२०७६ चैत २२ शनिबार
भाइबहिनीहरू तपाईंहरूले टेलिभिजन, चलचित्र वा अन्य स्थानमा के मानिसजस्तै देखिने चलायमान आकृति वा अन्य यन्त्रजन्य वस्तु देख्नुभएको छ ? यस किसिमको यन्त्रले आजका दिनमा मानव समुदायलाई धेरै तरिकाबाट सहयोग पनि गरिरहेको छ ।
यस्ता यन्त्रहरूलाई हामीले रोबोट भन्दछौँ । भाइबहिनीहरू अब रोबोटका बारेमा चर्चा गरौँ । अक्सफोर्ड लर्नर्स डिक्सनरीका अनुसार रोबोट भन्नाले कुनै पनि यस्तो यन्त्र जसले विभिन्न किसिमका कठिन कार्यहरू समेत शृङ्खलाबद्ध तरिकाबाट सम्पादन गरी मानवलाई सघाउने काम गर्दछ । त्यसैले आवश्यकता अनुसार रोबोटको आकार तथा प्रकार फरक–फरक हुने गर्छ । रोबोट शब्दको सबैभन्दा पहिला प्रयोग गर्ने व्यक्ति चेक गणतन्त्रका लेखक कार्ल कापेक हुन् ।
रोबोटको विकास इतिहास
ग्रिक दार्शनिक एरिस्टोटलले ३२० बि. सि. मा कल्पना गर्दै भनेका थिए,
‘‘यदि प्रत्येक सामग्रीलाई निर्देशन दिँदा उसैलाई फाइदा पुग्ने कार्य गर्न सक्ने भए कुनै पनि विषयमा दक्ष व्यक्तिको पछि सिकारुको आवश्यकता नै पर्दैनथ्यो ।’’ सन् १९३२ मा जापानमा एक खेलौनाका रूपमा प्रथमपटक रोबोट बनाइएको थियो । यसमा टिनको पाताको प्रयोग गरिएको थियो र यो १५ सेमी अग्लो थियो । यो रोबोट दुई खुट्टाले हिँड्न सक्थ्यो ।
सन् १९५४ मा जर्ज डेभोल र जो इंगलेबर्जरले सर्वप्रथम ‘प्रोगरमेबल रोबोट आर्म (पाखुरा)’ बनाए । यसलाई पछि संसारकै पहिलो औद्योगिक रोबोटका रूपमा चिनियो । यो रोबोट सन् १९६२ मा जनरल मोटर्स कम्पनीमा खतराजनक र अति कठिन कार्य सम्पादन गर्ने कार्यको लागि प्रयोग गरियो ।
सन् १९६९ मा संयुक्त राज्य अमेरिकाले अत्याधुनिक कम्प्युटरयुक्त प्रविधि विकास गरी नील आर्मस्ट्रङलाई चन्द्रमाको सतहसम्म पु¥याउन सफल भयो । सन् १९९४ मा कार्नेगी विश्वविद्यालयले आठवटा खुट्टा भएको दाँते २ नामक रोबोट निर्माण गरी माउन्ट स्परमा ज्वालामुखीको ग्यास नमुना सङ्कलनका लागि सफल प्रयोग ग¥यो । सन् १९९७ मा जापानमा सर्वप्रथम ‘रोबोकप’को आयोजना गरियो । यसको मूल उद्देश्य सन् २०५० सम्ममा विश्वकै सर्वश्रेस्ठ फुटबल टोलीलाई खेलेर हराउनु रहेको छ । सन् १९९९ मा सोनी कम्पनीले एआईबीओको प्रथम संस्करणका रूपमा एक रोबोटिक कुकुरको प्रयोग ग¥यो । सन् २००५ मा कोर्नेल विश्वविद्यालयका शोधकर्ताहरूले चुम्बकको समेत प्रयोग गरी विश्वकै पहिलो आफ्नै प्रतिलिपि बनाउनसक्ने रोबोट निर्माण गरे । यस रोबोटमा आफ्नो मालिकसँग केही कुराकानी गर्ने तथा नयाँ ज्ञान सिक्ने क्षमता थियो । सन् २००८ मा ‘रोम्बा रोबोटिक भ्याकुम क्लिनर’ २५ लाख प्रति बिक्री भयो ।
सन् २०१० मा नासा र जनरल मोटर्सले रोबाउट नामको ह्युमनोइड रोबोट बनाए । यसलाई सन् २०११ को डिस्कभरी सटल प्रक्षेपण कार्यक्रममा समेत प्रयोग गरियो ।
सन् २०१० मा ह्युमनोइड रोबोटको इतिहासमा ‘ह्यान्सन रोबोटिक्स’ ले ‘सोफिया’ नामको सामाजिक रोबोटको निर्माण गरी रोबोट
