उर्लाबारी । उर्लाबारी नगरपालिकाले १६ सय २५ परिवारलाई राहत वितरण गरिसकेको छ ।
जनप्रतिनिधिसहित वडाका सर्वदलीय समितिमार्फत सिफारिस भएका परिवारलाई पहिलो चरण र दोस्रो चरण गरी सो राहत वितरण गरिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरेका अनुसार राहत वितरणका लागि वडा कार्यालयमा पठाइसकिएको छ । घरमा केही नहुनेलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरिएको उहाँको भनाई छ । अधिकांश वडाले दोस्रो चरणमा पठाएको राहतसमेत वितरण गरिसकेका छन् भने केही वडामा वितरण हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । तेस्रो चरणको राहत पनि चाँडै वितरण गरिने नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो ।