धनुषा,१३ माघ । धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान रहेको प्रहरीले जनाएको छ । सुमोमा सवार ११ यात्रु थिए ।
पाँचथरमा जीप खस्दा २ जनाको ज्यान गयो
त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार, दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।