•  

     

    पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । मोरङ क्षेत्र नम्बर २ बाट सङ्घीय सांसदमा प्रतिनिधित्व गर्नुहुने डा. रिजालको मौजुदा सांसदमा प्रभावकारी भूमिका रहदै आएको छ । नेपाली काङ्ग्रेसको दोस्रो पुस्तामा 'थिङ ट्याङ्क' मानिने उहाँलाई कतिपयले काङ्ग्रेसको भावी नेतृत्वकारुपमा पनि हेरेका छन् । कोरोना भाईरसको महामारी र मुलुकमा जारी लकडाउनको सेरोफेरोमा रहेर रेडियो सुनाखरीका लागि युवराज पौडेलले डा. रिजालसँग कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उक्त कुराकानीको मुख्य अंश :

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीले हामीलार्ई पनि प्रभावित गरिसकेको छ । यसबाट जोगिन मुलुक लकडाउनमा छ । तपाई कस्तो अनुभूति गरिरहनु भएको छ ?

    वास्तवमा हामी अहिलेसम्म खासै प्रभावित भइसकेका छैनौँ, जोखिममा छौँ । विश्वव्यापीकरणमा हामी धेरै नजोडिएको कारणले पनि होला । जहाँ जोडिएका छौ, ती देशहरुबाट पनि मानिसहरु स्वदेश फर्किनुभएको छैन । अहिले मुलुकमा लकडाउन छ, सबै वायुसेवाहरु बन्द छन् । हाम्रो दक्षिणी छिमेकी भारतमा पनि अलि ढिलो फैलियो । त्यहाँबाट आउने दाजुभाई दिदीबहिनीहरु एउटा सङ्ख्यामा आउनुभयो । आएपछि पनि कुनै नकुनै तरिकाबाट सुरक्षितरुपमा बस्नुभएको छ । यी सबै कुरालाई हेर्दा हामी अहिलेसम्म धेरै संक्रमणमा पुगिसकेका छैनौँ, तर संवेदनशिल अवस्थामा चाँही छौ ।

    यो लकडाउनले जोखिम नियन्त्रण गर्ला ?

    यो कोरोना भाईरसको संक्रमण अलि भिन्न प्रकृतिको हुन्छ । कतिपय अवस्थामा यो संक्रमण थाहा नहुने पनि हुन सक्छ । मान्छेलाई बिरामी भएको ६ दिनसम्म कुनै पनि लक्षण देखिँदैन । ३० प्रतिशत, सयमा तीस जना मानिसलाई बिरामी भएँ भन्ने थहा नपाइकनै बिराम आउँछ, जान्छ । अर्थात ३० जनाले कहिल्यै पनि मेरो शरीरमा संक्रमण थियो भन्ने थाहै पाउँदैनन् । संक्रमण आउँछ, जान्छ । अर्काे ५० प्रतिशतमा सामान्य रुघाखोकी लागेर बित्छ र २० प्रतिशत चाँही धेरै बिरामी हुन्छन् । त्यसैले अहिलेसम्म हामी संक्रमणमा पर्छौ पर्दैनौँ, थाहा छैन । जोखिम छ, जोखिम निकै छ ।

    अहिले भारतमा संक्रमण निकै द्रुत गतिमा बृद्धि भइरहेको छ । यो कोभिड १९ असाध्यै चाँडो बृद्धि हुन्छ, गुणात्मकरुपमा हुन्छ । ३ बाट ९, ९ बाट २७, २७ बाट ८१, यसरी फैलिन्छ । त्यसो हुनाले एक जना संक्रमित मान्छे मर्दा अरु ८ जनालाई संक्रमण फैलिसकेको हुन्छ । औसतमा यो अनुभव छ अहिलेसम्म । त्यसैले हामी जोखिममा छौँ, संक्रमणमा परिसकेका छैनौँ ।

