•  

    द न्यूयोर्क टाइम्स

    मार्चको पहिलो सप्ताहन्त मनाएर सोमबार अफिस आउँदा अमेरिकास्थित बायोजेन कम्पनीका प्रमुख कार्यकारी मिसेल भुनासोस एकदमै उत्साहित देखिएका थिए।

    वर्षौंअघि उनले जुन काममा हात हालेका थिए, त्यसले बल्लतल्ल सफलताको संकेत देखाउँदै थियो।

    बायोजेन भनेको संसारकै एक प्रमुख औषधि उत्पादक कम्पनी हो। लामो समयदेखि यो कम्पनी अल्जाइमर्सको औषधि पत्ता लगाउने अनुसन्धानमा लागेको थियो। निरन्तर खोज र अथक प्रयासपछि पनि सफलताको रोशनी भेटिएको थिएन।

    अन्ततः यो वर्ष प्रारम्भसँगै केही सकारात्मक लक्षण देखिए। कम्पनीको गुमेको साख फर्किन थाल्यो। सेयर मूल्य पनि बढ्यो। आम्दानी त यति उच्च विन्दुमा कहिल्यै पुगेको थिएन।

    यसै क्रममा मार्च पहिलो साता बोस्टनमा आयोजित स्वास्थ्य सम्मेलनमा मिसेलले अल्जाइमर्स औषधि खोज्न कम्पनीले तय गरेको 'उल्लेखनीय यात्रा' सगर्व विस्तार लगाए।

    सम्मेलनमा सहभागीहरूले उनलाई सोधेका थिए, 'चीनमा महामारीको रूप लिएको कोरोना भाइरसले कम्पनीको आपूर्ति प्रणाली र भावी योजना अवरुद्ध पार्ने खतरा छ कि छैन?'

    'छैन,' मिसेलले छोटो उत्तर दिए।

    अगाडि भने, 'अहिलेसम्म हाम्रो आपूर्ति प्रणाली र अल्जाइमर्सको औषधि बजारमा ल्याउने योजना सब ठीकठाक चल्दैछ।'

    उनी जति बेला यस्तो दाबी गर्दै थिए, कोरोना भाइरस बायोजेन कम्पनीकै वरिष्ठ कार्यकारीहरूमा गुपचुप सल्किसकेको थियो।

    केही दिनअघि मात्र कम्पनीको वार्षिक 'लिडरसिप' बैठक बसेको थियो, जसमा अमेरिकाका विभिन्न राज्यबाट वरिष्ठ कार्यकारीहरूले भाग लिएका थिए। बैठकमा भावी योजनाको तानाबाना बुन्दै गर्दा कोरोना भाइरसले सुटुक्क आफ्नो लपेटमा लिएको उनीहरूले पत्तै पाएनन्।

    बैठक सकेर बायोजेनका कर्मचारी आ–आफ्नो राज्य फर्कन खचाखच जहाज चढे। विमानस्थलबाट घर फर्के र परिवारसँग फुर्सदिलो समय बिताए।

    त्यति बेला उनीहरूलाई के थाहा, 'लिडरसिप' बैठकबाट उनीहरूले नेतृत्वको मन्त्र मात्र सिकेर आएका थिएनन्, आफ्नो शरीरभित्र कोरोना भाइरस पनि बोकेर आएका थिए।

    उक्त बैठकमा राजधानी वासिङ्टन डिसीसहित अमेरिकाका छ राज्य र तीन युरोपेली देशका प्रतिनिधि सामेल थिए। उनीहरूसँगै ती सबै ठाउँमा भाइरस फैलियो, जसलाई पहिचान गर्नु स्वास्थ्य अधिकारीहरूको निम्ति फलामको च्यूरा चपाउनुसरह थियो।

    बायोजेनको बैठक एउटा उदाहरण हो, जसले अमेरिकामा कोभिड–१९ फैलाउने 'माध्यम' को काम गर्‍यो। सुरूआती दिनहरूमा सानो–सानो समूहमा भएका यस्ता थुप्रै बैठकले देशभरि संक्रमण फैलाउन ठूलो भूमिका खेलेको सरुवारोग विशेषज्ञहरू बताउँछन्।

