काठमाडौं, २० चैत । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी रोक्न सरकारले एक साता लकडाउन गरेको छ । सरकारले मंगलबार बिहानबाट लागू हुने गरी एक साताका लागि अत्यावश्यक सेवामा संलग्न बाहेकलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
व्यक्तिबाट व्यक्तिमा सहजै संक्रमण हुने र प्रभावकारी उपचारको विधिसमेत पहिल्याउन नसकिएको कोरोनाको संक्रमण फैलन नदिन सरकारले चालेको पहलकदमी उपयुक्त हो । चीनबाट शुरु भएको संक्रमण अहिले एक सय ८७ देशमा पुगिसकेको छ ।
नेपालका तीन जनामा पनि यसको संक्रमण देखिएको छ । आफ्ना नागरिकलाई संक्रमणबाट सक्दो जोगाउन हरेक देशले हरसम्भव उपाय अपनाए पनि प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ ।
विश्व हल्लाउने महाशक्ति राष्ट्रहरुसमेत कोरोना भाइरसको आक्रमणसामु निरीह देखिएका छन् । उनीहरूसमेत लकडाउनमा गइसकेको अवस्थामा नेपाल लकडाउनको चरणमा प्रवेश गर्नु स्वभाविकै हो ।
विश्व स्वास्थ्य संगठनले तयार गरेको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमितको संख्या तीन लाख बढि पुगेको छ । संक्रमणबाट करिब १४ हजारले ज्यान गुमाएका छन् ।
अन्य अनुसन्धानमूलक संस्थाहरूको तथ्यांक हेर्ने हो भने संक्रमित हुने र मृत्यु हुनेको संख्या अझ बढी छ । के विकसित देश, के अल्पविकसित देश सबैतिर कोरोनाले रामराज्य जमाएको छ ।
चीनले संक्रमणलाई नियन्त्रणको दायरामा ल्याए पनि इटली, स्पेन, इरान जर्मनी, अमेरिका फ्रान्स, कोरिया, स्विजरल्यान्ड, बेलायतलगायतका देशलाई नै आच्छुआच्छु पारिरहेको छ । संक्रमणपछिको उपचार प्रक्रिया जटिल रहेकाले अहिले सबै देशको पहिलो प्राथमिकता आफ्ना नागरिकलाई एक्ला–एक्लै राख्ने प्रयास नै हो ।
प्रारम्भमै एक कोरोना संक्रमति फेला पारी सफल उपचार गरिसकेको र चीनको वुहानमा संक्रमण फैलिए लगत्तै नाकामा कडाई, अन्तराष्ट्रिय हवाई उड्यनमा रोक लगाएर केही समय सम्पर्क्विच्छेद गरी लकडाउनको अवस्था आउनबाट जोगिन सक्ने अवस्था भने थियो । अहिले चीनबाट सिकेर सबै मुलुकले त्यसै गर्ने सिको गरिरहेका छन् । तर, उनीहरुको त्यो प्रयास चीनको जस्तो प्रभावकारी बन्न सकिरहेको छैन् ।
तर, अन्य केही विकसित देशझैं हाम्रो सरकारले पनि यसलाई चीनमा देखिएको समस्या चीनमै सकिन्छ झैं गरी आवश्यक सर्तकता अपनाउनुको साटो कोरोना संक्रमणमुक्त देश, जहाँ कहिल्यै यो आउँदैन झैं गरी अन्तराष्ट्रिय हवाई उड्डयनलाई प्रोत्साहित गर्दै पर्यटकलाई नेपालमा निम्तो दिने मुर्खतापूर्ण काम गर्नतरि लाग्यौं ।
जोखिम कम गर्न केही समय विद्यालय बन्द गराउनै महाभारत भएकै हो । करिब ४ लाख विद्यार्थी भेला हुने एसइईको परीक्षा रद्द गर्न नागरिकले गरेको मागको सुनुवाई तत्काल नभएकै हो। भारतसँगको नाका समयमै बन्द गर्न सकेनौं । यी र यस्तै कमजोरीले हामी लकडाउनको चरणमा प्रवेश गर्न बाध्य भएका हौं ।
बलियो संयन्त्र भएका देशले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिरहेका छैनन् । एक मात्र राष्ट्रिय प्रयोगशाला रहेको, कमजोर स्वास्थ्य संयन्त्र अनी परिक्षणका सीमित साधन भएको हाम्रो देशका लागि कोरोनाको संक्रमण फैलन नदिन लकडाउनको दोस्रो विकल्प थिएन र छैन ।
सोमबार बेलुकातिर एकाएक लकडाउनको निर्णय आउँदा केही असहज अवस्था देखिएको छ नै । तर यो असहजता कोरोनाको संक्रमण फैलिएको अवस्था भन्दा सामान्य नै हो । अभियान टाइम्सका साथमा ।