नोबल कोरोना भाइरस (कोभिड–१९) मा चीनको वुहान प्रान्तमा डिसेम्बर ३१ मा पहिलोपटक देखिएको थियो । वुहान सेन्ट्रल अस्पालतमा काम गर्ने डा.ली वेनलियांगले यो रोगले महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए । तर उनीको चेतावनीलाई चीनले सकारात्मक रूपमा लिएन, बरु उनको मुख बन्द गरियो ।
पहिलोपटक कोरोना भाइरस देखिएको चीनको वुहानमा मानव गतिविधि सुरु भइसकेको छ । तर नेपाललगायत विश्वमा आतंकको महामारी सुरु भएको चार महिना पुगेको छ । विश्वका २०५ भन्दा बढी राष्ट्रमा कोरोना भाइरसले प्रत्यक्ष असर पारेको छ भने यो आलेख तयार गर्दासम्म ८८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सार्वजनिक भएको छ । ४८ हजारभन्दा बढी मानिस जीवनमरणको दोसाँधमा संघर्ष गरिहेका छन् । मृत्यु रोकिने कुनै आधार अहिलेसम्म देखिएको छैन । औषध बनाउने शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा चलिरहेको भए पनि परीक्षणमै समय गुज्रिरहेको छ । यसबीचमा १५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
कोभिड–१९ ले विश्वका बादशाह राष्ट्र मानिने राष्ट्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था तहस–नहस बनाउँदै विज्ञानलाई नै चुनौती दिइरहेको छ । यस्ता ठूल्ठूला संकटको घडिमा हामी मानव जाति अझै अनभिज्ञ रहेछौं भन्ने अनुभूति दिलाएको छ । बोस्टन युनिभर्सिटीमा घटाइएको भनिएको नाटक यसको ज्वलन्त उदाहरण हो । चिनियाँ युनिभर्सिटीका प्राध्यापकसँग मिलेर भाइरस उत्पादनमा सहयोग गरेको नाटक मञ्चन गर्दै केहीलाई गिरप्mतारसमेत गरियो । स्पेन प्रहरीको भिडियो अहिले पनि भाइरल भइरहेको छ ।
विश्वका ४० प्रतिशत मान्छे महामारीको सामना गरिरहेका छन् । विश्व मानव जगतमा कोरोना भाइरसको डर त्रास फैलिएको छ, मान्छे मान्छेबीच दूरी कायम गरिएको छ । यस्तो समयमा मानव जाति सहनशील, लगनशील र धैर्यशील हुन आवश्यक छ । किनकि धैर्यताले नै मान्छेलाई सफलताको विन्दुमा पु-याउने हो ।
स्वास्थ्यकर्मी, सुरक्षकर्मीको उच्च मनोबल बनाउँदै अहोरात्र काममा खटिनुपर्ने समयमा सरकारका केही मन्त्रीहरू भ्रष्टाचारजन्य अपराधमा संलग्न भएको समाचार आउनु दुःखद् कुरा हो । यो व्यवस्थामाथिकै चुनौती हो ।
विश्वजगत् शोकमै छ, शोकमा नरहेका पनि त्रासमै छन् । हामी जो जहाँ छौं, त्यही सुरक्षित रहन, बस्न सक्नुपर्छ । यो भाइरसले ठूलो–सानो, धनी, गरिब, कांग्रेस, कम्युनिस्ट केही भन्दैन । भाइरसले सबै मानव एकै हुन् भन्न खोजेको छ भने यसले अमेरिका, बेलायत, स्पेन, इटालीलाई ठूलो धक्का दिइसकेको छ । अमेरिका विश्वको शक्ति देश नरहने विश्लेषण गर्न थालिएको छ ।
कोभिड–१९ ले विश्वलाई सुनसान बनाइसकेको छ । आधा विश्वलाई घरभित्र कैद गरेको छ । करोडौंको रोजगारी खोसिएको छ, हाम्रा लाखौं बालबच्चा पढ्न पाइरहेका छैनन्, राजनीतिक, सामाजिक कार्यहरू सबै ठप्प छन्, आफ्नो गाउँठाउँ छाडेर विदेशिएका युवाहरूलाई विदेशी भूमिमा चिच्याइरहन र पीडादायक जीवन जीउन बाध्य पारेको छ ।