    तीमध्ये बायोजेन बैठक अरूभन्दा भिन्न छ, जसमा रोगविरुद्ध लड्ने स्वास्थ्य सेवाका विशेषज्ञ तथा पेसाकर्मी नै रोग फैलाउने कारण बनेका छन्।

    'स्वास्थ्य उपचार र औषधि उत्पादनको क्षेत्रमा काम गर्ने व्यक्तिहरू नै भाइरस संक्रमणको उच्च जोखिमबारे बेखबर देखिए,' बायोटेक उद्योगबारे रिपोर्टिङ गर्दै आएको एन्डप्वान्ट न्यूजका सम्पादक जोन क्यारेलले भने, 'यसले विस्तारै सिंगो अमेरिकालाई भाइरसग्रस्त बनायो।'

    म्यासाचुसेट्स जनस्वास्थ्य विभागका अनुसार, उक्त बैठकमा सामेल ९९ जना कर्मचारीलाई भाइरस संक्रमण थियो। यो तथ्यांक म्यासाचुसेट्स राज्यमा बस्नेहरूको मात्र हो। देशभरिबाट आएका कर्मचारीलाई आधार मान्ने हो भने संख्या अझै धेरै हुन्छ।

    उदाहरणका लागि, इन्डियाना राज्यमा पहिलोचोटि फेला परेका दुई जना बिरामी बायोजेनका कार्यकारी नै थिए। उनीहरू उक्त बैठकमा भाग लिएर फर्केका थिए।

    त्यस्तै, दक्षिणपूर्वी राज्य टेनेसीमा पुष्टि भएको पहिलो कोरोना बिरामी र उत्तरी क्यारोलिनामा सुरूका छ जना बिरामी पनि बायोजेनका कार्यकारी थिए।

    न्यूयोर्क टाइम्सले म्यासाचुसेट्स बाहिरका यी कोरोना बिरामीलाई सम्पर्क गर्दा उनीहरू सबै निको भएको पाइयो। तर, उनीहरूले कति जनालाई रोग सारे, तीमध्ये कति जना गम्भीर बिरामी भए र कतिको मृत्यु भयो भन्ने तथ्यांक छैन।

    स्वास्थ्य क्षेत्रमै काम गर्ने बायोजेनजस्तो कम्पनीले कोरोना संक्रमणको जोखिम जान्दाजान्दै फेब्रुअरी अन्तिममा 'लिडरसिप' बैठक डाकेकोमा धेरैले आलोचना गरेका छन्।

    उक्त बैठकमा युरोपेली मुलुकहरूबाट उपाध्यक्ष तहका कार्यकारीले पनि भाग लिएका थिए। ती युरोपेली मुलुकमा त्यति बेलै कोरोना महामारी फैलिसकेको थियो। यही कारणले औषधि उद्योगसँग सम्बन्धित व्यक्तिहरू महामारीलाई बेवास्ता गरेको भन्दै बायोजेनको गल्ती औंल्याउँछन्।

    अहिले बायोजेन कम्पनीका कम्तिमा दुई जना वरिष्ठ कार्यकारीलाई कोरोना पोजिटिभ देखिएको छ। व्यक्तिगत गोपनीयताका कारण कम्पनीले उनीहरूको नाम सार्वजनिक गर्न मानेन। बायोजेनकै अन्य केही प्रमुख कार्यकारीले भने आफूलाई कोरोना पोजिटिभ देखिएको सार्वजनिक गरेका छन्।

    यसबारे बायोजेनका प्रमुख कार्यकारी मिसेलसँग सोध्दा उनले आफ्नो कोभिड–१९ परीक्षण भए–नभएको बताउन अस्वीकार गरे।

    'उहाँ कर्मचारीको सुरक्षामा बढी केन्द्रित हुनुहुन्छ। बिरामीलाई औषधि आपूर्ति गर्न र यो संकटको घडीमा कम्पनीलाई नेतृत्व दिनमा व्यस्त रहनुहुन्छ,' बायोजेनका प्रवक्ता डेभिड कोटेले भने, 'उहाँको व्यक्तिगत स्वास्थ्यभन्दा समग्र कम्पनीको काम–कारबाही बढी महत्वपूर्ण छ।'

