएका एक हजार २२० मध्ये २० जना मात्र दुल्लु क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
हाल जिल्लामा ३३ आइसोलेसन कक्ष छ भने २२८ क्वारेन्टाइन श्यया निर्माण गरिएको छ । नारायण नगरपालिकाले सङ्क्रमण फैलिन नदिन दुई दिनअघि जिल्ला सदरमुकाममा क्लोरिन औषधिसमेत छर्किएको छ ।