• केशव भट्टराई, यतिबेला सिंगो विश्वजगत कोरोना भाइरसको चपेटामा परेको छ । यस ज्यानमारा भाइरसले साना तथा गरिब मुलुकदेखि महाशक्ति राष्ट्रसमेतलाई टाउको दुखाएकोमात्र छैन, संकट पनि थपेको छ । चीनको हुवेई प्रान्तको वुहान सहरबाट डिसेम्बर १, २०१९ मा यकिन भएको कोरोना भाइरसमा सार्स रोगकै लक्षण देखिएकाले सार्स–२ नाम दिइएको छ भने वैज्ञानिकहरुले कोरोना भाइरस डिसेम्बर २०१९ मा देखिएकाले कोभिड–१९ नाम जुराएका छन् ।

    सुरूमा चीनले कोरोना भाइरसको नियन्त्रणमा देखाएको चासो र युद्धस्तरमा चालेको कदमका कारण अहिले चीन नियन्त्रणतर्फ उन्मुख भइरहेको छ । चीनमा महामारीका रुपमा फैलिएको यस भाइरसलाई चिनियाँ रोगका रुपमा अथ्र्याइएको थियो ।



    आजभन्दा एक महिनाअघिसम्म यस महामारीबाट चीनमात्रै पीडित भएको थियो । चीनमा ८० हजार १५१ संक्रमित र २९४३ को मृत्यु भएको खबर सार्वजनिक हुँदा विश्वका अन्य मुलुकमा भने १२ हजारको हाराहारीमा संक्रमित देखिएका थिए । अर्थात् एक महिनाअघिसम्म विश्वमा ९२ हजार संक्रमित हुँदा संयुक्तराज्य अमेरिकामा प्रभावितको संख्या १०२ मात्रै थियो । जसमा मृत्यु हुनेको संख्या ६ पुगेको थियो ।

    इरानमा २३३६ संक्रमित भएकोमा ७७ जनाको मृत्यु भएको थियो । यस्तै, इटालीमा २५०२ जना संक्रमित हुँदा ८० जनाको ज्यान गएको थियो । फ्रान्समा २१२ जना संक्रमित हुँदा चार जनाको मृत्यु भएको थियो । दक्षिण कोरिेयामा ५१८६ जना संक्रमित हुँदा ३६ जनाको निधन भएको थियो । यो विवरण एक महिनाअघिको हो ।

    विश्वमा कोरोना भाइरसको असर देखिँदै गर्दा चीनले मार्च ३ सम्म भाइरस नियन्त्रणको लागि चिनियाँ सहरमा लकडाउन गरेको एकसाता नाघिसकेको थियो । चीनको यस्तो कदमलाई धेरैले आत्मघाती निर्णय पनि भन्न भ्याए । चिनियाँ भाइरसको संज्ञा दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझैसम्म लकडाउन अनुशरण गर्न सकेका छैनन् ।

     

    जबकि एक महिनाअघि नै ८० हजार संक्रमित भएको चीनमा अप्रिल ३ सम्म आइपुग्दा १४३८ मात्रै संक्रमित थपिएका छन् । यस्तै, मृतकको संख्या ३७५ मात्रै बढेको छ । कुल संक्रमितमध्ये ७६ हजार ४०८ निको भइसकेका छन् भने अब १७२७ को उपचार जारी रहेकोमा ३७९ को अवस्था जटिल रहेको छ । शुक्रबारसम्म चीनमा ३३२२ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हेर्दा आश्चर्यजनक ढंगले चीनमा कोरोना भाइरस नियन्त्रण भएको मान्न सकिन्छ ।

    अहिले अमेरिकाको अवस्था भयावह छ । एक महिनाअघि १०२ जना संक्रमित भएको अमेरिकामा शुक्रबार यो आलेख तयार पार्दासम्म संक्रमितको संख्या २ लाख ४५ हजार ४४२ कटिसकेको छ । जसमा ६०९९ जनाले ज्यान गुमाइसकेका छन् । हाल २ लाख २८ हजार ९३२ जनाको उपचार जारी रहेको छ भने १० हजार ४११ जना निको भएका छन् ।

    अमेरिकामा बिहीबारमात्रै ९६८ जनाले ज्यान गुमाएका छन् भने २९ हजार ८७४ जना संक्रमित थपिएका छन् । यस तथ्यांकले अमेरिका कोरोना नियन्त्रणमा असफलसिद्ध भइरहेको पुष्टि हुन्छ । यतिविध्न नागरिकको ज्यान गइसक्दा पनि अमेरिकी सहर न्यूयोर्कलगायतका सिटीमा लकडाउन आवश्यकता नरहेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले नजरअन्दाज गरिरहेका छन् । जबकि न्यूयोर्कमा मात्रै ९३ हजार ५३ जना संक्रमित भएकोमा २५३८ जनाले ज्यान गुमाएका छन् ।

