मोरङ /चैत २९/२०७६
लकडाउनको मौका छोपी मोरङको चारकोसे जंगलमा डढेलो लगाउने र वन्यजन्तुको सिकार गर्ने बढेको छन् । लकडाउनको करिब तीन साताको अवधिमा जंगलको ११० हेक्टर क्षेत्रफलमा अज्ञात समूहले डढेलो लगाएको पाइएको छ ।
त्यसैगरी यस अवधिमा जंगलमा वन्यजन्तुको सिकार गर्ने ३ जनालाई दुई थान बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । चारकोसे जंगलमा मृग, हरिण, बँदेल, जरायो, निलगाई र कालिज लगायतका वन्यजन्तु पाइन्छन् ।
चारकोसे जंगलमा मोरङ जिल्लाभरी चारवटा साझेदारीसहित १३४ वटा सामुदायिक वन छन् । तीमध्ये ३० वटा सामुदायिक र दुई वटा साझेदारी वन समूहको ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा अज्ञात समूहले लकडाउनको मौका छोपेर डढलो लगाएका छन् ।
वन कार्मचारी, वन रक्षक र सुरक्षाकर्मीको पहलमा डढेलो तत्काल नियन्त्रणमा लिइएको छ । डिभिजन वन प्रमुख घिमिरेले जंगलमा सिकार गर्न, दाउरा लिन र घाँस काट्न जानेले आगो लगाएको हुन सक्ने अनुमान गरिए पनि कसैलाई पनि पक्राउ गर्न नसकिएको बताउनु भयो ।