चैत्र २४, सुनसरी । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने विपन्न परीवारलाई विहान बेलुकाको हातमुख जोर्न धौधौ भइरहेको अवस्थामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका सुनसरी सभापति सिजन गुरुङले आफ्नै सक्रियतामा राहत वितरण गरिरहेका छन् ।
स्थानीय तहले विविध कारणले सबै स्थानमा प्रभावकारी रुपमा राहत वितरण गर्न नसकिरहेको बेला हाल बेलायतमा रहेका गुरुङले भने स्थानीय तरुण दलका युवाहरु परिचालन नै गरेर स्थानीय स्तरका विपन्न परीवारलाई राहत वितरण गरिरहेका छन् । सोहि सिलसिलामा आज सुनसरी इटहरी ३ खोर्सानेखापका २० विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
तरुण दल सुनसरी सभापति गुरुङको सक्रियतामा इटहरी ३ खोर्सानेखापका २० परीवारको तथ्यांक संकलन गरेरै १० प्रति परीवार ८ केजी चामल, २ केजी दाल १ पोका नुन लगायत खाद्यान्न वितरण गरिएको हो ।
यसअघि बेलायतमै रहेका गुरुङले एक भिडियो मार्फत विपन्न वर्गका घरपरीवारलाई राहत वितरण गर्ने घोषणा गरेका थिए । सोहि अनुरुप यस अघि इटहरी २० का ५० घरपरीवारलाई खाद्यान्न वितरण गरेका गुरुङले लकडाउन अरु लम्बिए आवश्यक्ताका आधारमा राहत वितरणलाई अझ प्रभावकारी बनाउने बताएका छन् । ‘त्यहाँ आएर आफ्नै सक्रियतामा राहत वितरण गर्ने योजना बनाएको थिए तर, अहिले म यहाँ आफैं लकडाउनमा छु, तथापि, त्यहाँ रहेका तरुण युवा साथीहरुले गर्नुभएको कार्यको उच्च प्रशंशा गर्दछु ।’ उनले भने ।