•  

    काठमाडौँ, चैत २६ गते । मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ ।
    लकडाउनका कारणले सबै उद्योग, प्रतिष्ठान, कलकारखाना, होटल, व्यवसाय तथा कार्यालय बन्द रहेको अवस्थामा नेपालको आन्तरिक उत्पादनले धान्न नसक्दा यस्तो गर्नुपरेको हो । मागअनुसारको आपूर्ति व्यवस्था मिलाउन भारतबाट बिजुली आयात गर्नु परिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, अहिले पनि हामीलाई आन्तरिक रूपमा विद्युत्को आपूर्ति व्यवस्थापन गर्न असहज परिस्थिति भएकाले भारतबाट बिजुली लिइरहेका छौँ । त्यो नर्मल र पिकआवरमा पनि कम, बढी ल्याउने गरेका छौँ ।
    लकडाउनपछि बिजुलीको घरेलु प्रयोग बढेकाले ‘सोचेजस्तो’ माग कम नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, नाकाबन्दीपछि नेपाली उपभोक्ताले भान्सामा बिजुलीको प्रयोग हुने सामग्रीको जोहो गरेर राखेकाले पनि लकडाउनका बेला बिजुलीको माग बढेको छ । हामीले सोचेजति उपभोक्ताको भान्सामा बिजुलीको प्रयोग नबढे पनि बिस्तारै ‘कुकिङ ह्याबिट’मा फेरबदल आइरहेको छ ।
    यो ‘ड्राइ सिजन’ हो । यस्तो सिजनमा हरेक वर्ष आन्तरिक उत्पादनले नपुग्ने भएपछि प्राधिकरणले भारतबाट आयात गरेर माग आपूर्ति व्यवस्थापन गर्दै आएको थियो । प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार लकडाउनका बेला साँझको पिक आवरमा भारतबाट औसतमा दैनिकजसो २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाट आयात भइरहेको छ ।

     

    उहाँले भन्नुभयो, हामीले अहिले पनि भारतबाट २४सै घण्टा आयात गरिराख्ने भनेको ८५ देखि ९५ मेगावाट हो तर साँँझको पिक आवरमा २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाटको हाराहारीमा ल्याउने गरेका छौँ ।
    भारतबाट नेपालले विभिन्न सन्धि, सम्झौताअनुसार पाउने निःशुल्क बिजुली र खरिद सम्झौताअनुसार पनि बिजुली ल्याउने गरेको छ । कोसी, गण्डकी तथा महाकाली सम्झौताअनुसार पाउने बिजुली र आन्तरिक उत्पादनले नपुग्ने भएपछि नेपालले सुक्खायाममा बिजुली किनेर ल्याउने गरेको छ । हरेक वर्ष सुक्खायाममा भारतबाट ल्याइने गरेकोभन्दा लकडाउनका बेला बिजुली आयात भने घटेको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, लकडाउन नभएको भए हामी यो सुक्खायाममा दैनिकजसो ५०० मेगावाट जति बिजुली आयात गथ्र्यौं तर यसपटक निकै कम आयात भएको छ ।

    खाना पकाउन बिजुलीको प्रयोग बढ्दै
    हाल साँझको पिक आवरमा बिजुलीको माग ९५० मेगावाट छ भने बिहानको पिक आवरमा ७५० मेगावाट छ । मध्यरातितिर ४५० मेगावाट रहेको प्राधिकरण भार सम्प्रेषण केन्द्रले जानकारी दिएको छ ।
    विगतका वर्षमा सुक्खायामको बिहानको रमा माग बढीमा ६०० मेगावाट हुने गरेको र साँझको पिक आवरमा ७०० मेगावाट हुने गरेको थियो । भार सम्प्रेषण केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, लकडाउनका बेला पनि बिजुलीको माग बिहान ७५० मेगावाट हुनु र साँझ ९५० मेगावाट पुग्नुको पछाडिको कारण भान्सामा इन्डक्सन चुलो, राइसकुकरजस्ता बिजुलीका साधनको प्रयोग बढ्नु नै हो जस्तो लाग्छ । दिउँसो माग घटेर ४५० आउने गरेकोले पनि साँझ, बिहान खाना पकाउने काम बिजुलीबाट हुने गरेको प्रस्ट देखिन्छ ।

     

    सरकारले लकडाउनका बेला बिजुलीको खपतलाई बढाउन निश्चित रकम छुट दिने घोषणा गरेपछि भान्सामा बिजुलीको प्रयोग बढेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, बजारमा सहजै इन्डक्सन चुलो पाउने अवस्था भए अहिले पनि उपभोक्ताले बिजुलीको प्रयोग गर्न सक्थे होलान् तर लकडाउनका समय भएकाले यो अवस्था रहेन ।
    उपभोक्तालाई सस्तोमा इन्डक्सन चुलो बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सात हजारभन्दा बढी चुलो लकडाउनकै अवधिमा बिक्री गरिसकेको छ । खाना पकाउने एलपी ग्यासभन्दा सस्तो र सरकारले बिजुलीमा अझै छुट दिने भएपछि इन्डक्सन चुलोको माग बढे पनि बजार नखुल्दा उपभोक्ताले सामान खरिद गर्न पाएका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…