एजेन्सी
काठमाडौं, चैत २०
अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ।
न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहानसम्म २ लाख १४ हजार मानिसमा कोरोना भाइरसको पुष्टि भएको छ भने ४ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा सबैभन्दा बढी न्युयोर्क राज्यमा कोरोनाका संक्रमित छन्। त्यहाँ ८३ हजार ८ सय ८९ जनालाई कोरोना भाइरस देखिएको छ भने १ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ।
न्युयोर्कपछि सबैभन्दा धेरै न्युजर्सीमा २२ हजार २ सय ५५ जनालाई कोरोना भाइरस देखिएको छ।
पछिल्लो २४ घन्टामामात्रै अमेरिकामा २६ हजार बढी संक्रमित भेटिएका छन्। अमेरिकी अधिकारीहरूले कोरोनाका कारण अमेरिकामा २ लाख ४० हजार जना मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले १ लाख मानिसको मात्र मृत्यु भए पनि त्यो ठूलो उपलब्धि हुने बताएका छन्।
यता भारतमा पनि कोरोना संक्रमितको संख्या बुधबार ह्वात्तै बढेको छ। बिहीबारसम्म भारतमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। कोरोनाको संक्रमणबाट भारतमा ५० जनाले ज्यान गुमाएका छन्।
कोरोनाको संक्रमण रोक्न गत बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन घोषणा गरिएको छ। तर पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। अधिकारीहरूले धेरै परीक्षण भए भारतमा अझै धेरै मानिसमा कोरोनाको संक्रमण देखिने बताएका छन्।