    कम्पनीले कोरोना महामारी सुरू भइसकेका बेला फेब्रुअरी अन्तिममा 'लिडरसिप' बैठक राख्नुको पनि बचाउ गरेको छ। त्यति बेला उपलब्ध सूचनाका आधारमा आफूले सही निर्णय लिएको कम्पनीको भनाइ छ।

    'जुन कम्पनीको उद्देश्य नै मान्छेको जीवन बचाउनु हो, त्यही कम्पनीका कर्मचारी र समग्र समुदायलाई रोगसँग जुधिरहेको हेर्नु हाम्रो निम्ति दुःखको कुरा हो,' बायोजेनको उक्त बैठकपछि मिसेलले पहिलो सार्वजनिक प्रतिक्रियामा भनेका छन्, 'हामीले जानाजान कसैको स्वास्थ्य दाउमा लगाएका थिएनौं।'

    सन् १९७८ मा बोस्टनमा स्थापित बायोजेनलाई जैविक प्रविधि क्षेत्रमा अग्रणी उद्योग मानिन्छ। यसले विभिन्न किसिमका औषधि उत्पादन गर्दै आएको छ। पछिल्लो समय अल्जाइमर्स उपचारमा आशावादी नतिजा देखाएपछि यो कम्पनी बढी चर्चामा आएको थियो।

    कम्पनीको अनुसन्धान क्रममा रहेको औषधि अल्जाइमर्स निको पार्न 'वरदान' हुनसक्ने मानिएको थियो। एक वर्षअघि ठूलो स्तरमा परीक्षण गरेपछि कम्पनीले आफ्नो प्रयास असफल भएको घोषणा गर्‍यो। यसले अल्जाइमर्सका बिरामी निराश भए। कम्पनीको सेयर मूल्य धराशयी भयो।

    तर, यो वर्षको सुरूआतमै कम्पनीले फेरि नयाँ आशाको सञ्चार गरायो। उच्च मात्राको औषधि खुवाउँदा धेरै बिरामीमा सकारात्मक नतिजा देखिएको बायोजेनले घोषणा गर्‍यो।

    'हामी यसपालि निकै सकारात्मक छौं,' मिसेलले भने, 'यो नयाँ औषधिलाई 'फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन' (अमेरिकाको खाद्य तथा औषधि नियमन विभाग) ले जतिसक्दो छिटो अनुमति दिनेमा आशावादी छौं।'

    उनको यो घोषणालगत्तै कम्पनीको सेयर मूल्य ह्वात्तै बढ्यो। वार्षिक राजस्व १४ अर्ब ४० करोड डलर पुग्यो।

    फेब्रुअरी २६ र २७ मा 'लिडरसिप' बैठक हुने बेलासम्म कम्पनीको मनोबल एकदमै उच्च भइसकेको थियो। बैठकमा सहभागी कार्यकारीहरू नयाँ औषधि र भावी रणनीतिबारे छलफल गरेर उत्साहित हुँदै फर्केका थिए। उनीहरूलाई संसारभरिबाट ओइरिने औषधिको डेलिभरी अर्डर पूरा गर्नुपर्ने चुनौती पनि थियो।

    यही उत्साहले हुनसक्छ, कोरोना महामारीको त्रासबीच केही अन्य कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय सम्मेलन रद्द गर्दा पनि बायोजेनले यसबारे छलफल नै गरेन।

    त्यही बेला चीनमा महामारी तीव्र गतिले बढ्दै थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने यसलाई 'विश्वव्यापी महामारी' घोषणा गरिसकेको थिएन।

    बैठक हुनुअघि फेब्रुअरी २१ सम्म अमेरिकामा जम्मा ३० जना कोरोना बिरामी फेला परेका थिए। उता, जर्मनी, स्विट्जरल्यान्ड र इटालीमा २० जनामा संक्रमण पुष्टि भएको थियो। बैठक तय भएपछि यी तीन युरोपेली मुलुकका बायोजेन कार्यकारीहरूले अमेरिका उड्न सुटकेस बाँधे।

