• कथा

    बबिता घिमिरे
    म गाउँमा जन्में । गाउँकै रहनसहन, चालचलन र परिवेशमा हुर्कें । लगभग आठ वर्षकी हुन्जेलसम्म त्यही गाउँमा रमाएँ । मेरो बुबा शिक्षक हुनुहुन्थ्यो । बाबुआमाको चाहना छोराछोरीलाई अलिकति सुविधा भएको ठाउँमा लैजाने र गुणस्तरीय शिक्षा दिई असल बनाउने थियो ।

     

    हो, त्यही चाहना सायद वहाँहरूले हामी नजन्मदै गर्नुभएको थियो होला तर बल्ल म आठ वर्ष पुग्दामात्र त्यो सपना साकार पार्न सफल हुनुभयो वहाँहरू । हामी धनकुटाको हुलाकटोलमा घर किनेर बसाइँ सर्यौं । बुबामात्र गाउँमा बस्नुहुन्थ्यो । हामी दाइ, दिदी, आमा र ममात्र धनकुटा आयौं । हामी गाउँमा हुर्केका सहर पटक्कै पचेन । गाउँको याद बरोबर आइरहन्थ्यो । गाउँमा हामी डल्ली, बच्चे, भुन्टी, छलीमाया र साइँलीसँग धुलामा भात पकाइ खेल्थ्यौं, झुम्राको गोल बनाएर ढुङ्गा लडाइ खेल्थ्यौं, बारीका कान्लातिर लुकामारी खेल्थ्यौं ।

     

    स्कूलबाट घर फर्कंदा मानेडाँडामा एकदुई घण्टा जति कपर्दी, डुम, लुकामारी खेल्थ्यौं र साँझमामात्र घर पुग्थ्यौं अनि कोदोको रोटीमा झगडा गथ्र्यौं तर सहरमा डल्ली, बच्चे र भुन्टीहरू थिएनन् । भात पकाइ खेल्नलाई माटो थिएन, ढुङ्गा लडाई खेल्नलाई ढुङ्गा थिएनन् । जताततै सिमेन्टेड् गरिएका रोडहरूमात्र थिए । झुम्राको गोलको साटो भलिबल थियो, स्कूल पुग्नलाई रोडै–रोड पाँच मिनेट लाग्थ्यो । गाउँको जस्तो खेल्नलाई मानेडाँडो थिएन । सहरमा पनि खाजा कोदोको रोटी नै माग्थ्यौं आमालाई ।

     

    वास्तवमा सहरमा हामी कति पनि खुसी थिएनौं । एकदुईदिन छुट्टि भयो भने गाउँतिर कुदिहाल्थ्यौं । कति नै टाढा थियो र धनकुटादेखि हाँङ्गुम पुग्नलाई । कहिले काहीँ त आमालाई ढाँटेर दाइ र म भागेर गाउँ जान्थ्यौं । जे होस् हाम्रा लागि गाउँमा बिताएका पल र गाउँ यति आनन्द थियो कि त्यो आनन्दको बारेमा न त स्वर्गलाई थाहा छ, न त दरबारीया सुखको घमण्ड गर्नेहरूलाई ।

     

     

    समय परिवर्तनशील छ, मूल्यवान छ र स्वार्थी पनि । किनकि समय आफूमात्र परिवर्तन हुन चाहँदैन । संगसँगै हरेक चिजवस्तु र मानवलाई पनि परिवर्तन गर्दै लैजान्छ । मैले आŠनो उमेरसँगै गाउँलाई भुल्दै सहरको रमझममा रुमलिन पुगें । अब मलाई गाउँ जाने त्यत्ति फुर्सद पनि हुन छाड्यो । म कहिले डान्स सिक्न जान्थें, कहिले साइबर क्याफे जान्थें, कहिले कसैको वर्थडे । अलिक लामो समय स्कूल बिदा भयो भने धरानको बूढासुब्बा, दन्तकाली अनि शान्ती वन र हरियाली पार्कतिर घुम्न जान्थें । यति सम्म कि अब त मलाई गाउँमा जन्मिएकी हुँ भन्न पनि लाज लाग्न थालिसकेको थियो । साथीहरूले ‘पाखे’ भन्ने हुन् कि भनेर डर लाग्थ्यो ।

     

