•  

    झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आउनुभएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्न् ठूलो चिन्ता छ ।

    कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उहाँले अटो रिक्सा चलाउन पाउनुभएको छैन । अटो रिक्सा चलाउन नपाएसंगै उहाँलाई घर खर्च टार्न र अटो रिक्साको किस्ता तिर्न समस्या भएको हो । “प्रत्येक महिना किस्ताबापत रु १५ हजार तिर्नु पर्छ”, उहाँले भन्नुभयो, “एक महिनादेखि अटो रिक्सा घरमै बस्यो अब कसरी किस्ता तिर्ने ।”

    अटो रिक्सा चलाएर दैनिक रु एक हजारदेखि १५ सयसम्म कमाई गर्दै आउनुभएका तिम्सिनाले मासिक रु २० हजार किस्ताका लागि छुट्याएर बाँकी रकमले मुस्किलले घर खर्च टार्दै आउनुभएको थियो । तर, अटो रिक्सा नै नचलेपछि अहिले उहाँलाई घर खर्च चलाउन समेत धौ–धौ छ । तिम्सिनाले भन्नुभयो, “मुलुकमा लकडाउन छ, बालबच्चा स–साना छन्, एकातिर उनीहरुलाई कसरी खुवाउने चिन्ता छ, अर्कोतिर त्यो भन्दा ठूलो चिन्ता यो महिनाको किस्ता कसरी तिर्ने हो भने छ ।”

    पाँच वर्षअघि रोजगारीको खोजीमा कतार गएका तिम्सिनाले विगत सम्झदै भन्नुभयो, “यहाँ मेनपावरले भनेजस्तो कतारमा काम र कमाइ नपाइएपछि लगत्तै घर फर्कनु प¥यो । कतार जाँदा लागेको ऋण पनि तिर्न नसकी घर फर्कनु परेपछि पुनः भारतको सिक्किम गएँ । सिक्किममा झण्डै दुई वर्ष काम गरे । जसोतसो ऋण तिरेर स्वदेशमै केही गरौला भन्ने सोचका साथ नेपाल फर्किएर अटो रिक्सा किनेर कुदाउन थालेको हुँ । तर, लकडाउनले समस्या माथि समस्या थपेको छ ।”

    उहाँको जस्तै समस्या छ झापाको अर्जुनधारा नगरपालिका – १ का लोकवहादुर फुयाल र हरि वहादुर वस्नेतलाई पनि । ऋणमा लिएको अटो चलाएर परिवार पाल्दै आएको थिए लोकवहादुरले भन्नुभयो, “एक महिनादेखि घरमै बस्दा समस्या माथि समस्या थपिएका छन् । अटो रिक्सा कुदाउन पाएको भए दुई चार पैसा आम्दानी हुन्थ्यो । अहिले हात पनि खाली छ घरमा भएको अन्नपात सबै सकियो, किस्ता तिर्न त परको कुरा हो, कसरी खाने भन्ने नै ठेगान नै छैन ।”

    बस्नेतको पनि उस्तै समस्या छ । मासिक रु १३ हजार पाँच सय किस्ता तिर्दै आउनुभएका उहाँले पनि अटो चलाएर नै घर खर्च टार्दै आउनुभएको थियो । तर, अहिले मुलुक पूर्ण रुपमा एक महिनादेखि लकडाउनमा रहेकाले उहाँलाई पनि घर चलाउन समस्या भएको हो । मुलुक लकडाउन भएसंगै झापाका झण्डै दुई हजार अटो रिक्सा चालकको अवस्था करिब करिब उस्तै छ । अधिकांशले अटो रिक्सा किस्तामा लिएर चलाउँछन् । उनीहरुले साप्ताहिकदेखि मासिक रुपमा किस्ता वुझाउँदै आएका छन् ।

    लकडाउनका कारण रिक्सा चालकको मात्र होइन, व्यवसायीको पीडा पनि उस्तै छ । अधिकांश व्यवसायी अहिले लामो समयसम्म मुलुक लकडाउन हुँदा निरास छन् । कारोवार नै ठप्प भएपछि घर भाडा र बैंकको व्याज कसरी तिर्ने भन्ने व्यवसायीमा चिन्ता छाउँदै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो । “करोडौं रुपैयाँ बंैकबाट व्याजमा लिएर अटो रिक्सा खरिद गर्दै किस्तामा बिक्री गरिएको छ”, हलेसी ट्रेड लिङ्क बिर्तामोड प्रालिका सञ्चालक चुडामणि पौडेलले भन्नुभयो, “मजदूरले अटो रिक्सा कुदाउन नपाएपछि उनीहरुले कसरी किस्ता तिर्छन्, उनीहरुले किस्ता नतिरेपछि हामी व्यवसायी घरको न घाटको हुने अवस्था आयो ।”

    विपन्न समुदायका नागरिकहरु अटो रिक्सा चलाएर गुजारा चलाउँछन् उहाँले भन्नुभयो, “लकडाउन खुल्ने ठेगान छैन । लकडाउनले मजदूर मात्र होइन, हामी साना व्यवसायीहरु पनि ठूलो मारमा छौं ।” अहिलेको यो लकडाउनले विपन्न परिवारलाई ६ महिना पिरोल्छ उनीहरुलाई हामीले कसरी छिटो किस्ता तिर भन्ने समस्या माथि समस्या रहेको उहाँको भनाइ छ । “आफ्नो कम्पनी अहिले पनि सात सयवटा अटो रिक्साको जवानीमा बसेको छ”, उहाँले भन्नुभयो, “किस्ता तिर्न यदि कुनै कारणले कुनै ग्राहकले ढिलाई गरे भने बैंकले सञ्चालक म स्वयंलाई तागेता गर्छ ।” हामीले विदेशिने युवालाई स्वदेशमा रोजगारीको वातावरण सृजना गर्न किस्तामा अटो रिक्सा बेचेका हौं उहाँले भन्नुभयो, “अहिले उनीहरुको पीडा भनेर साध्य छैन ।”
    विपन्न परिवारका नागरिकलाई स्थानीय तहले दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरुको पहिचान गर्दै राहत सामग्री वितरण गरेपनि कतिपय अटो रिक्सा चालकले अझैंपनि राहत सामग्री पाएका छैनन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…