• २०७६ चैत २७ बिहीबार 

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको अनौपचारिक निर्णयलाई संचार माध्यममा चुहाएर सरकारले आम नागरिकमा भ्रम सिर्जना गरेको छ । भोलि शुक्रबार र शनिबार उपत्यका बाहिर जान चाहने नागरिकलाई तत्काल फर्किन नपाईने गरी सरकारले नै यातायातको व्यवस्था गरेर बाहिर पठाउन लागेको सूचना दिएर उपप्रधानमन्त्रीका सहयोगीले यो भ्रम सिर्जना गर्न भूमिका निर्वाह गरेको थाहा भएको छ ।

    यता गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाट बाहिर जान दिने निर्णय भइनसकेको जानकारी दिएको छ ।

    गृहमन्त्री रामबहादुर थापाका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, भोलि र पर्सि सवारीसाधन चल्न पाउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय आएको छैन । निर्णय भएमा जानकारी गराइने छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका सदस्यसहित केही मन्त्रीहरुको बिहीबार बसेको बैठकले काठमाडौं फर्किन नपाउनेगरी बाहिर जान चाहनेलाई यातायातको व्यवस्था गरेर शुक्रबार र शनिबार पठाउने भनी अनौपचारिक निर्णय गरेको बुझिएको छ ।

    समाचार सूत्रका अनुसार, रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बैठकको निर्णय भनी सार्वजनिक गरे पछि अनलाईन मिडियाहरुमा समाचार प्रकाशन भएको थियो । त्यसलगत्तै गृह मन्त्रालयले त्यस्तो निर्णय नभएको स्पष्ट पारेको थियो । यसरी अचानक उपत्यका बाहिर पठाउने निर्णय भएको भन्ने समाचार प्रकाशमा आउने बित्तिकै चौतर्फि आलोचना सुरु भएको थियो ।

    बालुवाटार सूत्रका अनुसार, मन्त्रीहरुबीच उपत्यका छाड्न दिने सहमति भए पनि केही मन्त्रीहरुले नै यसमा विमति जनाएका थिए भने प्रदेशका मुख्यमन्त्रीहरुले पनि आपत्ति जनाउन थालेका थिए । त्यस लगत्तै उच्चस्तरीय समितिले केहीबेर अघि विज्ञप्ति जारी गर्दै काठमाडौँबाहिर जान दिने निर्णय नभएको जनाएको छ ।

    लकडाउन गरेर कोरोना संक्रमणको नियन्त्रण गर्ने प्रयाश जारी रहेका बेला सरकारकै जिम्मेवार निकायका सन्यन्त्रहरुबाट जनतामा भ्रम सिर्जना काम भएको भनी सामाजिक संजालमा सरकारको चर्को आलोचना भैरहेको छ ।

    उपत्यका बाहिर पठाउने कुरा सत्य होइन

    यसैवीच, कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८/२९ गते) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ ।

    समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ । “यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ रु जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ ।

    राससका अनुसार, “प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ ।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…