•  

    काठमाडौं – विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस संक्रमणको खतराले भारतबाट नेपाल भित्रिन लागेका नेपालीलाई सीमामै अलपत्र पारेर दादागिरी देखाइरहेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वाेच्च अदालतबाट ठूलो झड्का लागेको छ ।

    सर्वाेच्च अदालतले नेपाल आउन चाहने नेपालीलाई सीमामै अलपत्र राख्नु गैरसंवैधानिक भएको आदेश दिँदै नेपालीलाई आउन दिएर अनिवार्य क्वारेन्टाइनमा राख्न आदेश दिएको छ ।

    अदालतले नेपाल ल्याउन सम्भव नभए भारतसँग समन्वय गरी उतै खान, बस्न र उपचार पाउने व्यवस्था गर्न ओली सरकारलाई आदेश दिएको छ ।

    ओली सरकारले सीमामा रोकेका नागरिकलाई नेपाल आउन दिनुपर्ने माग गर्दै दायर भएका दुई वटा रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको इजलासले विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पूर्ण व्यक्तिहरूको नाम, थर, वतनसहितको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउन र अनिवार्य क्वारेन्टाईनमा राख्न आदेश दिएको छ ।

    नेपालको संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य सेवामा समान पहुँच हुने, कानूनको दृष्टिमा समान हुने व्यवस्था गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले ‘नेपालीहरू संसारको जुनसुकै भूभागमा बसेको भए पनि उनीहरूलाई भोक र रोगले मर्ने अवस्था आउन नदिने राज्यको दायित्वबाट सरकार बिमूख रहन सक्दैन’ भनेर आदेश दिएको छ ।

    संक्रामक रोगको महामारीको समयमा संक्रमणलाई समुदायमा फैलिन नदिन सरकारले अवलम्बन गरेको विधिमा अनिवार्य रुपमा सहभागी भई सरकारी निर्देशनको पूर्ण पालना गरी सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने भन्दै सर्वोच्च अदालतले विदेशबाट आउने सम्भाव्य संक्रमित नागरिकले तोकिएको अवधिसम्म परिवार र समाजमा घुलमिल नभई क्वारेन्टाईनमा बस्नुपर्ने भनेको छ ।

    ‘कोभिड–१९ का कारण लकडाउनको अवस्थामा रहेको समयमा नेपाल आफ्नो नागरिकको सुरक्षामा प्रयत्नशील रहे पनि त्यो प्रयास पर्याप्त रहेको देखिन आएन,’ सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।

    सर्वाेच्च अदालतले सरकारका नाममा पाँच बुँदे आदेश दिएको छ । यस्तो छ आदेश –

    १) विदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरि नेपाल फर्कन चाहने ईच्छुक नेपाली नागरिकहरूलाई सम्वन्धित मुलुकसँग कूटनीतिक माध्यमवाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू गराउनू, उक्त कार्य तत्काल संम्भव नभएको अबस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू ।

    २) यसरी सो बमोजिम नेपालीहरू विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पूर्ण व्यक्तिहरूको नाम, थर, वतनसहितको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउनू । निजहरूलाई क्वारेन्टाइनमा राख्नू ।

    ३) नेपाल–भारतको सिमामा रहेका नेपाल आउन ईच्छुक नेपाली नागरिकहरूलाई नेपालमा ल्याई निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनू, त्यस्तो प्रबन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिसम्मका लागि निजहरुलाई खाने, बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नू ।

    ४) क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई डब्लुएचओको मापडण्डअनुसार स्वास्थ उपचार लगाएतका सेवा प्रदान गर्ने व्यवस्था गरी क्वारेन्टाइनलाई व्यवस्थित तवरले सञ्चालन गर्ने व्यवस्था मिलाउनू ।

    ५) विदेशमा रहेका नेपालीहरूको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिकहरू रहेको मुलुकसँग समन्वय गरी नेपाली नागरिकहरूको विदेशको बसाई नियमित गर्ने व्यवस्था मिलाउनू ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…