•  

    चैत्र २३, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले विपत्तिका बेला सरकार फेर्ने तथा निर्वाचन गराउने अभिव्यक्तिहरु नदिन कांग्रेस नेताहरुमा आग्रह गरेका छन्। मुलुक कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका बेला पार्टीका कतिपय नेताहरुले दिएका अभिव्यक्तिहरु विवादित बनेपछि नेता थापाले यस्तो आग्रह गरेका हुन्।

    देश महामारीसँग जुधिरहेको वेला यस्तो असम्भव र अनावश्यक विषय मनमा आएमात्र पनि 'मनभित्रै लक' गरेर राख्न उनले सुझाव दिए। नेताहरुको अभिव्यक्तिका कारण कांग्रेस विभिन्न विवादमा फसिरहेको र सरकारको बचाउमा सत्तारुढ दलका कार्यकताले खुराक पाएको भन्दै उनले चिन्तासमेत गरे।

    आइतबार नेता थापाले ट्विटरमा लेखेका छन्, 'कहिले सहमतिको सरकार। कहिले मध्यावधि निर्वाचन। लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै 'लक' गरिदिनुहोस्। यस्ता विषय बहसमा आइदिँदा सरकारी "अजासु" हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।'

    केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस संक्रमणको विपत्तिका बेला राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताएका थिए। यस्तै शनिबार कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले काम गर्न नसके मध्यावधि चुनावमा जान सकिने अभिव्यक्ति दिएकोबारे केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

    वरिष्ठ नेता पौडेलले सहमतिको सरकार बनाइहाल्नुपर्छ भन्ने माग आफ्नो नरहेको यसअघि नै प्रष्टिकरण दिइसकेका छन्। महतले पनि आफूले नबोलेका कुरा समाचारमा आएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। कांग्रेस नेताहरुको बोलीका कारण पार्टी विवादमा तानिएकोले असम्भव र अनावश्यक विचार व्यक्त नगर्न नेता थापाले आग्रह गरेका हुन्।

    अहिले सरकारले काम गर्ने र प्रतिपक्षले सहयोग गर्ने समय भएको उनले बताउँदै आएका छन्। पार्टीका नेताहरुको अभिव्यक्तिले कांग्रेस विवादमा तानिएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समेत व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गरेका छन्। नेताहरुको व्यक्तिगत धारणालाई संस्थागत रुपमा बुझ्न नहुने उनको भनाइ रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…