    यो जोखिमबाट बच्नका लागि जुन किसिमले लकडाउन गरिएको छ, यो एकदमै अनिवार्य छ । जोखिम रोक्न यसले निकै मद्दत गरेको छ । पहिले अलि ढिलो गरियो कि जस्तो लागेको थियो, धन्न सौभाग्यले त्यति ढिलो भइसकेको रैनछ । हामी सबैले कराएर एसईई परीक्षा रोक्न लगायौँ । त्यसबाट पनि हामी धेरै ठुलो हानीबाट बच्यौँ भन्ने मलाई लाग्छ । अब खुल्ला सिमानाका कारण अरु थप संक्रमण भेटिन्छ कि भेटिदैन, त्यो मात्र चिन्ता हो । तर अहिलेसम्म धेरै परिक्षण नभएकाले ढुक्क हुने अवस्था छैन । आजदेखि परिक्षणको सङ्ख्या अलि बढ्छ भन्ने छ । त्यसले गर्दा संक्रमण फैलिएको छ कि छैन भन्ने त्यस्तो ठोस जानकारी छैन । अहिलेसम्म आशा गरौँ, संक्रमण फैलिएको छैन भन्ने । तर ढुक्क भएर फैलेको छैन भन्ने अवस्था छैन । हामी जोखिममा छौ । यसबाट जोगिने सर्वोत्तम उपाय लकडाउन नै हो ।

    सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघि सारेका नीति र अवलम्बन गरेका उपायहरु प्रति तपाईहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

    पहिलो कुरा त हामीले केन्द्रीय सरकारलाई सहयोग गर्छौ भनेकै थियौँ । तर केन्द्रीय सरकारले एउटा कुरा के बुझेन भने नेपालमा सरकार केन्द्रमा मात्र छैन । केनद्रमा एउटा सरकार छ, प्रदेशमा सातवटा सरकार छन् । सरकारकैरुपमा नभएपनि ७७ वटा जिल्ला समन्वय समिति छन । ७ सय ५३ वटा गाँउपालिका र नगरपालिका छन् । ६ हजार ७ सय ४३ वटा वडाहरु छन् । ती वडाहरुमा वडाअध्यक्ष र गासस तथा नसस छन् । त्यसैले हामीले सरकार भन्दा त्यो वडा तहसम्म भएको सरकारलाई बुज्नुपर्छ ।

    यस्तो बेलामा स्थानीय सरकारबाट बढी प्रभावकारी काम गर्न सकिन्छ । हामी जस्तो असङ्गठित क्षेत्रमा काम गर्ने मानिसहरु भएको ठाउँमा राहत बाड्ने काम त्यहीबाट गर्नुपर्यो । लकडाउनको प्रभावकारी कार्यान्वयन त्यहीबाट हुन सक्छ । मान्छेलाई बाहिर जानु हुँदैन, घरमै बस्नुपर्छ भन्ने सूचना दिने काम त्यहीबाट प्रभावकारी हुन सक्छ । ती गाँउघर, टोलछिमेकहरुलाई परिचालन गर्ने कार्य स्थानीय सरकारले नै गर्न सक्छ । केन्द्रको सरकारले नीति बनाउने, स्रोतसाधन जुटाउने, केन्द्रीयरुपमा प्रचारप्रसारका सामाग्रीहरु निर्माण गर्ने, आपूर्ति व्यवस्था सहज बनाउनेलगायतका कामहरु गर्ने हो । अहिले औषधी, उपकरण लगायतका स्वास्थ्य सामाग्रीहरु विदेशबाट ल्याउनु पर्ने हुन्छ । त्यो काम केन्द्रीय सरकारले नै गर्ने हो । बाँकी काम त तलका सरकारहरुले गर्नुपर्ने हुन्छ ।

    अहिले मेरो सबैभन्दा ठुलो गुनासो यहीनेर छ । केन्द्र सरकारले यी सारा काम आफू एक्लैले गर्छु जस्तो गरेको छ । अर्को कुरा, यस्तो बेला सरकारसँग स्वच्छता र जनताको विश्वास हुनुपर्ने हो, त्यो देखिएन । यो बिषम परिस्थितिमा पनि सस्ता र गुणस्तरहिन स्वास्थ्य सामाग्री खरिद गरेर सरकारले घोटला गर्यो भन्ने आम मान्छेको बुझाई छ । यस्तो स्थिति आउनु हुने थिएन । आयो, यो दुर्भाग्य हो ।

    स्वास्थ्य सामाग्री खरिदमा घोटला भएकै हो त ? सरकारले खरिद प्रक्रिया त रद्द गरिसक्यो नि !

