चैत २१, उर्लावारी ।
मोरङको उर्लावारी नगरपालिका वडा नम्वर ३ ले कोरोना संक्रमण फैलन रोकथाम गर्ने नयाँ उपाया अपनाएको छ ।
चैत २० गते विहिवार वसकेको वडा कार्यसमितिको बैठकले वडा नम्वर ३ को मंगलबारेमा वडाको अनुमति बिना प्रवेश गर्ने नवआगन्तुकलाई २ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
वडाको अनुमति बिना बाहिरको मानिस आए २ हजार जरिवाना र अन्यत्रबाट मानिस वा पाहुना ल्याएर घरमा राखे ५ हजार जरिवाना गर्ने निर्णय भएको वडा अध्यक्ष गञ्जबहादुर कार्कीले बताए । लकडाउन अवधिभरका लागि यो नियम लागू गरिएको उनले जानकारी दिए ।
यस्तै वडावासीहरुलाई चैत १ गतदेखि घरमा कोही पाहुना आएको भए तुरुन्त वडा कार्यालयमा खबर गरेर जानकारी गराउन आग्रह गरिएको वडा सदस्य भिष्म बुढाथोकीले बताए ।
उर्लावारी वडा नम्बर ३ पश्चिममा पथरी शनिश्चरे नगपालिकाको सिमाना सन्जोरा खोला र पूर्वमा सोल्टी खोला सम्म फैलिएको छ ।