•  

    काठमाडौँ, चैत २७ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिनुभयो । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।
    मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गर्नुभयो । ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उहाँको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढिने पनि उहाँले जनाउनुभयो ।

    परिस्थितिमा परीक्षा निर्भर
    मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताउनुभयो । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ । हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।
    यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने मन्त्री पोखरेलको भनाइ छ । उहाँले कोरोनाको समस्यासित जुधेका चीनका केही सहरमा पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेको सन्दर्भ स्पष्ट गर्दै नेपालमा पनि विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने बताउनुभयो । मन्त्री पोखरेलले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा पुग्ने अवस्थामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न थालिएको बताउँदै यसले गर्दा विद्यालयको नियमित कक्षा सञ्चालन र परीक्षाको वातावरण बन्न समय लिने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

    विद्युतीय माध्यमबाट पढाइने
    यसैबीच शिक्षामन्त्री पोखरेलले लकडाउन कायम रहेको तथा विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा विद्युतीय माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तता दिइने योजना रहेको बताउनुभयो । अनलाइन माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सकिन्छ कि भन्ने हिसाबले आफूहरू त्यसको गृहकार्यमा जुटेको जानकारी उहाँले दिनुभयो ।

    विदेशका विद्यार्थीको समस्या समाधान गरिने
    कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन भिसामा विभिन्न मुलुकमा पुगेका विद्यार्थीले समस्या पाएको जानकारीमा आएकाले आफूहरू यसको समाधानमा जुटेको जानकारी उहाँले दिनुभयो । अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, साइप्रसमा अध्ययनका लागि पुगेका तर एक वर्ष अवधि नपुगेका विद्यार्थीले आफूहरूलाई समस्या भएको जानकारी शिक्षा मन्त्रालयलाई गराएका छन् ।
    यसका लागि ती देशका दूतावास, सरकार र नेपाली सङ्घसंस्थासित समन्वय गरेर कूटनीतिक पहलमा समस्याको समाधानका लागि पहल थालिएको उहाँले जानकारी दिनुभयो । साथै नेपालमा रहेका ती विद्यार्थीका अभिभावकसित समेत कुराकानी भइरहेको र नेपाल राष्ट्र बैङ्कमार्फत सजिलो तरिकाले पैसा पठाउने प्रबन्ध मिलाइएको मन्त्री पोखरेलले बताउनुभयो ।
    नेपालमा रहेका विदेशीलाई समस्या परेको अवस्थामा आफूहरूले समस्या समाधान गरिदिने गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली विद्यार्थीको समस्या समाधानमा पनि सम्बद्ध मुलुकबाट पहलको अपेक्षा गरिएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…