     

    अमेरिकी संक्रामक रोगविज्ञ डा एनथोनी फाउकीले बिहीबार सिएनएनको टाउन हलमा केही समयअघि अमेरिकाभर लकडाउन गरी मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिएको भए संक्रमित र मृतकको संख्या न्यूनीकरण हुन सक्ने बताएबाटै बुझ्न सकिन्छ कि अमेरिकी शासकको सनकबाटै अमेरिकी नागरिकले अनाहकमा ज्यान गुमाउन विवश भएका छन् । यो महामारीले विश्वमा के कस्तो जनधनको क्षति पुग्छ र यस महामारीको प्रभावले कति वर्षसम्म पछाडि धकेल्छ भन्ने यकिन छैन ।

    किनभने, एक महिनाअघि ९२ हजारको हाराहारीमा कोरोना संक्रमित देखिँदा अहिले त्यो संख्या बढेर १० लाख ४१ हजार पुगिसकेको छ भने ५५ हजार १९१ को ज्यान गइसकेको र दुई लाख २२ हजार बिरामी निको भई घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरले जनाएको छ । यो विश्वव्यापी महामारीले २०४ देश र आसपासका क्षेत्रलाई घेराबन्दीमा पारिसकेको छ ।

     

    चीनकै पद्चाप पछ्याउँदै दक्षिण कोरियाले पनि आफ्ना नागरिकको ज्यान बचाउन कोरोना रोकथामका उपायहरु अवलम्बन गरिसकेको छ । दक्षिण कोरियामा एक महिनायता संक्रमितको संख्या ५१८६ बाट बढेर १० हजार ६२ पुगेको छ । मृत्यु हुने ३६ बाट १७४ पुगेको छ ।

    जसमा ६०२१ उपचारपश्चात निको भएका छन् । ३८६७ को उपचार जारी छ । पहिलो चरणमा चीन र दक्षिण कोरियाले अपनाएका रोकथाम अन्य देशले सिक्नैपर्ने भएको छ । संकटको समयमा अहम् देखाएर हुँदैन । सहयोग, सद्भाव र अनुशरण जुनसुकै देशबाट लिए पनि फरक पर्दैन ।

    शासक र जनताको बेलैमा विवेक नपुग्दा अपूरणीय क्षति भएको दृष्टान्त इटालीले पुष्टि गरिसकेको छ । इटालीमा एक महिनाअघि २५०२ जना संक्रमित हुँदा ८० जनाले मात्रै ज्यान गुमाएका थिए ।

    तर, लकडाउनको व्यापक दुरुपयोग हुँदा आज इटालीको अवस्था सबैभन्दा भयावह बन्न पुगेको छ । भलै संक्रमितको संख्यामा अमेरिका धेरै प्रताडित भए पनि मृत्यु हुनेको संख्या हेर्दा कहालीलाग्दो अवस्था सिर्जना भएको छ । इटालीमा कुल एक लाख १५ हजार २४२ जना संक्रमित भएकोमा १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् ।

     

    हाल ८३ हजार ४९ जनाको उपचार जारी रहेको बताइएको छ । इटालीमा गत एक सातामा मात्रै ५७०० को मृत्यु भएको छ । जसमा गत शुक्रबार ९१९, शनिबार ८८९, आइतबार ७५६, सोमबार ८१२, मंगलबार ८३७, बुधबार ७२७ र बिहीबार ७६० जनाको ज्यान गएको छ । औसतमा दैनिक ८१४ बढीको मृत्यु हुनु चिन्ताको विषय हो ।

    स्पेनमा एक महिनाअघिसम्म कुल १५१ भाइरस संक्रमित हुँदा युरोपमै पहिलोपटक कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको थियो । जसको १३ फ्रेबुअरीमै ज्यान गएको थियो । अहिले युरोप आक्रान्त छ । जसमा स्पेनको अवस्था भयावह छ । स्पेनमा कुल एक लाख १७ हजार ७१० व्यक्ति प्रभावित हुँदा १० हजार ९३५ को ज्यान गइसकेको छ । जसमा बिहीबारमात्रै ९६१ र शुक्रबार ५८७ जनाले ज्यान गुमाएका छन् । ३० हजार ५१३ निको भएका छन् भने ७६ हजार २६२ बिरामीको उपचार जारी छ ।

     

    एक महिनाअघिसम्म २१२ जना संक्रमित भई चार जनाले ज्यान गुमाएको फ्रान्सले कोरोना प्रकोपमा चीनलाई उछिनेको छ । फ्रान्समा ५९ हजार १०५ जना संक्रमित भइसकेका छन् भने ५३८७ को ज्यान गइसकेको छ । फ्रान्समा बिहीबारमात्रै १३५५ जनाले ज्यान गुमाएका छन् ।