    हेर्नुहोस, दुनियाका ठुलाठुला विकसित मुलुकले पनि व्यवस्थापन गर्न हम्मेहम्मे परेको यो महामारीको विपदमा लालचको, लोभको यो भन्दा निकृष्ठ उदाहरण के हुन सक्छ ! घोटला भएको छैन भने सरकारले जनतालाई विश्वास दिलाउन सक्नुपर्यो, सरकारले त्यो सकेको छैन । अहिले उपप्रधानमन्त्री, मन्त्रीहरु, सल्लाहाकारहरु यो कार्य हामीले गरेको हैन, हाम्रो छोराले गरेको हैन, हाम्रो परिवारले गरेको हैन, हामी निर्दाष छौ भनेर काम गर्न छोडेर सफाइ दिने काममा लाग्नु भएको छ । त्यती मात्र होइन, प्रधानमन्त्री जो जनताको मुख्य अभिभावक हो, उहाँले पनि तीनैको बचाउ गर्ने काम गर्नुभएको छ । उहाँले जनतालाई विश्वास दिने, ढाडस दिने काम गर्नु भएन । सरकार जनताप्रति जवाफदेही हुनै सकेन ।

    अर्को कुरा सरकारले बाध्य भएर सम्झौता त रद्द गर्यो तर रद्द गरेरमात्रै त पुगेन नि । रद्द किन गर्यो त्यो त सबैलाई थाहा छ । घोटला भयो भनेर आम नागरिकको खप्नै नसक्ने दबाब पर्यो, हामी सबैले पनि बोल्यौ । सञ्चारमाध्यमले प्रष्ट पार्यो, सामाजिक सञ्जालमा व्यापक विरोध भयो । अनि सरकारले थेग्नै नसकेर सम्झौता रद्द गर्यो ।

    घोटलाका प्रशस्त आधारहरु छन् । यस सम्बन्धी अख्तियारमा मुद्दा पनि परिसेको छ । यसबारे पछि छानविन हुन्छ । अब अख्तियारले पनि गर्नुपर्छ । हामी संसदिय समितिमा, लेखा समितिमा बसेर पनि गर्छौ । अरु समितिले पनि गर्लान । स्वास्थ्य मन्त्रालय हेर्ने समितिले पनि गर्ला । सुशासन हेर्ने समितिले पनि गर्ला । ढुक्क हुनुहोस् – यसको छानविन हुन्छ ।

    ओम्नी कम्पनीसँग सम्झौता रद्द गरेपछि सरकारले स्वास्थ्य सामाग्री खरिद सेनालाई जिम्मा दियो । यसलाई कुन अर्थमा लिनुहुन्छ ?

    सरकारले आफूलाई चोख्याउनका लागि सेनालाई अघि सारेको हो । सुरक्षाका अलवा सेनालाई अन्य केही विशेष कार्यमा प्रयोग गर्न सकिन्छ । त्यो प्राकृतिक विपत्तिमा हुन सक्छ, आपूर्ति व्यवस्था सहज बनाउन हुन सक्छ । सरकारले अहिले सेनालाई सामान किन्नका लागि, व्यवसाय गर्नका लागि प्रयोग गर्न थाल्यो । एउटा लोकतान्त्रिक मुलुकमा यो भन्दा आपत्तिजनक कुरा के हुन्छ ?

