काठमाडौं । कसैलाई के को धन्दा घर ज्वाइलाई खानेकै धन्दाभन्ने नेपाली समाजमा चलेको यो उखान टुक्का सरकारी कार्यशैलीमा मिल्न गएको त छैन (?) अहिले बन्दाबन्दी (लकडाउन) मा रहेकाहरुबीच यही चर्चा चलिरहेको छ । कतिपयले सामाजिक सञ्जाल प्रयोग गरेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालको राजिनामा समेत मागेका छन् । मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेज र बायोमेड इन्टरनेशनलका सञ्चालक विशाल पण्डितलाई मात्र पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्रील्याउन सक्ने भन्दै अन्य व्यापारीको कुरा नै नसुनेपछि घटनाले उग्ररुप लिएको छ ।
लामो समय के गर्ने, के नगर्ने अन्यौलमै रहेको सरकार कोरोना भाइरस (कोविड १९) को संक्रमण विश्वभर तिब्रगतीमा सुरु भएपछि अत्तालिएको छ । कोभिड–१९ सुरु भएको तीन महिना पुग्दा अत्यवस्यक सामान ह्याण्ड गीयर, फुट गीयर, हेड गीयर, बडी गीयरलगायत (पीपीइ) बन्दोबस्तीका सामानमा ध्यान नपुर्याएको सरकारले हतार हतार आपूm निकट व्यापारीलाई आपूर्तीको ठेक्का दिएपछि अनेकौं शंका गर्न थालिएको हो । इटाली र अमेरिकाले गरेको गल्तीबाट पाठ सिक्न नसकेको नेपाल सरकारका स्वास्थ्य मन्त्रीले माधवकुमार नेपालको ज्वाइ साझेदार रहेको एक कम्पनीमार्फत चीनबाट आज शनिबार उक्त सामान ल्याउन लागिएको छ । किट्स, एन–९५ मास्क, पर्सनल प्रोटेक्ट इक्युमेन्ट(पीपीई), सेनिटाइजर, ग्लोब जस्ता अत्यावश्यक सामग्री खरिद गरि ल्याउन लागेको हो । जसका लागि स्वास्थ्य मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । उक्त रकमबाट पीपीई, किड्स लगायतका मेडिकल सामग्री खरिद गरिदैछ ।
घरमा आगो लागेपछि कुवा खन्न लागेझै देखिएको यो घटनाले सामान आपूर्ति कर्ता विशाल पण्डितलगायत केही व्यापारीले करोडौं रकम कमाउने अबसर पाउने भएका छन् ।
कोरोना भाइरस संक्रमित नेपालमा पनि देखिएपछि सरकारले चीनबाट यी सामान खरिद गर्ने तयारी गरेको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक राखेका थिए । त्यहाँ थुप्रै सप्लायर्स उपस्थित भए पनि उनको रोजाइमा विशाल पण्डित नै परेका छन् ।
पटक–पटक विवादमा पर्दै आएका विशाल पण्डितले भविष्यमा अख्तिया दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद ऐनको झमेला व्यहोर्नु नपरोस् भनेर उनले आफ्नो संस्थाबाट उक्त सामान खरिद नगरेर चाइनीज ब्यापारीको फर्मबाट सप्लाई गरेका छन् । सबै मेडिकल सामानको आपूर्तिको ठेक्का पण्डितले नै लिएका छन् । तर बीचमा चाइनीज ब्यापारीलाई राखिएको छ, स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ५ हजार रुपैयाँ खुद्रा मूल्यामा किन्न पाइने पीपीइलाई पण्डितले १५ हजार रुपैयाँमा दर रेटमा मिलाएका छन् ।
क्वालिटीका आधारमा मूल्य निर्धारण गरिने सुविधाको भरपूर उपयोग गरिने योजना बनाइएको छ । समय छोटो भएकाले बोलपत्र गर्न नसके पनि सप्लायर्सहरुबीच कोटेसन माग्दा स्वास्थ्य मन्त्रालयलाई एक सेट पीपीई ५ हजार रुपैयाँभन्दा कम मूल्यमा दिन तयार धेरै थिए । त्यसमा पनि पर्याप्त मुनाफा थियो भनिन्छ ।
उपलब्ध व्यापारीसँग कोटेसन नै नमागी सिधै पण्डितमार्फत् खरिद गर्न लागिएको छ । मन्त्री ढकालले मन्त्रिपरिषदबाटै पण्डितलाई मेडिकल सामग्री ल्याउने ठेक्का दिने निर्णय गराई नीतिगत रुपमा करोडौं रुपैयाँ घोटाला गर्न लागेको स्रोतहरुको भनाईछ । कोरोना संक्रमण रोक्न फाष्टट्रयाकमा खरिद गर्नु पर्ने आवश्यकता दर्शाउदै मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराइएको छ ।
अपारदर्शी रुपमा ५ हजारमा स्थानिय बजारबाटै खरिद गर्न सकिने सामान १५ हजारमा खरिद गर्न लागिएको मन्त्रालय स्रोतको भनाई छ । यद्यपी मान्छेको ज्यानको तुलना रकमसँग गर्न सकिदैन । तर खरिद प्रकृयाको अनुसन्धान भने हुनैपर्छ मन्त्रालय स्रोतको भनाई छ ।