• २०७७ बैशाख २ मंगलबार

    स्वास्थ्य कार्यालय भक्तपुरले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारेमा बुझ्न अनुगमन थालेको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले पहिलो दिन कारोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन र सहजीकरण गरेको हो ।

    आइसोलेसन र आईसीयू सञ्चालन तथा तयारीको अवस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताउनुभयो ।

    भक्तपुरका ८ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ । हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित ८, काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा ३ र सिद्धिस्मृति अस्पतालमा १ गरी ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले बताउनुभयो ।

    यसै गरी यिनै अस्पतालको समन्वयमा थप २७ शैयाको आइसोलेसन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उहाँको भनाइ छ । यिनै अस्पतालमा २३ शैयाको आईसीयू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ शैया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन् ।

    जिल्लाको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा. गौतमले बताउनुभयो ।

    मेसु डा. गौतमले आवश्यक परे त्यहींबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिनुभयो । गौतमका अनुसार अस्पतालमा संक्रमितहरू आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्थासमेत गरिएको छ ।

    काठमाडौं मेडिकल अस्पतालका डा. विनीता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रूपमा सेवा गर्न पनि तयार रहेको बताउनुभयो ।

    यसै गरी डा. इवामुरा अस्पतालका सञ्चालक रञ्जित मारिखुले संकटका बेला अस्पतालले बुताले भ्याएसम्म सक्दो स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताउनुभयो । अनुगमनपछि स्वास्थ्य कार्यालयका प्रमुख मिजारले अस्पतालहरूले गरेको तयारीप्रति प्रसन्नता व्यक्त गर्दै थप सुधार, तयारी र मापदण्डका बारेमा सुझाव दिइएको बताउनुभयो ।

    उहाँले अस्पतालहरूको सक्रियता र तयारीमा हौसला थप्न, सक्दो सहयोग र सहजीकरण गर्न स्वास्थ्य कार्यालयले समन्वय गर्ने बताउनुभयो ।
    (नेपाल समाचारपत्र दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…