तिमी र कोरोना-पवन आचार्य
नढाँटी भन्छु है प्रिय,
खै किन किन मलाई आजाभोलि
कोरोना र तिमी उस्तै लाग्छ
निकट हुँदा दुबैले ममाथि आधिपत्य जमाउँछन्
फरक यत्ति हो
कोरोनाले फोक्सोको चाल बन्द गराउँछ
तिमीले हृदय र मुटुको धड्कन बढाउँछौ
भेट हुँदा तिमी
मेरो हात आफ्नो टाउको राखेर किरिया खुवाउँथ्यौ नि है
हो– त्यही कसम सम्झेर आज भन्छु
मलाई अचेल तिमी र कोरोना एउटै लाग्छ
दुबै मलाई एकान्तबासमा पठाउन उद्दत छन्
फरक यत्ति हो
एकान्तबासपछि कोरोना मबाट दूर भाग्छ
तर,
एकान्तबासमै पनि तिम्रा प्रेमिल यादहरु
मलाई बिथोल्न घरीघरी आइरहन्छन्
र
तिमीलाई भुल्ने यत्न मबाट दूर भाग्छ
'तिमी सधैंभरी यस्तै भैराख्नु है' भनेर
मलाई सम्झाएकै क्षणबाट तिमी परिवर्तन भएपनि
सधैं उही र उस्तै रहन अभिशप्त म
तिम्रो त्यही बोलीमा लोली मिलाएर भन्छु
प्रिय,
कोरोना र तिमी मलाई उस्तै लाग्छ
मनोबल कमजोर भयो भने
दुबैले ब्रम्हनालमा पुर्याउँछन्
फरक यत्ति हो
तिमीसँगको प्रेमयुद्ध त जानी जानी पनि हार्न मनलाग्छ
तर, कोरोनासँगको लडाइँ त कसैगरी पनि जित्नु छ
लेखक रेडियो कान्तिपुरका समाचार सम्पादक हुनुहुन्छ ।