• परशु घिमिरे

    अमेरिका र इटालीमा कोरोना संक्रमितबाट मर्नेहरूको पछिल्ला दुई दिनको संख्यालाई मात्र विश्लेषण गर्ने हो भने अब संसारले शून्यबाट गतिविधि सुरु गर्नुपर्ने हो कि भन्ने डरलाग्दो अवस्था देखिन्छ । करिब चार महिनाअघि चीनको वुहानबाट सुरु भएको संक्रमण अहिले संसारभर फैलिसकेको छ । अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, जर्मनी, इरानलाई अत्यासलाग्दो अवस्थामा पु¥याएको कोरोनाले चीनलाई भने शक्तिशाली प्रमाणित सावित गराएको छ । डेढ अर्ब जनसंख्या रहेको चीनमा गत मंगलबार १३ जना मात्र नयाँ संक्रमित फेला परेको बताइएको छ । मर्नेहरूको संख्या पनि इटाली र अमेरिकाको तुलनामा नगन्य नै भन्नुपर्छ । इटालीको जनसंख्याको झन्डै तेब्बर जनसंख्या अर्थात् १५ करोड चिनियाँहरू वर्षेनी संसारभर घुम्न मात्र जान्छन् । अमेरिकाको जनसंख्याको आधा चिनियाँहरू घुमेरै समय बिताउँछन् ।

     

     

    केही हप्ताको महामारीले एक लाखदेखि दुई लाख ४० हजारसम्म अमेरिकीहरू मर्न सक्ने डरलाग्दो चेतावनी ह्वाइट हाउसबाटै बाहिरिएपछि संसार अचम्मित भएको छ । अमेरिकामा रहेका पत्रकार किशोर सापकोटाका अनुसार आगामी दुई साता अमेरिकाका लागि सबैभन्दा पीडादायी र गाह्रो हुने छ । आगामी दुई हप्ता हाम्रा लागि पीडादायी र कठिन हुनेछन्, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सद्वारा आयोजित पत्रकार सम्मेलनमा गत मंगलबार भनेको सापकोटाले उनको फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

     

     

    अमेरिकामा त अहिले पनि केही राज्यबाहेक अधिकांश राज्यले लकडाउनलाई उपेक्षा गरिरहेका छन् । त्यसको मार न्युयोर्कले झेलिरहेको छ ।

     

     

    ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका वरिष्ठ विज्ञ डा. डेवोरा ब्रिक्स र एन्थोनी फौसीले अनुमान गरेअनुरूप सबै सुरक्षाका उपाय अपनाउँदा–अपनाउँदै पनि एक लाखदेखि दुई लाख ४० हजार मानिस मर्नुपर्ने अवस्था आउँदा अमेरिकी मनोविज्ञान कस्तो होला ? यो अहं प्रश्न हो । अमेरिकामा दुई लाख ४५ हजार बढी संक्रमित देखिएका छन् भने कोरोना भाइरसबाट मर्नेको संख्या ६ हजारभन्दा बढी छ । न्युयोर्कमा मात्र २५ सय बढीले ज्यान गुमाएका छन् भने न्यूजर्सीले ५३७ जना यही भाइरसका कारण गुमाएको छ ।

     

     

    चीनले संसारका अधिकांश मुलुकलाई स्वास्थ्य उपकरणको व्यापार र सहयोग गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक लाख मान्छे मर्नुलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् भने इटालीले मर्नेहरूको संख्या अनुमान पनि गर्नसकेको छैन । इटालीका अस्पतालहरूमा मान्छे राख्ने ठाउँ छैन, खुलाचौर र सडकमै मान्छेहरूको उपचार भइरहेको छ ।

     

     

    चीनको वुहान र इटालीको सिधा हवाई सम्बन्ध भएको धेरै भएको छैन, चीन इटालीको प्रमुख सहयोगी बनेको केही वर्ष मात्र भएको छ । बीआरआईमार्फत चीनले इटालीमा ठूलै आर्थिक लगानी गर्ने अभियान सुरु गरेको छ । गत वर्ष मात्र चीनबाट इटालीका प्रमुख सहर घुम्न जानेको संख्या ४० हजार नाघेको थियो । युरोपको शक्तिशाली देशमै पर्ने इटालीमा गत जनवरी ३१ मा जब दुईजना स्थानीयमा कोरोना भाइरस देखियो, तब उनीहरू झस्किन थाले । अहिले मर्नेहरूको संख्या इटालीमा करिब १४ हजार नाघिसकेको छ भने चार हजारभन्दा बढी मृत्युसँग जुधिरहेका छन् । एक लाख १५ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् । उनीहरूले तत्कालै (३१ जनवरीपछि) चीनको वुहानसँगको हवाई सम्बन्ध स्थगित गर्ने निर्णय लिए । त्यसपछि चीन इटालीको यो निर्णयबाट बेखुस मात्र भएन, स्पष्टीकरण सोध्ने हदसम्म पुग्यो ।

     

     

    इटालीका राष्ट्रपति सर्जेवो मर्टेला चीनसँगको हाम्रो सम्बन्धमा हवाई सेवा बन्दले कुनै प्रभाव नराख्ने स्पष्टीकरण दिन बाध्य भए । चीन र इटालीका युवाहरूले मिलेर संयुक्त प्रचारात्मक अभियान नै चलाए । म चाइनिज हुँ, म कोरोना भाइरसमुक्त छु भन्ने एक चिनियाँ युवाको बीच सडकमा आँखामा पट्टी बाँधेर खिचिएको भिडियोलाई संसारभर भाइरल बनाइयो ।

     

     

    १७ नोभेम्बरमा २९ वर्षका डा.ली वान, जसले भाइरसले महामारीको रूप लिने घोषणा गरेका थिए उनको मृत्युबाट कोरोना भाइरस (कोभिड–१९) भयानक घतक रोग हो भन्ने कुरा संसारभर थाहा लाग्यो । र, पनि युरोपका अधिकांश देशले कोरोना भाइरसलाई सामान्य रूपमा लिए, दूरीलाई आधार बनाएर युरोपसम्म चिनियाँ भाइरस आउँदैन भन्ने मानसिकता बनाए । जबकि हवाई यातायातले संसारलाई हत्केलामा ल्याइसकेको छ । अमेरिकामा त अहिले पनि केही राज्यबाहेक अधिकांश राज्यले लकडाउनलाई उपेक्षा गरिरहेका छन् । त्यसको मार न्युयोर्कले झेलिरहेको छ ।

     

     

    युरोपियन मुलुकहरूले देखाएको लापरबाही र अमेरिकाको इन्स्युरेन्स कम्पनी, सरकारी अधिकारीहरूको कसले अस्पतालहरूमा लाग्ने खर्च व्यहोर्ने भन्ने गलफत्तीले निम्त्याएको संकटबाट नेपालले समयमै सचेतना अपनाउन जरुरी देखिन्छ । द्रव्यमोहमा रमाइरहेका हार्डकोर कार्यकर्ताबाट घेरिएका प्रधानमन्त्रीले अब ठोस रणनीतिसहित पहल नगर्ने हो भने नेपालले पनि इटालीकै नियति बेहोर्न सक्छ ।

     

    परशु घिमिरेको विचार हामीले तरुण खबरबाट साभार गरेका हौ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…