अरुका आवाज सुन्ने सुनाउने पत्रकारका आवाज कस्ले सुन्ने ?
विश्वव्यापी कोरोना महामारीको यो समयमा ज्यान जाखिममै राखेर भए पनि नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिएका पत्रकार भोकै हिड्नुपर्ने अवस्था आइसक्यो,उसका परिवार भोकै बस्नुपर्ने अवस्था आइसक्यो । सबै पत्रकार आर्थिकरुपले सबल छैनन् । पत्रकारिता वौद्धिक पेशा भए पनि पत्रकार श्रमजीवी हो ।त्यो श्रमजीवी जो आफ्नो नाम दर्ज गरेर लाइनमा बसेर राहत लिदैन, पहुँच भएर पनि उस्ले यो गर्दैन । किन ? उस्को स्वाभिमानले दिदैन । तर यस्तै अवस्था रहे अब उस्को चूल्हो बल्दैन ।तथापि पत्रकार आफ्नो जिम्मेवारीमा अहोरात्र छन् ।
यो बेला छापा माध्यम बन्द छन् ,अरु भएका मिडियामा पनि आम्दानीको स्रोत विज्ञापन शून्यप्रायः छ ।सञ्चारगृह आफै संकट र बाध्यतामा छन् । त्योभन्दा ठूलो समस्या र संकटमा छन् श्रमजीवी पत्रकार । अब त्यस्ता श्रमजीवी जस्लाई समस्या परिसक्यो र जस्लाई तत्कालै पर्नेवाला छ पहिचान गरी उनीहरुको बारेमा केही सोच्ने, गर्ने कि !
हरेक स्थानीय सरकारले आफ्नो क्षेत्र भित्रका पत्रकारलाई विशेष राहत प्याकेजमा समेटन सक्छन् , प्रदेश र सङ्घीय सरकारले सामाजिक सुरक्षा लगायतका पाटोबाट सहयोग गर्न सक्छन् । सामाजिक, व्यवसायिक, पेशागत संस्थाले सहयोग गर्न सक्छन्(पत्रकार महासंघले समन्वय गर्नुपर्छ, गर्न सक्छ ।
के यस विषयमा तपाईंहरुको ध्यान गएको छ ? पत्रकार बाँचे मात्र पत्रकारिता बाँच्छ ।तीनै तहका सरकार, सञ्चारगृह,अन्य संस्था लगायतले यो आवाज सुन्न ढिला नगरौं ।
यसलाई आलोचना र मजाक नबनाइदिनुहोला ।यो बेला पत्रकारहरुको अवस्था तपाईंले सोचेभन्दा पीडादायी छ ।
पत्रकारसंगै कसैले पनि भोकै बस्नुपर्ने र अभावमा छट्पटाउनुपर्ने अवस्थाको अन्त्य होस् ।
सचेत बनौं, सजग रहौं । कोरोनाविरुद्ध संगै लडौं ।
एकराज गिरी , उपाध्यक्ष
नेपाल पत्रकार महासंघ झापा