•  

    काठमाडौँ, चैत २९ गते । कोराना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् । शुक्रबार लकडाउनको १८औँ दिन हो ।
    लकडाउन भएपछि स्थानीयवासीले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न दिएका थिएन । अहिले सिसडोलमा अवरोध हटेपछि काठमाडौँ र ललितपुर महानगरपालिकाको फोहोर ल्यान्डफिल साइट लगिएको महानगरपालिकाले जनाएको छ ।
    महानगरपालिका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाबाट दैनिक उठ्ने फोहोरको मात्रा अहिले घटेको बताउनुभयो । उहाँका अनुसार यसअघि साधारण अवस्थामा दैनिक चार सय ट्रकसम्म फोहोर ल्यान्डफिल साइट लगिन्थ्यो । लकडाउनको समयमा भने घरायसी फोहोर मात्र सङ्कलन र व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोरको परिमाण घटेको बताउनुभयो । अहिले काठमाडौँ महानगरपालिकाले १२० देखि १२५ ट्रक फोहोरमैला ल्यान्डफिल साइट पु¥याइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
    फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क, पञ्जा र बुट जस्ता सामग्री उपयुक्त तरिकाले प्रयोग गर्न सचेत गराइएको उहाँले बताउनुभयो ।
    बजारमै अभावका कारण व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) भने सबै सफाइ कर्मचारीलाई दिन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै सफाइ कर्मचारीलाई पीपीई वितरण गर्ने प्रयास गरिरहेका छौँ । विभिन्न ठाउँबाट प्राप्त एक सय थान पीपीई भने वितरण गरिसकेको जानकारी दिनुभयो । पीपीई नभए पनि नगरपालिकाले बर्सेनि वितरण गर्ने मास्क, पञ्जा र बुट नियमित प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताउनुभयो ।
    उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट वरपरका स्थानीयवासीलाई पनि मास्क, पञ्जा, सेनिटाइजर तथा सफाइ सामग्री र ज्वरो जाँच्ने उपकरण चाँडै वितरण गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताउनुभयो ।
    त्यस्तै उहाँले काठमाडौँ महानगरपालिकाले सरसफाइ कर्मचारीको दैनिक थर्मल ज्वरो जाँच र स्वास्थ्य निगरानी गरिरहेको बताउनुभयो ।
    ललितपुर महानगरपालिकाको पनि फोहोरमैला सहज तरिकाले सङ्कलन र व्यवस्थापन भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । महानगरपालिकाले दैनिक रूपमा घरायसी फोहोरमैलाको सङ्कलन र व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो ।
    महानगरपालिकाले सरसफाइ कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध पनि गरिएको उहाँको भनाइ छ । उहाँले महानगरका झन्डै १५० जना फोहोरमैला व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई पीपीई वितरण गरिसकेको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाको फोहोरमैला पनि सिसडोल ल्यान्डफिल साइटमा नै व्यवस्थापन गरिँदै आएको छ ।
    भक्तपुर नगरपालिकाले भने पहिलेभन्दा पनि सङ्क्रमणको अवस्थामा सहर अझ सफा राख्नुपर्छ भनी सम्पूर्ण सफाइकर्मीलाई परिचालन गरिएको जनाएको छ । नगरपालिकाका सरसफाइ शाखा प्रमुख दिलीप सुवालले भक्तपुर नगरपालिकामा फोहोरमैला सङ्कलन र व्यवस्थापनमा निजी कम्पनीको संलग्नता छैन, त्यसैले लकडाउनको बेला पनि नगरपालिकाले आफ्ना सफाइ कर्मचारीलाई नियमित परिचालन गर्न सहज भएको छ भन्नुभयो ।

    उहाँले नगरपालिकाले लगभग १५० सरसफाइ कर्मचारीलाई मास्क, पञ्जा लगायत सामग्री दिएको जानकारी दिनुभयो । सफाइ कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि अहिले विशेष प्रकारको वान् पिस पोसाक पनि सिलाउँदै वितरण गरिरहेको प्रमुख सुवालले बताउनुभयो ।
    फोहोरमैला सङ्कलन गर्न जाने कर्मचारीले सुरक्षा सामग्रीको उचित प्रयोग गरे नगरेको विषयमा दैनिक वडा निरीक्षकबाट रिपोर्ट लिने गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले सामान्य दिनमा ३० टन फोहोरमैला सङ्कलन गर्ने गरेकोमा अहिले एक वा दुई टन मात्र कमी आएको प्रमुख सुवालले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…