• कोरोनाभाइरस सङ्क्रमण भएर नेपालका विभिन्न स्थानका चार अस्पतालमा उपचाररत १३ जनामध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार बिरामीलाई अस्पतालबाट बिदा गर्नुअघि भाइरसमुक्त भएको पुष्टि गर्न थप परीक्षण गर्नुपर्छ। त्यही विधिअनुसार केही पुराना बिरामीको नमुना प्रयोगशाला पठाइएको छ। कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै कैलालीका चार जना छन्। कैलालीका चार जना र कञ्चनपुरका एक जना गरी पाँच जनाको हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनीहरूको पछिल्लो स्वास्थ्य सामान्य रहेको उक्त अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए। "उहाँहरूको दोस्रो परीक्षण पनि पोजिटिभ आइसकेको अवस्थामा प्रोटोकलअनुसार लगातार दुईवटा परीक्षणहरू आएपछि मात्रै हामीले घर पठाउन मिल्छ। त्यसैले अस्पतालको आइसोलेशन कक्षमा राखेर उहाँहरूको सामान्य उपचार गरिरहेका छौँ।" उपचार गराइरहेका पाँच जनामध्ये दुबईबाट आएका व्यक्तिमा सुरुमा ज्वरो र सुक्खा खोकीजस्ता सामान्य लक्षणहरू देखिएको उनले बताए। "उहाँलाई अहिले आइसीयूमा वा भेन्टिलेटरमा राख्नुपर्ने खालको जटिल स्वास्थ्य समस्या देखिएका छैन। त्यसबाहेक बाँकी चार जनामा त त्यस्तो कुनै समस्या नै छैन," डा. जोशीले बीबीसीलाई बताए।

    नयाँ सङ्क्रमितको अवस्था

    केही दिनअघि पर्सामा एकैदिन तीन जनामा सङ्क्रमण भएको पुष्टि भयो। उनीहरू भारतीय नागरिक हुन्।

    तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। "उहाँहरूमा ज्वरो कसैलाई पनि छैन। एक जनालाई खोकी लागेको छ। त्यसैको उपचार भइरहेको छ अरु केही समस्या छैन।" बागलुङका सङ्क्रमितको थप परीक्षण बागलुङमा दुई महिलामा सङ्क्रमण देखिएको थियो। ती दुवै जनाको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पछिल्लो अवस्थाबारे उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने, "पहिला भर्ना हुनेको त कुनै लक्षण छैन। खासै अहिले औषधिको जरुरी परेको पनि छैन।" "तर पछि भर्ना हुने ६५ वर्षीया महिलाको दम र उच्च रक्तचापको समस्या पुरानै रहेछ। त्यसका लागि औषधिहरू नियमित दिइरहेका छौँ।" कोरोनाभाइरस सङ्क्रमित ६५ वर्षीया वृद्धा: 'मेरो आत्मबल नै कडा छ' कैलालीमा वीरगञ्जबाट आएकी एक महिला र रौतहटमा क्वारन्टीनमा रहेका एक युवकमा सङ्क्रमण पुष्टि ती दुवै जनाको पुन: परीक्षणका लागि नमुना पठाइएको पोखरेलले बताए। "पहिलो सङ्क्रमितको दोस्रो स्वाब पनि पोजिटिभ आयो। र, तेस्रो स्वाबको परिणाम आउन बाँकी छ," उनले भने, "पैँसट्ठी वर्षीया महिलाको पनि दोस्रो स्वाब परीक्षणका लागि पठाउँदा त्यसको परिणाम पोजिटिभ नै आएको छ।" तस्वीर कपीराइटGETTY IMAGES सुरुमा सङ्क्रमित भएकाहरू कहिले डिस्चार्ज होलान्? कोरोनाभाइरसबाट सङ्क्रमित हुने दोस्रो र तेस्रो व्यक्तिको काठमाण्डूमै उपचार भइरहेको छ। कतार एअरवेजबाटै नेपाल आएकी फ्रान्समा अध्ययनरत १९ वर्षीया युवतीमा सङ्क्रमणको पुष्टि मार्च २३ तारिखमा भएको थियो। त्यसकै पर्सिपल्ट खाडी मुलुकबाट आएका पुरुष पनि सङ्क्रमित भएको पाइएको अधिकारीहरूले जानकारी दिएका थिए। झन्डै एक महिनादेखि उपचाररत उनीहरूको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाण्डूका प्रवक्ता डाक्टर अनुप बास्तोलाले उनीहरूको स्वास्थ्य अवस्था सामान्य देखिए पनि थप परीक्षण गर्नुपर्ने भएकाले त्यसैका आधारमा घर पठाउने वा नपठाउनेबारे निर्णय गर्ने बताए। "उपचारमा रहेका कुनै पनि सङ्क्रमितलाई डिस्चार्ज गर्नुपूर्व २४ घण्टामा थ्रोट स्वाब नेगेटिभ आउनुपर्छ। त्यो एउटा प्रोटोकल नै हो। उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ। अबका केही दिनमा हामी त्यो प्रक्रिया पनि अगाडि बढाउँछौँ," बास्तोलाले भने। सोमवार दिउँसोमात्रै कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएका रौतहटका एक युवकको उपचारका विषयमा जिल्लाका अधिकारीहरूबीच बैठक बसेको थियो। उक्त बैठकले उनको उपचार पनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गर्ने निर्णय गरेको थियो। नेपालमा पहिलो सङ्क्रमण चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको थियो। उनी उपचारपछि केही समयमै निको भएर घर फर्किसकेका थिए।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…