    यो हालसम्मकै मृत्यु हुनेको उच्च संख्या हो । यस्तै, इरानमा ५३ हजार १८३ संक्रमित रहेकोमा ३२९४ ले ज्यान गुमाएका छन् भने बेलायतमा पनि ३८ हजार १६८ संक्रमित रहेकोमा ३६०५ को मृत्यु भएको छ । नेदरल्याण्डस्मा १४८७, बेल्जियममा ११४३ र जर्मनीमा ११३८ को ज्यान गइसकेको छ ।

    सुरुवातमा चीनको वुहान सहरको हुनानस्थित सी फुड बजारमा सामान किनमेल गरेर फर्किएका एक ५५ वर्षीय वृद्ध मानिसमा ज्वरो, रुघाखोकी र निमोनिया देखिएको थियो । उक्त संक्रमण नोभेम्बर १७, २०१९ मा देखिएको साउथ मर्निङ चाइना पोष्टले जनाएको छ ।

    त्यसपछि एकाएक बिरामीको संख्या थपिँदै गएपछि सी फुड बजार नै बन्द गरिएको थियो । त्यसपछि जनवरी ९ मा ६१ वर्षीय एक वृद्धको उपचार सम्भव नभएपछि मृत्यु भयो । ती वृद्धको मृत्युको कारण कोरोना भाइरसबाट भएको पुष्टि भएको थियो । त्यस समयमा नेपालमा भने भ्रमण वर्ष मनाउने चटारो परेको थियो ।

    चीनले नयाँ वर्ष (जनवरी २५, २०२०) मनाउने तर्खर गर्दा जनवरी २२ सम्म १७ जना मानिसले ज्यान गुमाइसकेका थिए भने ५०० भन्दा बढी मानिस संक्रमित भएका थिए । त्यसपछि युरोपियन मुलुकहरु झस्किएका थिए । त्यतिबेलासम्म कोरोना भाइरसले एसिया र युरोपमा प्रवेश पाइसकेको थियो । जनवरी २२ मा अमेरिकामा एक ३० वर्षीय युवामा पहिलो संक्रमण यकिन भएको सीएनएनले जनाएको छ । त्यसपश्चात् अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ‘हेल्थ स्क्रिनिङ’ गर्न थालियो ।

     

    चीनमा नयाँ वर्षको बिदाकै दिनसम्म २६ जनाले ज्यान गुमाएपछि हुवेई प्रान्तका १३ सहरमा लकडाउन गरिएको थियो । जनवरी २५ मा पनि पाँच सहरमा आवतजावत र सवारी आवागमनमा पूर्णरुपमा बन्द गरेपछि कम्तीमा ५ करोड ६० लाख मानिस घरभित्रै सीमित भए । चीनमा प्रकोप बढिरहँदा विश्वजगत रमिता हेरिरहेको थियो । जब विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई विश्वव्यापी आपत्काल घोषणा ग¥यो । अनिमात्रै विश्वका अन्य देशहरु व्युँझिएका थिए ।

     

    जनवरी ३० सम्म चीनमा सात हजार बढी संक्रमित भएका थिए भने १७० ले ज्यान गुमाएका थिए । सो अवधिमा भारत र फिलिपिन्समा एक/एक संक्रमित फेला परेका थिए । भारतमा शुक्रबारसम्म २५४२ संक्रमित भएका छन् भने ७२ जनाको ज्यान गएको छ ।

    यस्तै, फिलिपिन्समा २६३३ संक्रमित भएका छन् भने १०७ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले अब दक्षिण एसियाली देशहरुमा उच्च संक्रमण बढ्न सक्ने चेतावनी दिएपछि नेपालले पनि विमानस्थल र सीमा क्षेत्रमा हेल्थ डेक्स स्थापना गर्दै अन्ततः लकडाउन गर्न बाध्य भएको छ ।

     

    शुक्रबारसम्म नेपालमा संक्रमितको संख्या ६ पुगेको छ भने एक जना उपचारपश्चात् निको भएका छन् । भारतमा फैलिँदो संक्रमणले नेपाल पनि उच्च जोखिममा रहेको छ । यस्तो विषम परिस्थितिमा सरकारले लागू गरेको लकडाउन पूर्णरुपमा पालना गरौँ । घरमै क्वारेन्टाइनमा बसौँ, सचेत बनौँ अनि सामाजिक दुरी कायम गर्दै यस ज्यानमारा भाइरसलाई सबै मिलेर परास्त गरौँ ।चितवन पोष्टका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…