काठमाडौं, ९ बैशाख । मंगलबार उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण देखिए पछी एक नम्बर प्रदेश सरकारले कडा कदम चालेको छ । प्रदेशमा थप संक्रमण फैलिन नदिन एक नम्बर प्रदेश सरकारले उदयपुर जिल्ला सिल गर्ने निर्णय गरेको छ ।
‘जिल्लाबाट अन्य ठाउँमा र अन्य ठाउबाट उदयपुरमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय गरेको हो । उनीहरुमा कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परिक्षणमा पोजिटिभ देखिए पछी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परिक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको हो ।
जिल्ला सिल गर्ने निर्णय भएसंगै अब त्यहाँबाट अन्त जान पाइने छैन भने अन्तबाट उदयपुर जिल्ला समेत प्रवेश गर्न पाइने छैन । यसअघि पनि उदयपुरमा १३ जनामा कोरोना संक्रमण देखिएको थियो।
मंगलबार थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ । यी मध्ये ४ जना उपचारपछि निको भइसकेका छन् ।