बहराइन । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो ।
२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ । ३ सय ८१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ । यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।