    बोस्टनको मेरियट लङ वार्फ होटलमा पहिलो रात आयोजित रात्रिभोजमा करिब १७५ जना कार्यकारी सामेल थिए। एक वर्षयता पहिलोचोटि भेटेका सहकर्मीहरूले उत्साहित हुँदै एकअर्कासँग हात मिलाए। गिलास चियर्स गरे। युरोपबाट आएकाहरूले त आफ्नो चलनअनुसार दुवै गालामा चुम्बन गरेर पनि अभिवादन साटे।

    [caption id="attachment_80056" align="alignnone" width="944"] बोस्टनको मेरियट लङ वार्फ, जहाँ आयोजित रात्रिभोजमा करिब १७५ जना कार्यकारी सामेल थिए। तस्बिर: न्यूयोर्क टाइम्स[/caption]

    'दुर्भाग्यले त्यो बैठक अमेरिकामा कोरोना भाइरस फैलाउने थलो बन्यो,' बायोजेनका एक पूर्व उपाध्यक्षले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने।

    दुई दिनपछि कम्पनीका वरिष्ठ कार्यकारीहरू आ–आफ्नो अफिस फर्के। एक जना उत्तरी क्यारोलिनास्थित कारखानामा गए। युरोपबाट आएकाहरू उतै फर्के।

    विभागीय प्रमुख पिटर बेर्गेथोनको घरमा उनकी श्रीमती थिइन्, जो सरुवारोग डाक्टर हुन्। अर्कातिर, कम्पनीका एक उपाध्यक्ष र उनका श्रीमान भोलिपल्ट राति प्रिन्सटन, न्यूजर्सीमा आयोजित एउटा पार्टीमा सामेल भए, जसमा ४५ जना मान्छे थिए।

    उक्त पार्टीमा कसै–कसैले कोरोनाका कुरा निकाले। तर, उनीहरू चिन्तित थिएनन्, किनकि डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस संक्रमण पूर्ण रूपले नियन्त्रित रहेको घोषणा गरिसकेका थिए।

    त्यसै रात बायोजेनको 'लिडरसिप' बैठकको फोटो खिचेका फोटोग्राफर एलाना टारन्टोले आफ्ना प्रेमी र अन्य केही जोडीलाई डाकेर ४२ औं जन्मदिन मनाइन्।

    त्यसै साताको अन्ततिर आइपुग्दा कम्पनीका केही व्यक्ति बिरामी पर्न थालिसकेका थिए।

    बायोजेनको अल्जाइमर्स औषधि उत्पादन गर्ने समूहका सदस्य ३७ वर्षीय जे लीलाई त्यसै सप्ताहन्तबाट चिसोले ज्यानमा काँडा उम्रिन थाल्यो। उनलाई खोकी पनि लाग्यो, जीउ पनि दुख्यो। तर, उनले 'लिडरसिप' बैठकमा भाग लिएकी थिइनन्। उनी त्यसका लागि एकदमै जुनियर थिइन्। उनका हाकिम भने गएका थिए र फर्किनेबित्तिकै अफिसमा उनीहरूको भेट भएको थियो।

    मार्च २, सोमबारको दिन कम्पनीका प्रमुख मेडिकल अफिसरले 'लिडरसिप' बैठकमा भाग लिएका सबैलाई एउटा इमेल पठाए, जसमा भनिएको थियो– 'बैठकमा सामेल केही व्यक्ति बिरामी परेको खबर छ। तपाईंहरूलाई पनि बिसन्चो छ भने स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोला।'

    यता स्वास्थ्य सेवासम्बन्धी यस्तो 'अलर्ट' जारी भएको थियो, उता त्यसै दिन कम्पनीका चार जना उच्च अधिकारी बोस्टनमा आयोजित स्वास्थ्य सम्मेलनमा भाग लिँदै थिए।

    अर्का केही कर्मचारी बोस्टनको मेरियट होटलको कोठामा सम्भावित लगानीकर्ताहरूसँग छलफल गर्दै थिए। ती लगानीकर्तामध्ये केहीले भनेअनुसार, त्यस दिन बायोजेन टिमका सदस्यहरू बिरामी देखिएका थिए।