    अख्तियारबाट जोगिन सेनालाई अगाडी सारेको हो भनेर सेनाका पूर्व अफिसरहरुले नै भनिरहेका छन् । हाम्रो कुरा प्रष्ट छ – सेनालाई यस ठाँउमा प्रयोग गर्न पाइदैन । सेना प्राकृतिक विपत्तिमा प्रयोग हुन सक्छ तर व्यवसायका लागि होइन । कोरोनाको कहरबाट बाहिर निस्केपछि यसको बारेमा गम्भिरतापूर्वक बहस हुन्छ ।

    म यहाँनेर एउटा कुरा जोड्न चाहन्छु । हेनुृहोस्, सरकारको मानसिकता कस्तो छ । प्रधानमन्त्री ज्यूले भन्नुभयो – जीवन रोज्ने कि स्वतन्त्रता रोज्ने ? उहाँले कस्तो विम्ब प्रयोग गर्नु भएको ! स्वतन्त्रता र जीवन एउटा रोज्ने अर्को छोड्ने कुरा होइनन् । यी दुबै चिज सँगसँगै जाने विषय हुन । उहाँ कुन दर्शनको कुरा गरिरहनु भएको छ, अचम्म लाग्छ । मलाई चिनता लाग्छ, जति दुख गरेको मान्छे भएपनि प्रधानमन्त्रीज्यूको सोच लोकतान्त्रिक देखिँएन । लोकतान्त्रिक सोच राख्ने मान्छेले स्वतन्त्रता र जीवनका बीचमा एउटा रोजाई छ, एउटा छान्नुहोस्, एउटा छोड्नुहोस् भन्नु नपर्ने हो । प्रधानमन्त्रीज्यूले यति गलत विम्ब प्रयोग गर्नुभएको छ कि यसैबाट पनि हामी उहाँको नियत प्रष्टसँग बुझ्न सक्छौ ।

    त्यसैले भोली कोरोनाको कहरबाट बाहिर निस्केपछि लोकतन्त्रलाई अझ बलियो बनाएर जाने कुरामा हामी अझ बढी चनाखो भएर लाग्नुपर्ने भएको छ । प्रमुख प्रतिपक्ष दलको नाताले, लोकतान्त्रिक पार्टी हुनुका नाताले हामी त्यो गर्छौ । राज्यको चौथो अङ्ग मिडियाले, नागरिक समाजले, बौद्धिक समाजले, अब सबैले क्रियाशिल हुनुपर्ने भएको छ । तर आजको दिनमा हाम्रो प्राथमिकता कोरोनाको कहरबाट बाहिर निस्कने हो । यो जोखिममा मुलुकलाई पर्न नदिने हो । यो जोखिमबाट जोगिएपछि सशक्तरुपमा यी सबै विषयमा लाग्ने हो । हाम्रो संविधान र व्यवस्थालाई जोगाएर अगाडी जाने हो ।

    कोरोना महामारीका कारण विश्व राजनीति, अर्थतन्त्र, मानवजीवन शैलीमा अब मुलभूत परिवर्तन आउँछ भन्ने विश्लेषणहरु आइरहेका छन् । नेपाली राजनीति र सामाजिक जनजीवनमा अब कस्ता प्रभावहरु देखिएलान् ?