    धनकुटाबाट एस.एल.सी. पा स गरेपछि मैले दमक बहुमुखी क्याम्पस पढ्ने मनसाय प्रकट गरें । दिदीको बिहे भइसकेको थियो । दाइ उच्च शिक्षाका लागि काठमाण्डौं गइसक्नु भएको थियो । आमाले “म एक्लै हुन्छु यहीँ पढ छोरी” भनेर धेरै कर गर्नुभयो तर म मानिन । “आमा, घर बसेर प्रगति हुँदैन । प्रगति गर्नलाई घरबाट बाहिर निस्कनै पर्छ । अहिले प्रगति गर्ने समयमा पारिवारिक माया, मोहमा डुबें भने प्रगति गर्न सकिन्न । मेरो यो उमेर भनेको प्रगति गर्ने उमेर हो त्यसैले म अहिले कठोर परिश्रमका साथ प्रगतिको मैदानमा सफलतासँग युद्ध भिड्दैछु, मलाई नरोक्नोस् आमा ।” आमा केही बोल्नु भएन दिनभरी चिन्तित देखें आमालाई । शुक्रबारको दिन भएकोले साँझमा बुबा पनि घर आइपुग्नुभयो ।

     

    “वार्षिक परीक्षा पनि सकियो त स्कूल कतिदिन बिदा हो बुबा ।” “एकहप्ता ।” बुबाले छोटो उत्तर दिनुभयो । मैले हतार–हतार खाना पकाएँ । तीनैजनाले खायौं र आ–आŠनो कोठातिर लाग्यौं । मैले पल्लो कोठामा आमाबुबाले गुनगुन गफ गरिरहेको रेडियो बन्द गरेर चालमारेर सुनें । आमाले दिउँसो आमा र मबीच भएको सबै कुराकानी बुबालाई सुनाउँदै हुनुहुन्थ्यो । बुबाले मलाई दमक पठाउने कुरामा सहमती जनाउनुभयो र पढाई सुरु भइसक्यो भोलि नै पठाउनुपर्छ भनेको सुने खुसीले रातभर निद्रै परेन ।



    बुबाले मलाई दमक लिएर जानुभयो र क्याम्पस मोडमै डेरा खोजेर राखिदिनुभयो । अनि निक्कैबेर अर्ति उपदेश दिनुभयो । बुबाको स्कूल सुरु भइसकेकोले फर्किहाल्नु भयो । म डेरा बसेको पर्सिपल्ट क्याम्पस पुगें । सर्वप्रथम फम भर्नु थियो, म प्रशासनमा गएर फम मागेर भर्न थालें । फम भर्न नजानेर पटक–पटक मेडमलाई सोध्दा झर्केर “त्यति पनि भर्न आउँदैन?” भन्दै गाली गरिन् । मैले दोहोर्याएर सोध्ने आँट गरिन । अलमलिदै फम भर्दै थिएँ, छेउमै एउटा गाउँले केटो उभिएको थियो म अलमलिएको देखेर उसले यहाँ यस्तो भर्नु, यहाँ यस्तो, यहाँ..... भनेर सिकाउँदै गयो । हेर्दा त नपत्याउँदो सोझो देखिन्थ्यो तर उसको चतुर्याइँदेखि म छक्क परें । म सहरको रमझममा भुलिएकी मान्छे गाउँलेलाई वास्ता पनि गर्दिनथें तर उसले मलाई ठूलै गुन लगाए जस्तो लाग्यो मलाई ।

     

     

    हामीले परिचय गर्यौं । उसको नाम चित्रवहादुर रहेछ । सबैले उसलाई चित्रे–चित्रे भनेर बोलाउँदारहेछन् । ऊ एकदमै चन्चले, बाठो र जोकर थियो । ऊ गाउँका के–के कुरा सुनाउँदै अरुलाई आश्चर्य चकित पाथ्र्यो । त्यतिबेला मलाई म पनि गाउँले हुँ भन्न मन लाग्थ्यो । अलिअलि गर्दै मेरो ध्यान चित्रेतर्फ तानिन थाल्यो । त्यसैले होला ऊ त धेरै नजिकको साथी लाग्न थाल्यो मलाई । मलाईमात्र होइन चित्रे एकदिन कलेज आएन भने सबैलाई चासो हुन्थ्यो । पर्सिदेखि जाडो बिदा भनेर सरले सूचना सुनाउनु भयो । भोलिपल्ट चित्रे आएन । हामीले आजै घर गयो क्यारे भन्ने अड्कल काट्यौं । त्यसदिन मलाई टाउको दुःखेकाले अन्तिम घण्टी नपढी कोठामा आएँ अनि खाना पकाएर खाएँ र बेलुकाको आठ बजे नै सुतें । निक्कैबेर निद्रा परेन, चित्रेलाई निक्कैबेर सोचें । ‘साह्रै रमाइलो मान्छे थियो, कलेजमा कहिल्यै दिक्क नलाग्ने, हँसाइरहन्थ्यो अब कतिदिनमा भेट हुने हो । हैन, मलाई चित्रेको यादले किन यति धेरै सताउँछ, आखिर को हो चित्रे मेरो? के म चित्रे प्रति आकर्षित हुँदैछु? अनेक कुरा खेलाउँदै सिरकमा गुटुमटुु परें ।

     

     