    स्वास्थ्य सम्मेलनमा स्वाभाविक रूपले कोरोना भाइरसको कुरा उठ्यो। भर्टेक्स, सियाटल जेनेटिक्स लगायत केही कम्पनीका प्रतिनिधि कोरोनाकै डरले उक्त सम्मेलनमा आएका थिएनन्।

    सम्मेलनको दोस्रो दिन मंगलबार अधिकांश सहभागीले एकअर्कासँग हातधरि मिलाएनन्। पछि सम्मेलनमा भाग लिएका बायोजेनका चार जनामध्ये दुई जनालाई कोरोना पुष्टि भयो।

    'थुप्रै कर्मचारी बिरामी हुँदा पनि कोभिड–१९ नै भएको हो भन्ने हामीलाई थाहा थिएन,' मिसेलले भने।

    त्यसै साता मंगलबार बायोजेनले म्यासाचुसेट्सको जनस्वास्थ्य विभागलाई सम्पर्क गरेर बोस्टन र विदेशमा रहेका आफ्ना ५० जना कर्मचारीमा रुघाखोकी लक्षण देखिएको जानकारी गरायो। बायोजेनका कर्मचारी धमाधम म्यासाचुसेट्स जनरल अस्पतालको आकस्मिक उपचार कक्षमा देखिन थाले।

    सुरूमा उपचारमा संलग्न चिकित्सकले पनि उनीहरूलाई कोभिड–१९ भएको हुनसक्ने आशंका गरेनन्। किनभने, उनीहरू न रोगको महामारी फैलिएको मुलुकबाट आएका थिए, न हालसालै ती मुलुकबाट फर्केकाहरूको उनीहरूसँग सम्पर्क भएको थियो।

    अर्को दिन एउटा दुःखपूर्ण खबरले सबै जना झस्के।

    'लिडरसिप' बैठकमा भाग लिएर जर्मनी र स्विट्जरल्यान्ड फर्केका दुई जना बायोजेन कार्यकारीलाई कोरोना संक्रमण पुष्टि भयो।

    बिहीबारको दिन कम्पनीले आफ्ना सबै कर्मचारीलाई फोन गरेर उक्त सूचना दियो। र, सबैलाई घरबाटै काम गर्न निर्देशन पनि जारी गर्‍यो।

    त्यसै दिन बायोजेनका एक कार्यकारी भने अमेरिकाका औषधि उत्पादकहरूको सर्वोच्च संस्था 'फर्मास्युटिकल रिसर्च एन्ड म्यानुफ्याक्चर्स अफ अमेरिका' को वासिङ्टन कार्यालय पुगेका थिए। लगत्तै ती कार्यकारीलाई कोरोना परीक्षण गर्दा 'पोजेटिभ' नतिजा आयो। यसले उक्त संस्थाको प्रधान कार्यालय तत्काल बन्द गरी 'स्यानिटाइजेसन' गरियो।

    बायोजेन कर्मचारी निम्ति त्यसपछिका केही साता अन्यौलपूर्ण रहे। उनीहरू हरेक दिन एकअर्कालाई फोन गर्थे र को–को बिरामी परे भन्ने खबर बुझ्थे।

    'लिडरसिप' बैठकबाट फर्केका विभागीय प्रमुख पिटर बेर्गेथोनले आफ्नी सरुवारोग विशेषज्ञ श्रीमतीलाई संक्रमित पारे। उनीहरू दुवैलाई सामान लक्षण देखिएको थियो, तर त्यसले ल्याएको तनाव भने ठूलो थियो।

    'हामी निको हुन्छौं कि हुन्नौं भन्ने नै थाहा थिएन,' पिटरले भने, 'अब के होला भन्ने अन्यौल थियो।'

    त्यही बैठकमा फोटो खिचेका फोटोग्राफर एलाना टारन्टोले आफ्नो जन्मदिनको पार्टीमा आएका एक जना साथीलाई थाहै नपाई रोग सारिन्। त्यति बेलासम्म एलानालाई भने कुनै लक्षण देखिएको थिएन।

    प्रिन्सटन, न्यूजर्सीको पार्टीमा सामेल चार दर्जनभन्दा बढी सहभागीमध्ये कम्तिमा १५ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    उता, टेनेसी राज्यमा पहिलो कोभिड–१९ संक्रमित व्यक्ति बायोजेनका कार्यकारी क्रिस बौमागर्टन भए।

    'म टेनेसीको 'पेसेन्ट–जीरो' हुँ,' उनले आफ्नो फेसबुकमा लेखे, 'संसारभरि महामारीका रूपमा फैलिएको र सबैतिर आतंक मच्चाइरहेको भाइरसबाट तपाईं आफैं ग्रस्त हुनुहुन्छ भन्ने थाहा पाउँदा कस्तो अनुभव होला?'