    अहिले त हामी भावनाको कुरा गरिरहेका हौँला, भावनाले मात्र परिवर्तन हुँदैन । यो कहरबाट बाहिर निस्केपछि हाम्रो जीवन सहज बन्दै जान्छ । यससँगै हामी कतिपय कुराहरु बिर्सौला । तर केही कुराहरुले प्रभावित गर्न सक्छ । जस्तो कि हामी ५० लाख भन्दा बढी मानिसहरु विदेशमा बसेर काम गर्ने देशका नागरिक हौँ । हाम्रा युवाहरु ठुलो संख्यामा विदेशमा काम गर्नुहुन्छ ।
    हाम्रो कुल ग्राहस्थ उत्पादनमा एक चौथाई उहाँहरुको कमाइबाट थपिन्छ र हाम्रो कुल राष्ट्रिय आम्दानी बढ्छ । त्यसबाट सिर्जना हुने आयातमा कर लगाएर, राजस्व उठाएर देश चलेको छ । एउटा कुरा, अबका दिनमा वैदेशिक रोजगारमा पर्न जाने असरले हाम्रो अर्थतन्त्रलाई सिधै प्रभाव पार्छ नै । अर्को कुरा, विदेशमा बसेर काम गर्ने मानिसले भोलीका दिनमा आफ्नो जीवन कसरी अगाडी लानु होला । कति नेपाल फर्कनु होला, कति उतै बसेर काम गर्नु होला । यी सब कुराले अर्थतन्त्रलाई प्रभावित गर्छ, जीवनशैलीलाई पनि प्रभाव पार्छ ।

    हाम्रो अर्को महत्वपूर्ण क्षेत्र पर्यटन हो । यो अहिले असाध्यै नराम्रोसँग ढाड भाचिँने गरी प्रभावित भएको छ । त्यसैगरी हाम्रो मुलुकमा असङ्गठित क्षेत्रमा काम गर्ने कृषि मजदुर र अन्य ज्यालादारीहरुको सङ्ख्या असाध्यै ठुलो छ । राज्यसँग तिनीहरुको कुनै अभिलेख छैन । आज काम गरेर आजै खानुपर्ने मानिसहरुको जीवनलाई भोलीका दिनले कसरी प्रभाव पार्छ, कृषि क्षेत्र कसरी अगाडी जाने हो, त्यो अर्को विषय हुन सक्ला ।

    अनि लोकतन्त्र माथिको चुनौतिका विषयमा स्वभाविकरुपमा त्यसको प्रतिवादका लागि सशक्त सोच बन्ला । हामीले सङ्घीयता ल्यायौँ । तर संविधानको मर्म र भावना अनुसार सङ्घीयतन कार्यान्वयन हुन सकेको छैन । । स्थानीय सरकार भनेको जनताको घर छेउमा बसेको सिङ्गदरबार हो । त्यो कसरी परिचालित हुनुपर्छ ? केन्द्रको अधिकार, प्रदेशको अधिकार र स्थानीय तहको अधिकारलाई कसरी लोकतन्त्र र संविधानको मर्म अनुसार व्यवस्थित गर्ने ? स्थानीय तहलाई कसरी अझ सशक्त बनाउने ? त्यसतर्फ पनि सोच्नु पर्ने बेला आउने छ । अहिले लकडाउनमा बसेर हामीले भावनामा भनेको भन्दा जीवन सहज हुँदै गएपछि आउने परिवर्तनले चाँही दीर्घकालीन असर बनाउँछ । यिनै ५/७ वटा कारणले कसरी प्रभावित हुन्छ हाम्रो जीवन, त्यसतर्फ हेर्नुपर्ने हुन्छ ।

    लकडाउनका कारण तपाई अहिले काठमाण्डौँमै रोकिनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रका जनतासँग के कस्तो समन्वय गर्दै हुनुहुन्छ ?

    अहिले म त्यहीँ भएको भए पनि घरघर घुम्ने र हिड्ने काम हुदैनथ्यो । म हिडेपछि मसँग केही मान्छे हिड्थे नै । अनि एउटा ठाँउबाट अर्को ठाँउमा संक्रमण पुर्याउने, संक्रमण फैलाउने काम हुन सक्थ्यो । त्यसैले हामीले गर्नु पर्ने काम भनेको स्थानीय तह र पार्टीको स्थानीय संरचनालाई परिचालन गर्ने हो । त्यस विषयमा म निरन्तररुपमा नगरपालिका, त्यहाँको नेतृत्व, वडाका नेताहरु, जनप्रतिनिधिहरुसँग टेलिफोन र अन्य प्रविधिमार्फत सम्पर्कमा रहिरहेको छु । वडा, टोल तहसम्मका सङ्गठनलाई परिचालन गर्ने कार्यमा लागिरहेको छु । आवश्यकता अनुसार निरन्तर संवादमा छु ।