विश्वलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धकै तयारीमा रहन संसारभरका राष्ट्रहरूलाई सचेत गराइसकेको अवस्था एकातिर छ भने अर्कोतर्फ त्यसले अर्थतन्त्रमा धराप थापेको छ । कोरोनाकै कारण २५ करोडभन्दा बढीले रोजगारी गुमाउन सक्ने संयुक्त राष्ट्रसंघले बताइसकेको छ । कोरोना भाइरसकै कारण आज विश्वको अर्थतन्त्र वृद्धिमा रोकावट आएको छ । अर्थतन्त्रमा ठूलो मन्दी ल्याउन सक्ने संकेत चेतावनी संघले दिएको छ । ठूल्ठूला कलकारखाना, उद्योगधन्दाहरू बन्द हुनुले मन्दीलाई सहयोग पु¥याएको छ । दिनदिनै ओरालो लागेको सेयर बजारले अधिकांश लगानीकर्ता, बैंक, वित्तीय संस्थालाई जोखिममा पारेको छ ।
कोभिड–१९ का कारण लकडाउन (बन्दाबन्दी) भएको वैशाख ३ गते तीन साता पुग्छ । दुई साताअघिदेखि कोरोनाको चर्चाले नेपालको सामाजिक, आर्थिक कुरामा हाम्रो देशलाई प्रत्यक्ष असर परिसकेको थियो । हाम्रो अर्थतन्त्रको आधार भनेकै भनेकै राजस्व, रेमिट्यान्स, भन्सार, कर र पर्यटन हो । यो सबै बन्द भएपछि देश चरम आर्थिक संकट्मा पुगिसकेको छ । मान्छेको गतिविधिमा आएको लकडाउनले अर्थतन्त्रमा स्वाभाविक प्रभाव पार्छ नै । विदेशबाट आउने पर्यटक केही वर्षका लागि हाम्रो कल्पनाभन्दा बाहिर हुनेछ अब । पर्यटन उद्योगमा लगानी गरेका र गर्ने तयारीमा रहेकाहरूले अब ठूलो घाटा बेहोर्नुपर्ने छ । लगानीकर्ता बैंक, वित्तीय संस्थाहरू चरम संकटबाट गुज्रिने छन्, कतिपय त बन्द नै हुनेछन् । यस्तो अवस्थामा सरकारले लगानीको नयाँ योजना ल्याउने र रोजगारी सिर्जना गर्ने नीति ल्याउनै पर्छ । उद्योगहरू सञ्चालनमा ल्याउन थप लगानीको आवश्यकता पर्छ नै ।
आफैं खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको देशको कृषि संकटमा पर्नेछ । उत्पादन भएको अनाज बिक्री नहुने समस्य हुनेछ भने रासायनिक मल, बीउ–बिजनको अभाव नेपालले व्यहोर्नुपर्ने छ । अधिकांश नेपाली निर्वाहमुखी कृषि क्षेत्रमा निर्भर छन् । नगदे बालीका रूपमा केहीले माछा, पशु तथा कुखुरा पालन, फलफूल, तरकारी व्यवसाय गरेका छन् । तर त्यो व्यवसाय पनि संकटमा परिसकेको छ । एक अर्कासँग निर्भर रहेको अर्थतन्त्रले सामाजिक अराजकता ल्याउन सक्ने सम्भावना छ । देश–विदेशमा रहेका नेपालीहरूको उच्च मनोबल गिर्ने, आत्मबल घट्दै जाने समस्या कोरोना भाइरसले सिर्जना गर्ने देखिन्छ । एकजनाले लिएको सापटी तिर्न नसक्ने अवस्था आउनेवित्तिकै त्यसबाट हजारौं प्रभावित हुनेछन्, त्यसपछि अपराध बढ्न जाने अनुमान गर्न सकिन्छ । यो एक किसिमको सामाजिक मनमुटावको अवस्था हो, अराजकताको हो ।
डरलाग्दो भविष्यप्रति केपी ओली नेतृत्वमा रहेको सरकारले कुनै चिन्तन र चिन्ता गरेको देखिएन । तीन दिनअघि उनले गरेको सम्बोधनले धेरै नेपालीलाई चिन्ताग्रस्त बनाएको छ । उनको हाउभाउ, अभिव्यक्ति र मन्त्रीहरूको कार्यशैलीले यो व्यवस्था नै संकटमा पर्ने सम्भावना देखिँदै गएको छ । लोकतान्त्रिक सरकारप्रति भरोसा गर्ने, विश्वास गर्ने आधार विस्तारै गुमाउँदै गएको छ यो सरकारले । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बनाउँदै अहोरात्र काममा खटिनुपर्ने समयमा सरकारका केही मन्त्रीहरू भ्रष्टाचारजन्य अपराधमा संलग्न भएको समाचार आउनु दुःखद् कुरा हो । यो व्यवस्थामाथिकै चुनौती हो । यस्तो बेला राज्यले आप्mना नागरिकलाई आड–भरोसा, ढाडस दिन सक्नुपर्छ । अन्यथा, नागरिकहरूमा डिप्रेसनको समस्या थप हुन सक्छ । यस्तो बेला सरकारमा बस्नेहरू अनुत्तरदायी, अमानवीय र स्वार्थी बन्न हुँदैन भन्ने कुरा उनीहरूले भुलेझै लाग्छ । किनभने यो विपत्तिको बेला हो ।
मनिता घिमिरे