    यति मात्र होइन, इन्डियाना र उत्तरी क्यारोलिनामा फेला परेका सुरूआती बिरामीहरू यही कम्पनीसँग सम्बन्धित थिए। बायोजेनका कर्मचारी जे लीले त यो भाइरस चीनमा समेत फर्काएर लगिन्।

    कोरोना लक्षणसहित बिरामी परेपछि उनले एम्बुलेन्स डाकेर भाइरस परीक्षण गराएकी थिइन्। तर, त्यसको नतिजा नआउँदै उनले बेइजिङको टिकट काटिन् र आफ्नो श्रीमान र छोरासँग जहाज चढिन्।

    उनी १५ वर्षको अमेरिका बसाइपछि आफ्नो सेतो बिएमडब्लू र घर छाडेर सपरिवार चीन फर्केकी थिइन्।

     

    [caption id="attachment_80057" align="alignnone" width="705"] बायोजेनकी कर्मचारी जे लीको घर। उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै सपरिवार बेइजिङ फर्केकी थिइन्। तस्बिर: न्यूयोर्क टाइम्स[/caption]

    'सायद उनीहरू एकदमै आत्तिएका थिए,' लीका श्रीमानसँग निकट आइवा स्टेट युनिभर्सिटीका डा. विलियम क्यू मिकेरले भने।

    विलियमका अनुसार, उनीहरू आफ्नो दुई वर्षीय छोराको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित थिए।

    त्यही चिन्ताले उनलाई आफ्नो कोरोना परीक्षण रिपोर्ट कुर्ने धैर्य पनि भएन। बेइजिङ फर्केको केही सातापछि उनको घरको ढोकामा स्वास्थ्य विभागको तर्फबाट जारी चिठी टाँसिएको थियो।

    लीले कोरोनाको लक्षण देखिनासाथ प्रारम्भिक दवाई खान थालिसकेकी थिइन्। एअर चाइनाले बताएअनुसार, बेइजिङका निम्ति जहाज चढेपछि उनले उडान कर्मचारीहरूलाई आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएकी थिइन्।

    चीनमा अवतरण गरेपछि स्वास्थ्य अधिकारीहरूले उनलाई सरुवारोग रोकथामसम्बन्धी कानुन उल्लंघन गरेको भन्दै परीक्षणमा राखे। यो आरोप पुष्टि भए सात वर्षसम्मको जेल सजाय हुनेछ।

    बोइजिङ पुगेपछि ली र उनका श्रीमानलाई उच्च ज्वरो आयो। फोक्सोमा संक्रमण पनि देखियो। उनीहरू अस्पताल भर्ना भए।

    कोरोना संक्रमण पुष्टि भएका बायोजेनका सबै कर्मचारी निको भइसकेका छन्। बेइजिङ गएकी लीबाहेक अरू काममा फर्किसकेको कम्पनीले जनाएको छ।

    त्यसयता बायोजेन कोरोना भाइरसविरुद्धको लडाइँमा सामेल भएको छ। कम्पनीले कोरोना परीक्षण विस्तार गर्न र अस्पतालका कर्मचारीलाई आकस्मिक खानेकुरा तथा सुरक्षा साधन उपलब्ध गराउन १ करोड डलर चन्दा दिएको छ।

    कम्पनीका अधिकारीहरू महामारीविरुद्ध आफ्नो लडाइँ सुरू भएको बताउँछन्। कम्पनीले कोभिड–१९ को औषधि उत्पादन गर्न वीर टेक्नोलोजीसँग सहकार्य बढाएको छ। यो सहकार्य सफल भयो भने कम्पनीको निम्ति असीमिति आर्थिक लाभको ढोका खुल्नेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…