    आज अन्र्तवार्तामा मात्र होइन मिडियाकर्मीका नाताले तपाईसँग पनि यस अघि पटकपटक सम्पर्क गरेको छु । त्यहाँको परिस्थितिको विषयमा तपाई कै मिडियाबाट पनि बुझिरहेको छु । अन्य पार्टीका साथीहरु, बुद्धिजीविहरुसँग पनि सम्पर्क भएको छ । मेरो सम्पर्क निरन्तर जारीे छ । त्यहाँका समस्या बुझेको छु । मेरो क्षेत्र भारतसँग सिमा जोडिएको छ । बोर्डर पारीबाट आउनेहरु कति आए, कहिले आए, कसरी आए बुझिरहेको छु । त्यसको व्यवस्थापन गर्न समन्वय गरिरहेको छु ।

    चैते धान रोप्ने बेलामा कृषकहरुलाई मलको समस्या भयो । अलिक दिनपछि एउटा फसल उठाउने र अर्को फसल लगाउने बेला हुन्छ । त्यती बेला पनि मल बिऊलगायतका समस्या हुन्छन् । त्यसतर्फ पनि लाग्नु पर्ने हुन्छ । यी सबै काममा तलबाट आएका कुराहरुलाई, समस्याहरुलाई केन्द्रमा पुर्याउने, प्रशासनसँग कुरा गर्ने कार्यमा म लागिरहेको छु ।

    आगामी दिनमा संक्रमण बढ्यो भने अझ क्रियाशिल हुनुपर्ने हुन्छ । म हुन्छु नै । म जहाँ बसे पनि यी काममा लागिरहेको छु, लागिरहने छु । यस्तो बेला एउटाले अर्कोलाई भेटेर भन्दा पनि आ–आफ्नो ठाँउबाट यी कामहरुलाई सहज बनाउन लाग्नु नै अहिलेको मुख्य जिम्मेवारी हो ।

    यो बन्दाबन्दीको असहज अवस्था र महामारीको त्रासमा तपाईको क्षेत्रका जनतालाई तपाईको विशेष सन्देश के छ ?

    मैले बारम्बार भनेको छु – मसँग सम्पर्क गर्नुहोस्, त्यहाँका जनप्रतिनिधिहरुसँग सम्पर्क गर्नुहोस । सम्पर्कका लागि सामाजिक सञ्जालमार्फत मैले टेलिफोन नम्बर पनि सम्प्रेसण गरेको छु । मेरो नम्बर, मेरो सचिवालयको नम्बर, मेरो लागि त्यहाँ काम गर्ने साथीहरुको नम्बरमा सम्पर्क गर्न भनेको छु । मेरो विशेष आग्रह के छ भने यो लकडाउनलाई सबैले पूर्णरुपमा पालना गर्नुहोस् । यो तपाईलाई दुख दिन होइन, तपाईलाई संक्रमणबाट जोगाउनलाई हो । तपाईको प्रियजनलाई, तपाईको परिवारलाई, तपाईको छरछिमेकलाई, तपाईको समाजलाई जोगाउन हो । हामी अहिले जोगियौँ भने बाँकी पछि त काम गर्न सक्छौ नै । त्यसैले मेरो अनुरोध छ – यो बन्दाबन्दी पुरै पालना गरौँ । यो हाम्रो हितमा हो, हाम्रो पक्षमा हो । नबुझ्ने मानिसलाई बुझाऊँ, बुझ्ने मानिसलाई अझ परिचालित गरेर सन्देश प्रवाह गरौँ । केही पर्यो भने सम्पर्क गर्नुहोस् । मैले जे सहयोग गर्न सक्छु, म गर्छु ।

    अन्त्यमा हामी नयाँवर्ष आगमनको संघारमा छौ । मोरङ क्षेत्र नम्बर २ का आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलगायत देशपिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनमा नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…