•  

    काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले संकटका बेला सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नु पर्ने बेलामा सरकार त्यस दिशामा गम्भीर नभएको आरोप लगाएका छ ।

    कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले आफूले राष्ट्रिय सहमतिका लागि पहल गरे पनि प्रधानमन्त्री केपी ओलीले सहमतिका साथ अघि बढ्ने तत्परता नदेखाएको बताएका थिए।

    संसद् अधिवेशनसमेत प्रमुख प्रतिपक्ष दलको परामर्श समेत नलिई सरकारले एकलौटी रुपमा अन्त्य गरिएको प्रति कांग्रेसले असन्तुष्टि प्रकट गरेको थियो।

    ‘कोभिड—१९’ संक्रमणबाट मुलुक र जनतालाई बचाउन सरकार आफैले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्नुपर्दथ्यो, म आफैले पूर्व प्रधानमन्त्रीहरुसग छलफल गरेर प्रयास गरेँ, तर सरकारका तर्फबाट सहमतिको प्रयास अघि बढेको देखिएन’ देउवाको भनाइ उद्धृत गर्दै महतले भने,‘सबैको सहयोग लिन सरकारले सकेन भने अहिलेको चुनौती सामाना गर्न सकिन्न।’

    बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अहिलेसम्म पनि उपलव्ध भइनसक्नु लज्जाको विषय रहेको कांग्रेसले जनाएको छ। स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था सरकारले उपलव्ध गराउन नसक्दा अन्य बिरामीले समेत अस्प्तालमा उपचार पाउन छाडेको भन्दै यस्तो स्थितिको चाँडो अन्त्य गर्न कांग्रेसले माग गरेको छ।

    सरकारले लकडाउन गरेपछि कांग्रेसले पहिलोपटक पदाधिकारी बैठक राखेको हो। सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्यको कारण अनुपस्थित भएका थिए।

    बैठकले स्वास्थ्य समाग्रीको आपूर्ति र असंगठित मजदुरहरुको राहत प्याकेज तत्काल बाँड्न सरकारसँग माग गरेको छ। स्वास्थ्य सामग्रीको आपूर्ति गर्दा पारदर्शी रुपमा गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ। स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिइएको विषयमा समेत बैठकमा छलफल भएको थियो। सेनालाई आपूर्तिको जिम्मा दिँदा नागरिक प्रशासन असक्षम रहेको सन्देश दिएको धेरै नेताहरुको तर्क थियो। ‘यसले सरकारप्रतिको विश्वसनीयता घटाएको छ। किन सेनालाई दिन पऱ्यो भन्ने विषयमा बैठकमा छलफल भयो,’ महतले थपे, ‘कांग्रेसले यसलाई गलत नजिरको रुपमा लिएको छ।’

    कांग्रेसले आपूर्ति व्यवस्थ सहज रुपमा हुन नसक्दा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। भारतका विभिन्न ठाउँमा घर फर्केका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग काग्रेसले माग गरेको छ। सरकारको बेवास्ताका कारण सीमा क्षेत्रमा सयौं नेपालीको विचल्लीमा परेको भन्दै उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा नेपाल आउन ल्याउने व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

    कोभिड—१९ बाट बच्नका लागि लकडाउन बाहेक अर्को विकल्प नभएको भन्दै घरमै बस्नका लागि कांग्रेसले आम जनतासँग अपिलसमेत गरेको छ। पार्टीका कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँबाट जनताको सेवा र सुविधाका लागि सुरक्षित रुपमा जुट्न समेत कांग्रेसले आह्वान गरेको छ।

    चैत्र २५, २०७६

    प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बस्यो । प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रिय सभाका प्रतिपक्षी नेता समेत सहभागी बैठकले विद्यमान समग्र परिस्थितिको समिक्षा गर्दै महत्वपूर्ण निर्णयहरु गरेको छ ।

    (१) कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समिक्षा बैठकले गरेको छ । समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिंदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ ।

    (२) बैठकले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।

    (३) स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थकर्र्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको छ । पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ ।

    बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरेको छ ।

    (४) लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गरेको छ ।

    (५) स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    (६) देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ ।

    (७) ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागिपनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पु¥याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ ।

    (८) अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

    (९) बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पु¥याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ ।

    (१०) बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ । बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ । विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    (११) प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपील गरेको छ ।

    (१२) कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ ।

    (१३) पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ ।

    जय नेपाल !

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…