संलग्नलाई पदमुक्त गरी छानबिन गर्न काँग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरिएको भनिएको स्वास्थ्य उपकरण खरिद प्रकरणमा भएको अनियमितताको छानबिनमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् । यो प्रकरणको निष्पक्ष अनुसन्धानमा ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेहरूलाई हतोत्साहित गर्न खोजिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको देउवाको भनाइ छ ।
कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन नेपाली कांग्रेसले पूर्णतः साथ सहयोग दिइरहेको अवगत गराउँदै देउवाले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ– ‘युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौं, तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न हामीले सचेत पनि गराउँदै आएका छौं । तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने काम यो सरकारबाट भएको छ ।’ नेपालको पत्रकारिताले सरकारले गरेको गलत कामको डटेर मुकाविला गरेको कुरालाई सकारात्मक र रचनात्मक ढंगले स्वीकार्न छाडेर प्रेसप्रति अपनाइएको रबैया आपत्तिजनक भएको देउवाको भनाइ छ ।
अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्यकोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्डविपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैनन् भन्दै वक्तव्यमा अनियमिततामा सामेलहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
‘लकडाउनको प्रतिकूल अवस्थाका बाबजुद सञ्चार माध्यमहरूले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका छन् । यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रूपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ । काठमाडौं प्रेस न्युज पोर्टलमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन्, तिनलाई कारबाहीको दायरामा ल्याउन म सम्बन्धित निकायसँग आग्रह गर्दछु’ सभापति देउवाले विज्ञप्तिमा भनेका छन् ।