    ‘चित्रेले मलाई “मेरो गाउँ जाऊँ” भन्यो । मैले सजिलै सहमतिमा टाउको हल्लाएँ । मैले उसको गाउँ कति टाढा छ ख्यालै गरिन । जब हामी लेटाङदेखि उकालो चढ्यौं, म थकित भएर हिँड्नै सकिन । मैले चित्रेको हात समातें । बाटामा चित्रेले ‘यो लालीगुराँसको बोट हो, यो कटुसको रुख हो, यो हर्राको बोट हो, अनि त्यो कुहु–कुहु आवाज निकाल्ने कोइली चरी हो’ भन्दै चिनाउँथ्यो । म “अँ मलाई पनि थाहा छ, भनिरहनु पर्दैन” भन्दै झर्किन्थें । ‘तिमी त सहरमा हुर्केकी मान्छे, खुल्ला आकाश त राम्रोसँग देखेकी थिइनौ होला १ यस्ता बोटबिरुवाहरू र कोइली भाका कसरी चिन्छ्यौ त? थाहा छ हामी त जूनसँग खेलेर हुर्केका । आकाशमा जूनलाई हेर्दै कहिले जूनलाई पछ्याउँथ्यौं, कहिले जूनले हामीलाई पछ्याउँथ्यो ।’ चित्रेले त्यसो भन्दा मलाई गाउँको याद झलझली आयो । मलाई कसैले ‘पाखे’ भने खुसी हुन्छु जस्तै लाग्यो । वास्तवमा हामी गाउँमा जन्मिएर गाउँले जीवन भोग्न पाउनेहरू त साँच्चै महान पो रहेछौं । मलाई गाउँमा जन्मिएकोमा मन–मनै गर्व लागिरहेको थियो । मैले ठट्टाको पारामा चित्रेलाई “आज हामी जूनसँग खेल्ने है” भने । चित्रेले हाँस्दै ‘आजदेखि औंसी सुरु भयो’ भन्यो ।

     

     

     

    हिँड्दा–हिँड्दै म अनेकौं कुरा सोच्दै एकोहोरिएछु । चित्रेले झस्काउँदै सोध्यो ‘ल सबै थाहा हुनेले भन त यो चाहीँ केको रुख हो्?’ भन्दै खनिउँको रुख देखायो । मैले हत्तपत्त “खनिउँ” भनें । सानै छँदा खनिउँका बोट वरिपरि घुम्दै झिक्राले खनिउँ कोट्याएर खाएको सम्झँदै थिएँ । चित्रेले मलाई फेरि पनि एउटा पहेंलो–पहेंलो सेतो–सेतो फूल फुलेको रुख देखाएर ‘यो केको रुख हो?’ भन्दै सोध्यो । म कति सम्झन खोज्छु नामै आएन । अनि टार्दै भनें “यहाँ आफूलाई कस्तो भोक लागिरहेको छ, पहिले खाजा खाने ठाउँ आइपुगोस् अनिमात्र भन्छु ।

     

    ” भनेर घुर्की लगाएँ, अनि त्यो बोटको नाम सम्झने प्रयास गर्न थालें । यति सम्म थाहा छ मलाई त्यो बोटको बारेमा, आँपका भन्दा अलि ठूला, लाम्चा पात, ठूलो रुख, सेतो–सेतो पहेंलो–पहेंलो फुलेको, एकखालको मिठो वस्ना आउने । गाउँमा हुँदा हाम्रा हजुरबाले हामीलाई एउटा डाली दिएर पूजाका लागि टिप्न पठाउनु हुन्थ्यो । हामी रुखमा चढ्न नसकेर भूइँमा झरेका टिपेर ल्याउँथ्यौं । यतिसम्म थाहा हुँदा–हुँदै पनि, कति प्रयास गर्दा पनि सम्झन सकेकी थिइन । म यसो उकालो हेर्छु अलि माथि एउटा खाजा खाने ठाउँ टुक्रेपनि देखिँदै हुन्छ ।

     

    त्यहाँ नपुगी मैले चित्रेलाई त्यो फूलको नाम बताउनु थियो ।’ “भूकम्प” म एक्कासी चिच्याएछु अनि यताउती हेरें । मोबाइल भाइब्रेसनमा थियो । बिहानको पाँच बजिसकेछ । उही चित्रेको मिस्कलले खाट थर्किँदा केहीदिन अगाडि आएको भूकम्पको झ–झल्कोले “भूकम्प” भन्दै चिच्याएर ब्यूँझेछु ब्यूँझिने बित्तिकै मैले सपनामा सम्झन नसकेको फूलको नाम सम्झें ‘चुवा’ । म बेलुुका टाउको दुखेर बेलैमा चित्रेलाई सम्झँदै सुतेकाले यस्तो सपना देखेँछु । तर मलाई ब्यूँझेकोमा पश्चाताप लाग्यो किनकि मैले सपनामा चित्रेलाई ‘चुवा’ भन्नै नपाई ब्यूँझिएँ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…