कोरोना भाइरसको सन्त्रासका कारण लक डाउनले देश ठप्प छ । सरकारले लक डाउन लम्व्याउँदै जाँदा जनजीवन कष्टकर भए पनि महामारीबाट जोगिन सरकारसँग अर्काे कुनै विकल्प छैन । सरकारले देश लक डाउन गरेपछि जो जहाँ छन्, सबै त्यहीँ रोकिएका छन् । लक डाउनका कारण पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला झापामै छन् । चैत ३ गते झापा आएका उनी काठमाडौँ फर्किन पाएनन् । आखिर लक डाउनका बेला पूर्व राजा झापामा के गरिरहेका छन् त ?
झापा आउँदा उनको आफ्नै बस्ने ठाउँ छ । अरु बेला झापा आउँदा कम्तीमा पनि एक महिना बसेर उनी काठमाडौँ फर्किन्थे । दमकस्थित हिमालय गुडरिकको मिनी दरवारमा बसेर उनले लक डाउन पालना गरिरहेको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ । नियमित अध्ययनमा उनको दैनिकी बितिरहेको छ । पत्नी कोमल पनि सँगै छिन् । पूर्व युवराज्ञी हिमानी शाह आफ्ना तीन सन्तानसहित थाइल्याण्डमै लकडाउनमा रोकिएकी छन् । उनी त्यहाँ पढिरहेका आफ्ना छोराछोरीलाई भेट्न गएकी थिइन् ।