जगत्मा एक तरङ्ग ल्याइदियो । यो रोबोटमा कृत्रिम बुद्धिमत्ता रहेको छ । यसलाई महिलाको आकृतिमा सार्वजनिक गरिएको थियो । यसले एक सय ६० वटा मानव भावना सहज रूपमा प्रकट गर्दै दोहोरो कुराकानी गर्न सक्ने क्षमता राख्दछ । यस्तै, सन् २०२० मा होन्डा कम्पनीले एक शक्तिशाली ह्युमनोइड रोबोट बनायो ।
वर्तमान अवस्थामा रोबोट
रोबोट भन्दैमा मानिसको आकारकै मानव यन्त्र हुनुपर्छ भन्ने हुँदैन । तसर्थ, आजको दिनमा विभिन्न इलेक्ट्रोनिक सामग्री तथा कम्प्युटर भाषा प्रयोग गरी विभिन्न किसिमका रोबोट निर्माण
भएका छन्, समग्रमा यी रोबोटहरूलाई निम्न वर्गमा राख्न सकिन्छ ।
इलेक्ट्रोमेकानिकल रोबोट–
यो रोबोट यान्त्रिक कार्यका लागि प्रयोग गरिन्छ । विशेष गरी निर्माणमा प्रयोग गरिन्छ ।
शैक्षिक रोबोट–
यो रोबोट शैक्षिक कार्यका लागि प्रयोग गरिन्छ । प्रविधिमा रुचि भएका र विषयगत सामग्री अध्यापनका लागि यो रोबोट प्रयोग गरिन्छ ।
मनोरञ्जनात्मक रोबोट–
मनोरञ्जनको साधनका रूपमा यो रोबोट प्रयोग गरिन्छ । यसमा पनि भावनात्मक संवेगसहित मनोरञ्जन दिने क्षमता हुन्छ ।
ह्युमनोइड रोबोट–
यो रोबोटहरूमध्ये आम मानिसमा सबैभन्दा लोकप्रिय रोबोटको सूचीमा पर्छ । यसको मानिसकै जस्तो शरीरको आकृति हुन्छ । बनोट र कोडिङ अनुसार यसको फरक–फरक क्षमता रहन्छ । आजको दिनमा विश्वकै लोकप्रिय ह्युमनोइड रोबोट ‘ह्यान्सन रोबोटिक्स’ले निर्माण गरेको रोबोट ‘सोफिया’ रहेको छ ।
औद्योगिक रोबोट–
विभिन्न उद्योगहरूमा फरक–फरक कार्यका लागि प्रयोग गरिने रोबोट नै औद्योगिक रोबोट हो । यसलाई पनि फरक आकार तथा कार्यहरूमा देख्न सकिन्छ । यस्ता रोबोट धेरैजसो मेकानिकल रोबोट हुन् ।
मेडिकल रोबोट–
अस्पतालहरूमा उपचारका लागि पेसागत रूपमा प्रयोग गरिने रोबोटलाई मेडिकल रोबोट भनिन्छ । यी रोबोटहरू सर्जिकल रोबोट या फिजियोथेरापी रोबोट आदि हुन सक्दछन् । समग्रमा, यी रोबोटले बिरामीको समस्या समाधानमा सामान्यदेखि गहन भूमिका खेल्दछन् ।
मिलिटरी र सुरक्षा रोबोट–
यो रोबोट सेना तथा प्रहरीले सुरक्षाका लागि प्रयोग गर्दछन् । यसलाई नेपालमा विशेष गरी बम निस्क्रिय पार्ने कार्यका लागि प्रयोगमा ल्याइएको देखिन्छ ।
अनुसन्धानात्मक रोबोट–
यस रोबोटलाई नयाँ कार्य तथा अनुसन्धानका लागि परिमार्जन गर्दै प्रयोग गरिने रोबोटका रूपमा लिन सकिन्छ ।
टेलिप्रिजेन्स रोबोट–
इन्टरनेटबाट लग इन गरी अर्कै स्थानमा बसी फरक स्थानमा रहेको रोबोटलाई सञ्चालित गरी उक्त स्थानको सम्पूर्ण जानकारी दिलाउने रोबोट नै टेलिप्रिजेन्स रोबोट हो । यसलाई टेलिमेडिसिन कार्यमा धेरै उपयोगी मानिन्छ । यीबाहेक पनि अन्य धेरै किसिमका रोबोट पनि हामीले विश्वमा प्रयोगमा आएको देख्न सकिन्छ । आजको दिनमा कृत्रिम बुद्धिमत्तासहितका सयौँ प्रकृतिका रोबोट उत्पादन भइरहँदा भविष्यमा रोबोटिक्सले निकै ऊर्जाशील तथा अकल्पनीय फड्को मार्ने कुरामा दुईमत छैन । यसका लागि फरकभन्दा फरक प्रकृतिका सेन्सर जडित जटिल प्रकृतिका रोबोटहरू आज विद्यालयस्तरकै विद्यार्थीले पनि बनाइरहेका छन् ।
(गोरखापत्र अनलाइनबाट)